close

ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान : एक साताभित्रै सञ्चालनमा आउने

ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान : एक साताभित्रै सञ्चालनमा आउने

Trulli
ADVERTISEMENT

भक्तपुर– कोराना संक्रमित बिरामीलाई लक्षित गरी अक्सिजन प्लान्ट उत्पादन गर्न लागेको भक्तपुर नगरपालिकामा आवश्यक सामग्री आइपुगेको छ । प्लान्टका लागि आवश्यक सामग्री भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताल आइपुगेको हो । 

 

निर्माणाधीन अस्पतालमा ल्याइएको स्वास्थ्य सामग्री जडान कार्यसमेत सुरु भइसकेको छ । सामग्री चीनको छेन्दुबाट त्रिभुवन विमानस्थल आइपुगेको हो ।

 

ख्वप अस्पताल कोभिड इकाइ सञ्चालन समितिका संयोजक रवीन्द्र ज्याख्वका अनुसार चीनको छेन्दुबाट बुधबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अक्सिजन प्लान्टका सामग्री ल्याइएको हो । ७ वटा बाकसमा ल्याइएका उक्त सामग्री बिहीबारदेखि नै जडान सुरु भएको छ । ‘अक्सिजन प्लान्टका लागि आवश्यक विद्युत् आपूर्तिको प्रबन्ध भइसकेको छ,’ ज्याख्वले भने ।

 

निर्माण भइरहेको ख्वप अस्पतालमा ट्रान्सफर्मरलगायत पनि जडान भइसकेको छ । प्लान्ट राख्ने कोठालाई साउन्ड प्रुफ बनाउनेजस्ता केही काम बाँकी छन् । ती सबै काम केही दिनभित्र सकाउने लक्ष्य पालिकाको छ । संयोजक ज्याख्वले साता दिनभित्र ख्वप अस्पतालको सो प्लान्टले अक्सिजन उत्पादन थाल्ने जानकारी दिए ।

 

प्लान्टबाट एक दिनमा ४० लिटर क्षमताका १ सयदेखि १ सय २० वटा सिलिन्डर भर्न सकिने उनले बताए । हाललाई अक्सिजनको खपत ख्वप अस्पतालअन्तर्गत कोभिड इकाइका बिरामीकै लागि प्रयोग गरिने र पछि अन्य बिरामीका लागि पनि आवश्यकताअनुसार प्रयोग गरिनेछ ।

 

अक्सिजन प्लान्ट राख्न आवश्यक रकम संकलनका लागि नगरपालिकाले सहयोग आह्वान गरेको थियो । हालसम्म ५ करोड ३६ लाख ३८ हजार ६९४ रुपैयाँ संकलन भइसकेको नगरपालिकाले जनाएको छ ।

 

अक्सिजन प्लान्टका लागि आवश्यकभन्दा बढी रकम उठेपछि भक्तपुर नगरपालिकाले ख्वप अस्पतालका लागि आवश्यक अन्य स्वास्थ्य सामग्री खरिदका लागि पनि प्रक्रिया थालनी गरेको छ । अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापनाका लागि आवश्यक सामान खरिदका गर्न बोलपत्र आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाले हाल ब्रह्मायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड–१९ का बिरामीका लागि ख्वप अस्पतालअन्तर्गत २५ एचडियुसहित ७५ शय्याको कोभिड इकाइ सञ्चालन गर्दै आएको छ ।

 

देशभर अक्सिजन अभाव बढेसँगै भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो । अक्सिजन प्लान्ट खरिदका लागि आवश्यक आर्थिक कोष जुटाउन नगरपालिकाले स्थानीय सहकारी संघ–संस्थालाई आग्रह गरेको थियो । सोहीअनुरूप पालिकालाई स्थानीयले साथ दिएका थिए ।