close

२ महिना अवरुद्ध हुँदै उपत्यकामा मेलम्चीको पानी

२ महिना अवरुद्ध हुँदै उपत्यकामा मेलम्चीको पानी

Trulli
ADVERTISEMENT

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले उपत्यकाभर २ महिनासम्म मेलम्चीको पानी नआउने जानकारी दिएको छ । समितिले काठमाडौं उपत्यकामा १ असारदेखि २ महिना १ भदौसम्म मेलम्चीको खानेपानी नआउने बताएको हो ।

 

आउँदो १ असारदेखि सुरुङको पानी खाली गरेर निरीक्षण गर्ने र पुनः पानी भर्न २ महिना लाग्ने हुँदा १ असारदेखि ६० दिनसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने छैन ।

 

समितिले बिहीबार सूचना प्रेस विज्ञप्ति जारी गर्दै सुरुङ खाली गर्न १६ दिन लाग्ने र बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः भर्न समय लाग्ने बताउँदै ६० दिनसम्म पानी नआउने जानकारी दिएको हो ।

 

असारदेखि अन्तिम परीक्षण हुने भएकाले मेलम्चीको पानी पथान्तरणलाई जतिसक्दो छिटो गर्ने गरी काम अघि बढाएको समितिका कार्यकारी निर्देशक ई. रामकुमार श्रेष्ठले बताए । 

 

सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम, बागमती नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै १ असारदेखि नै नदी किनारामा नजान र काम विशेषले जाँदा उच्च सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे ।

 

मेलम्चीको पानी काठमाडौं उपत्यकामा उपलब्ध नहुने भएपछि अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र सम्बद्ध शाखाले पानी वितरण तालिका परिवर्तन गर्न थालेका छन् । महाँकाल शाखाका एक अधिकारीले मेलम्चीको पानी आउनुअघिको तालिकाअनुसार पानीको तालिका बनाउन थालिएको बताए ।

 

मेलम्चीको पानी आएपछि उपत्यकावासीले पानीको समस्या खासै भोग्नु परेको छैन । तर, अब केही महिना पहिलाकै जस्तै अर्थात् दैनिक ८ करोड लिटर पानी वितरण हुनेछ । अहिले मेलम्ची र पुराना स्रोतबाट गरी दैनिक २५ करोड लिटर पानी वितरण हुँदै आएको छ ।

 

काठमाडौं उपत्यकामा मेलम्चीको पानी नआउँदा केयूकेएलले सुन्दरीजल, डिप ट्युबवेल, विष्णुमती, शिवपुरीजस्ता स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको थियो । अब यी स्रोतबाटै पानी वितरण हुनेछ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी औपचारिक रूपमा २१ चैतदेखि वितरण सुरु गरिएको थियो ।