close

कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल 

कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ७ को मिचागाउँ कोरोना संक्रमित बढेपछि सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सुरक्षा समितिको बैठकको निर्णयअनुसार २८ जेठ बेलुकादेखि सिल गरिएको हो । गाउँलाई १ सातासम्म सिल गरिनेछ ।

 

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना संक्रमित छन् । महत गाउँमा रहेका ६ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरे पनि मानेका थिएनन् ।

 

महतले भने, ‘संस्थागत आइसोलेसनमा बस्न नमाने पनि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरेका छौँ । होम आइसोलेनमा बसेकालाई स्वास्थ्य सुरक्षा सामग्री घरमै पुर्‍याइएको छ ।’  स्थानीय विजय रावलका अनुसार गाउँमा कोरोना संक्रमण फैलिएर भयावह स्थिति सिर्जना भएपछि विकास निर्माणका काम रोक्नुका साथै गाउँमा हुने भीडभाड हुन नदिन युवा परिचालन गरिएको छ ।

 

यस्तै, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुका साथै संक्रमितहरूको निगरानी गर्दै सुरक्षा मापदण्ड अपनाउन सुझाएको उनले बताए ।  यसअघि तातोपानी गाउँपालिका वडा नम्बर १ राँकागाउँ र सोही गाउँपालिकाको वडा नम्बर ६ रावतवाडा गाउँ पनि सिल गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयास गरिएको थियो ।

 

संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ नहुन्जेल गाउँ नै सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, ‘मानवीय लापर्वाहीका कारण पछिल्लो समय गाउँ-गाउँमा संक्रमण निकै वृद्धि भएकाले सिल गर्नुपरेको हो । गाउँबाट बाहिरभित्र गर्न पाइने छैन ।’ जिल्ला सुरक्षा समितिले प्रहरी परिचालन गरी यहाँको सुरक्षा अवस्था कडा पारेको उनले जानकारी दिए । 


नियम उल्लघंन गरेको खण्डमा स्थानीय प्रशासन ऐन, २०२८ र कोभिड संकट व्यवस्थापन आदेश, २०७८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । ८ वैशाखयता जुम्लामा कोरोना संक्रमितको संख्या ५८९ पुगेको छ । संक्रमणमुक्त भएकाको संख्या ३३२ जना रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ । संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।