close

महामारीका हेलिकोप्टर: सक्नेका फिर्छन् दिन, नसक्नेका थाप्लाेमा ऋण

महामारीका हेलिकोप्टर: सक्नेका फिर्छन् दिन, नसक्नेका थाप्लाेमा ऋण

Trulli
ADVERTISEMENT

खोटाङ- कोरोना संक्रमित यहाँका नागरिकलाई जटिल समस्या भए सुविधासम्पन्न अस्पताल लैजान चार्टर गरिने हेलिकोप्टर भाडामा खुलेआम बार्गेनिङ हुने गरेको छ । हेलिकोप्टर कम्पनीले आफूखुसी भाडा तय गरेर मौकामा चौका हानिरहेका हुन् ।

 

कोरोना संक्रमण भएपछि आइसोलेसनमा राखिएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थानकी एक महिलाको स्वास्थ्यमा जटिल समस्या निम्तियो । ती महिलालाई एम्बुलेन्स वा गाडीमार्फत काठमाडौंका सुविधासम्पन्न अस्पताल पुर्‍याउँदा उपचारमा ढिलाइ हुने अवस्था देखिएपछि संक्रमित परिवारसामु हेलिकोप्टर चार्टर गर्नुको विकल्प रहेन ।

 

हेलिकोप्टर कम्पनी र संक्रमितका आफन्तबीच चार्टर शुल्कको विषयमा लामो ‘बार्गेनिङ’ चल्यो । अन्ततः ३ लाख रुपैयाँमा चार्टर गरिएको हेलिकोप्टरमार्फत संक्रमित महिलालाई बिहीबार काठमाडौं पठाइएको वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए ।

 

कोभिड–१९ संक्रमण पूष्टि भएपछि संक्रमित महिलालाई २३ जेठमा नगरपालिकाको आइसोलेसनमा भर्ना गरिएको थियो । यस्तै, १७ जेठमा ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर ३ ए‍ेँसेलुखर्ककी संक्रमित महिलालाई तत्काल काठमाडौं लैजानुपर्ने अवस्था आयो । आफन्तले बिरामीलाई बोक्न हेलिकोप्टर मगाए । संक्रमित महिलालाई अस्पताल पुर्‍याउन २ लाख ९५ हजार रुपैयाँ भाडा लागेको ऐँसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेल बताउँछिन् ।


खोटाङमा कोभिड-१९ संक्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पुर्‍याउन लाखौँ रुपैयाँमा हेलिकोप्टर चार्टर हुने गरेको छ । बिरामी बोक्न एम्बुलेन्स वा गाडीको विकल्पमा संक्रमति महँगो शुल्क तिरेरै हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । ५ जेठयता मात्रै संक्रमितलाई अस्पताल लैजान ५ पटक हेलिकोप्टर चार्टर भइसकेका छन् । 

 

गत १५ जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका ७८ वर्षीय संक्रमित वृद्धालाई ३ लाख ५० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।


यस्तै, १० जेठमा दिक्तेलका ६४ वर्षीय पुरुषलाई ३ लाख ५० हजार र गत ५ जेठमा ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर ३ का एकै परिवारका ३ संक्रमितलाई ३ लाख २० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।


अन्य किसिमका रोग लागेका बिरामी वा घाइतेलाई काठमाडौं लैजाने क्रममा पनि कम्तीमा २ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । अस्पताल पुग्न हेलिकोप्टर चार्टर गर्ने आर्थिक हैसियत सबै परिवारको छैन ।

 

आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका अधिकांश बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य छन् ।

 

आकस्मिक अवस्थामा अस्पताल जानुपर्दा हेलीकोप्टर चार्टर गर्नुपर्ने अवस्था भएकै कारण खोटाङलाई ‘२ लाख रुपैयाँ सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनाउने गरिएको छ । 


कोभिड-१९ संक्रमणका कारण सिकिस्त अवस्थामा पुगेका संक्रमितले कम्तीमा साढे ३ लाख रुपैयाँमा हेलिकोप्टर चार्ट गर्न बाध्य भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १६ जेठमा पत्रमार्फत तत्काल अस्पताल पुर्‍याउनुपर्ने र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका संक्रमितलाई सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन प्रधानमन्त्रीसमक्ष निःशुल्क हेलिकोप्टर व्यवस्था गरिदिन माग गरेको थि

 

पछि स्वास्थ्यमा जटिल समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा कतिपय संक्रमित धमाधम काठमाडौं, विराटनगरलगायत अस्पतालमा जान थालेकाले सरकारसमक्ष निःशुल्क हेलिकोप्टर सेवाको माग गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।


‘अहिले संक्रमितले हेलिकोप्टर चार्टर गर्नुपर्‍यो भने कम्तीमा साढे ३ लाख रुपैयाँ शुल्क तिरिरहनु परेको छ । सबैको हेलिकोप्टर चार्टर गर्न सक्ने अवस्था छैन । पछि समस्या भइहाल्यो भने हेलिकोप्टर चार्टर गर्न सकिन्न, पैसा तिर्न सकिन्न, हाम्रो ज्यान जान्छ भनेर संक्रमितहरू पहिल्यै गाडीमार्फत काठमाडौं र विराटनगर गइरहेका छन्,’ रिजालले भने ।


सोही कारण जिल्ला अस्पतालबाट रेफर भएकामध्ये क्रिटिकल अवस्थामा रहेका र तत्काल उद्धार गर्नुपर्ने कोभिड संक्रमित बिरामीको उद्धारका लागि निःशुल्क हेलिकोप्टरको व्यवस्थाका लागि आग्रह गरिएको उनको भनाइ छ ।