close

सामूहिक तरकारी खेतीले समृद्ध हुँदै तीनपाटनका महिला (भिडियो खबर)

सामूहिक तरकारी खेतीले समृद्ध हुँदै तीनपाटनका महिला (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुली- नेपाल कृषिप्रधान देश हो । पछिल्लो समय युवा शक्ति विदेसिँदा उर्भर भूमि बाँझै र जंगलमा परिणत हुँदै आएका छन् । कृषि कर्म गर्न रुचाउने जनबल नहुँदा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । कृषि कर्मलाई लाज र हेलाको रूपमा लिँदा काम गर्ने इच्छाशक्तिसमेत कमी हुँदै गएको छ । तर, सिन्धुलीको तीनपाटन गाउँपालिकामा महिला आफैँ समूह गठन गरी सामूहिक खेती सुरु गरेका छन् । बाँझो रहेको जमिनमा व्यावसायिक कृषि खेती गरी आयआर्जन गर्न सकिने अठोटका साथ महिला तरकारी खेतीमा लागेका छन् ।


बिहान–बेलुका घरधन्दामै सीमित रहने महिला यतिबेला समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तीनपाटन गाउँपालिका वडा नम्बर १ का १७ जना महिलाले ठेडी खोलामा २ बिघा क्षेत्रफलबाट व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । बाँझो जमिनमा तरकारी खेती गरी आम्दानी गर्ने लक्ष्यका साथ  तरकारी खेतीमा लागेको तीनपाटन गाउँपालिकाकी कृषक शारदा खपांगी बताउँछिन् ।

 

महिलाले व्यावसायिक तरकारी खेती गर्ने लक्ष्यका साथ प्रगतिशील कृषि समूह गठन गरेपछि वडाले समेत महिलाको प्रयासलाई सहयोग गर्दै आएको छ । स्थानीय स्तरमा तरकारी उत्पादन गर्ने महिलालाई वडाले आवश्यक सहयोग गरिरहेको तीनपाटन गाउँपालिकाकी कृषक पार्वती लामिछानेले जानकारी दिइन् ।

 

महिलाले आयआर्जनका माध्यमबाट जीवन स्तर उकास्ने अठोट लिएपछि वडाले कृषक समूहलाई सीप, प्रविधि र प्राविधिकको व्यवस्था गर्दै आएको छ । घरमा त्यत्तिकै बसेर समय खेर फाल्नुभन्दा समूहमा आबद्ध भई व्यावसयिक खेती सुरु गरेका महिलाको यो प्रयासलाई वडाले ७५ प्रतिशत अनुदानको व्यवस्थासमेत गरेको तीनपाटन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष राउतले बताए ।


स्थानीय तहले आफ्नो पालिका स्तरमा हावापानी र माटो सुहाँउदो परम्परागत कृषि कर्म गर्दै आएका कृषकको जीवन स्तर परिवर्तन गर्न सक्नुपर्दछ । कृषि पेसालाई सम्मानित पेसाको रुपमा स्थापित गर्न, पालिकाले विनियोजन गर्ने बजेटमा कृषि क्षेत्र प्राथमिकतामा पार्नु, कृषकलाई सिप, प्रविधि र प्राविधिकको सुविधा दिनु स्थानीय सरकारको दायित्व हो । साथै स्थानीय तहले कृषकले उत्पादन गरेको कृषि उपजको खरिद गरि बजारीकरणमा सघाउँदै बाँझो रहेको जमिनमा आधुनिक खेती प्रणली अवलम्बन गरी बेरोजगार जनशक्तिलाई रोजगार बनाउनुपर्दछ ।