close

कोरोनाले लपेट्यो जुम्लाकाे राँकाँगाउँ (भिडियो खबर)

कोरोनाले लपेट्यो जुम्लाकाे राँकाँगाउँ (भिडियो खबर)

ADVERTISEMENT

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका अहिले कोरोना भाइरसको संक्रमणबाट निकै प्रभावित भएको छ । पालिकाको राँकागाउँमा अहिले संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २५ जनामा गरिएको कोरोना परीक्षणबाट २३ जनामा संक्रमण देखिएको छ । संक्रमण समुदाय स्तरमा फैलिएको निष्कर्ष निकाल्दै १० दिनका लागि गाउँ नै सिल गरिएको छ ।

 

परीक्षणको दायरा बढाइएको छ । संक्रमितको हेरचाहका लागि गाउँगाउँ पुगेर औषधि र अक्सिजन वितरण गरिएको छ । संकट व्यवस्थापन समितिले स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको छ । तर, संक्रमणले भयावह रूप लिने हो कि भन्ने चिन्ताले भने पालिकालाई सताएको छ ।

 

राँकागाउँमा साढे तीन सय घरधुरी छन् । गाउँमा बिरामी धेरै छन् । परीक्षण गर्न आउदैनन् र मानेका पनि छैनन् । संक्रमित सबैलाई पहिले निर्माण गरिएको क्वारेन्टिनमा आइसोलेसन शय्या बनाएर राखिएको छ । आइसोलेसनमा स्वास्थ्यकर्मी तथा चिकित्सकको निगरानी छ । संक्रमित मध्ये दुई तीन जना दम र मुटु रोगी छन् ।

 

तातोपानी गाउँपालिकाको संस्थागत आइसोलेसनमा ४७ जना संक्रमित छन् । चार जना होम आइसोलेसनमा छन् । १९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये ६० प्रतिशत संक्रमितको अवस्था सामान्य छ । तातोपानीको कोभिड अस्पतालमा  १० वटा अक्सिजन सिलिण्डर छन् । यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री संकलन गरी एकद्वार प्रणालीमा वितरण गर्ने गरेको छ । 


गाउँपालिकाले कोरोना परीक्षणको दायर बढाएकोले संक्रमण धेरै देखिएको छ । अहिले रुघाखोकी र ज्वरो आएका सवै विरामीलाई परीक्षण गर्ने तयारी पनि गरिएको छ समुदायमा संक्रमण फैलिसकेको छ । अहिले रोपाइँको सिजन भएकाले समुदाय सवै एकै ठाउँमा जम्मा हुने भएकोले पनि संक्रमण फैलिएको बुझाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको छ । 


जुम्लाको सबै भन्दा कोरोना प्रभावित गाउँपालिकामा आइसोलेसन कक्षको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले अनुगमन गरेको छ । अनुगमनका क्रममा आवश्यक सल्लाह सुझाब पनि दिइएको छ । साथै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ ।

 

कोरोना संक्रमणबाट जोगिने पहिलो उपाय भनेको माक्स, सेनिटाइजर प्रयोग गर्ने, बेला बेलामा हात सावुन पानीले धुने र भौतिक दुरी कायम गर्ने नै हो । आम नागरिक अनुशासित भएर यस्ता किसिमका स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन ।