close

कालोपत्रे नहुँदै चिरा पर्‍यो सडकको ढल 

गुणस्तरमाथि स्थानीयकाे आशंका

कालोपत्रे नहुँदै चिरा पर्‍यो सडकको ढल 

गुणस्तरमाथि स्थानीयकाे आशंका

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्रेको काम सम्पन्न नहुँदै ढल फुटेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल-आहाले १०.९७४ किलोमिटर खण्डको डिबिएसटी कालोपत्रेको काम सम्पन्न नहुँदै सडकको कुनामा बनाइएको ढल फुटेको हो ।

 

सडक कालोपत्रेको काम नहुँदै विभिन्न खण्डका ढल क्षतविक्षत भएपछि स्थानीयले गुणस्तरमाथि आशंका गरेका छन् । ढल निर्माणका क्रममा निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले ढुंगा ठाडो पारेर पर्खाल लगाएका कारण ढल क्षतविक्षत बन्न पुगेको बताइएको छ ।

 

निर्माण कम्पनीको अघिल्लो प्रतिनिधिले ढल निर्माणका क्रममा गुणस्तरहीन ढुंगा प्रयोग गराएका कारण फुटेको हुन सक्ने हालका कम्पनी प्रतिनिधि खगेन्द्र राईले बताए । उनले चर्केको र फुटेको ढल पुनर्निर्माण गरिने जानकारी दिए । 


दिक्तेल-आहाले सडक कालोपत्रेको म्याद सकिएको १० दिनपछि दिक्तेल बजारको अस्पतालचोकबाट ९ जेठदेखि आरसिसी ढलान सुरु गरिएको छ । दिक्तेलको अस्पताल चोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको प्रथम पटक थप भएको म्याद गत २९ वैशाखमा सकिएको थियो ।

 

निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले ७ चैत २०७६ सम्मको सम्झौता म्याद गुजारेपछि गत २९ वैशाखसम्म म्याद थप गरिएको थियो । याक्थुङहाङ/साप/सिरुवा जेभीले ७ चैत २०७६ भित्र सम्पन्न गर्ने गरी १ असोज २०७५ मा सडक कालोपत्रेको सम्झौता गरेको थियो ।

 

दिक्तेल बजारको हाटडाँडाका केशव बस्नेतको घरसम्म आरसिसी ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गरिने निर्माण कम्पनीका प्रतिनिधि राईले बताए । थप भएको म्याद सकिँदा पनि सडक कालोपत्रेको कामको भौतिक तथा वित्तीय प्रगति करिब ५० प्रतिशत मात्र छ । 


दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दूरीको मार्गका रूपमा स्थापित हुने सडक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार रुपैयाँ खर्चमा कालोपत्रेको विभिन्न चरणको काम सुरु गरिएको थियो ।

 

निर्माण कम्पनीले नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा पिच गर्ने गरी कालोपत्रेको ठेक्का लिएको हो । १८ महिनाभित्र पूरा गर्ने गरी ठेक्का लागेको कालोपत्रेको काम १ मंसिर २०७५ मा निवर्तमान प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले शिलान्यास गरेका थिए ।

 

सुरुमा तीव्र गतिमा अघि बढाइएको सडक कालोपत्रेको काम क्रमशः सुस्त गतिमा अघि बढेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भइरहेको छ । 

 

दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल-खानीडाँडा-आहाले खण्ड कालोपत्रेको काम सुस्त र गुणस्तरहीन भएको पाइएपछि प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङले २०७६ मा केही समय रोकेको थियो ।

 

कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीलाई गुणस्तरहीन काम रोक्न ६ दिनअघि मौखिक रूपमा जानकारी गराएको कार्यालयले ९ पुस २०७६ मा लिखित पत्राचार गरेर काम रोक्न लगाएको थियो । 

 

माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग १० टिन बालुवा गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासो आएपछि कार्यालय एक्सनमा उत्रिएको थियो । त्यसबेला गुणस्तरहीन काम भएको पाइएपछि बालुवा, गिटीलगायतका स्याम्पलै उठाइएको थियो । 

 

लगत्तै २३ पुस २०७६ मा प्रदेशसभा सांसद उषाकला राई (हाल सामाजिक विकासमन्त्री), प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङलगायतको टोली सडकको स्थलगत अनुगमनमा गएको थियो । सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौलागाईंलाई ५ कात्तिक २०७६ मा दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, सो बैठकमा चौलागाईंले गरेका प्रतिवद्धता अनुशार सडकको काममा प्रगति भएन । 

 

दिक्तेल-खानीडाँडा-आहाले खण्ड कालोपत्रेको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले गत चैतमा प्रतिनिधि परिवर्तन गरेको हो । सुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले राईलाई प्रतिनिधि चयन गरेको हो । 


याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधि बनेका राईले ८ चैतमा सडक कालोपत्रेको बाँकी कामका लागि सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङका सूचना अधिकारी मणिराम ढकालले बताए । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल-रेग्मीटार सडक पूरा भएपछि दिक्तेलबाट उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्नेछ ।

 

हाल सञ्चालनमा रहेको दिक्तेल-महुरे-फोक्सिङटारभन्दा छोटो हुने भएकाले भविष्यमा दिक्तेल-रेग्मीटार सडक पुर्वी तराई जाउआउका लागि बढी प्रयोगमा आउने जिल्ला समन्वय समिति खोटाङका प्रमुख चामलिङले बताए । सडकले मनमाया राई खानीडाँडा विमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट विमानस्थल आउजाउ गर्ने स्थानीय लाभान्वित हुनेछन् ।