close

कपिलवस्तुमा खोप आयो तर, लगाउने नागरिक आएनन् (भिडियो खबर)

कपिलवस्तुमा खोप आयो तर, लगाउने नागरिक आएनन् (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- कोरोनाको डबल भेरियन्टले आक्रान्त बनाएपछि खोपका लागि सामाजिक सञ्जाल निकै तातियो । ‘पहिला खोप अनि बल्ल भोट’ अभियानका साथ फेसबुकसमेत रंगियो । सरकारले ६० देखि ६४ उमेर समूहका वृद्धका लागि कोरोनाविरुद्धको खोप भेरोसेलको व्यवस्थापनसमेत गर्‍यो । २५ र २६ जेठमा देशभर खोप लगाउने मिति तोकियो । तर, कपिलवस्तुमा खोप आयो खोप लगाउने नागरिक भने आएनन् ।


खोप लगाउन मात्र होइन, जिल्लामा लक्षण देखिएका बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेकासमेत कोरोना परीक्षण गर्न आउन छाडेका छन् । 


स्वास्थ्य जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्षको उमेर समूहलाई २५ र २६ जेठमा कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो डोज दिने निर्णय गर्‍यो । लक्षित समूहको संख्याभन्दा आधा जनतालाई पुग्ने गरी ९ हजार ५ सय ५० डोज खोप कपिलवस्तुमा आयो । यसका लागि १० पालिकामा १७ खोप केन्द्र निर्धारण भए ।


मागभन्दा न्यून खोप भएपछि जिल्लामा ६२ देखि ६४ उमेर समूह कायम गरियो । तर, खोप लगाउन केन्द्रमा मानिस नआएपछि स्वास्थ्य कार्यालयले एक दिन समय थप्नुपरेको कपिलवस्तुको बेदौली स्वास्थ्य केन्द्रका प्रमुख
हरिकुमार श्रेष्ठले बताए ।

 

पहिलो दिन बुद्धभूमि र वाणगंगा नगरपालिकाबाहेकका खोप केन्द्रमा न्यून सहभागिता भएपछि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले खोप लगाउन थप पहल गरेको छ । पत्रकारसँग छलफल, स्थानीय सञ्चार माध्यममा सूचना प्रसारण, पालिकामार्फत माइकिङ, महिला स्वास्थ्य स्वयंसेविकाबाट प्रचार–प्रसारसमेत गरियो । तर, पहिलो ९ हजार ५ सय २० जनामध्ये १ हजार ५२ जनाले मात्र खोप लगाएका थिए । यो लक्ष्यको ११.१ प्रतिशत हुन जान्छ ।

 

व्यापक सक्रियतापछि दोस्रो दिन महाराजगञ्ज र यशोधरा गाउँपालिकाबाहेक अन्य पालिकामा खोप लगाउनेको संख्यामा भने वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।

 

जिल्लामा अहिले कोरोना परीक्षण गर्नेको संख्यासमेत निकै न्यून भएको छ । कोरोना संक्रमितको सम्पर्कमा आएका र लक्षण देखिएकाले समेत कोरोना परीक्षण गर्न रुचाएका छैनन् । संक्रमित भएको थाहा पाएपछि तिरस्कार हुने डरले उनीहरू परीक्षणको दायरामा आउन नचाहेका हुन् । पालिका स्तरमा एन्टिजेन विधि र पिसीआर परीक्षण निःशुल्क भए पनि परीक्षण गर्न आउन छाडेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उमेशचन्द्र घिमिरे बताउँछन् । 


पालिकाले कोरोना परीक्षणका लागि समुदायमा पुगेर एन्टिजेन विधिबाट परीक्षण गर्दै आएका छन् । साप्ताहिक रूपमा पिसिआर परीक्षणसमेत गर्ने गरेका छन् । कोरोना परीक्षण किन गर्ने भन्ने शिक्षा नहुँदा परीक्षण गर्नेको संख्यासमेत न्युन हुँदै गएको कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ८ वडाध्यक्ष कपिलदेव तिवारीको भनाइ छ ।


राजमार्ग क्षेत्रमा खोपप्रति जनताको उत्साह देखिँदा मधेसी समुदायमा खोपप्रति चासो निकै कम देखिनु, समुदायका अगुवाले चासो नदिनु पनि मुख्य कारण हो । लकडाउनका कारण सवारी साधन नचल्नु, समुदायदेखि खोप केन्द्रको दूरी धेरै टाढा हुनुले खोप लगाउनेको संख्या निकै कम भएको हो । तेस्रो दिनसम्म ७५ प्रतिशत भन्दा धेरैले खोप लगाएको स्वास्थ्य कार्यालयले बताएको छ ।