close

५ सयको लगानीबाट ५ लाखकाे आम्दानी

५ सयको लगानीबाट ५ लाखकाे आम्दानी

Trulli
ADVERTISEMENT

रुकुम पूर्व - सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले महबाट वार्षिक ५  लाख रुपैयाँको आम्दानी गरिरहेका छन् । उनले ०५८ मा ५ सय रुपैयाँको मौरी किनेर परम्परागत घारबाट मौरी व्यवसाय सुरु गरेका थिए ।


अहिले परम्परागत मुढो घार ३० र आधुनिक घार ८५ गरी १ सय १५ घारमा मौरी व्यवसायबाट घरपरिवार सजिलै चलाइरहेका छन् । ०७३ बाट व्यवसाय फर्म दर्तासमेत गरेका छन् । 


१ वर्षमा कात्तिक र जेठ गरी दुई सिजन मह काढ्ने गरेको उनी बताउँछन् । एक सिजनमा १ सय २५ धार्नीसम्मको मह हुने गरेको खड्काले जानकारी दिए ।


‘प्रतिधार्नी घारबाटै २ हजार २ सयका दरले मह बिक्री गर्छु,’ उनले भने, ‘एक वर्षमा ५ लाख रुपैयाँ आम्दानी गरिरहेको छु ।’ उनले महसँगै नयाँ मौरीका गोला तयार गरी गोलासहितको मौरीलाई ९ हजार र १ घार बराबरको मौरीलाई ५ हजारमा बिक्री गरी आम्दानी लिँदै आएका छन् । 


‘यो वर्ष मौरीसहितका ३४ गोला बिक्री भए भने २६ गोला बिक्री गर्ने तयारी छ,’ खड्काले भने । लोकल सेरेना अर्थात् एसियाली जातका मौरी पालेका खड्काले घरनजिक ४५ घार र लेकको जग्गामा ७० घारमा अर्गानिक मह उत्पादन हुने गरेको सुनाउँछन् ।


मह बिक्री दाङ, सल्यान, रोल्पा, रुकुमपूर्व र पश्चिम जिल्लाका मान्छेले घरमै किन्न आउने गरेका छन् । 


‘मिहिनेत गरे सबैको साथ सहयोग आफैं मिल्दो रहेछ,’ उनले भने, ‘परिश्रम गर्नेलाई सबैले सहयोग गर्छन् । पहिला यो व्यवसाय सञ्चालन गर्न दुःख भए पनि तालिम लिएपछि सहज भयो । अहिले अरूलाई पनि मौरीपालनसम्बन्धी तालिम दिन थालेको छु ।’


पहिला उक्त गाउँमा खड्काले मात्र मौरी पाल्थे । तर, अहिले उनै खड्काले तालिम दिएपछि अरु ८ जनाले पनि सोही पेसा सुरु गरेका छन् । 


मौरीका गोला धेरै हुँदा रेखदेख गर्न पनि समस्या हुने गरेको उनी बताउँछन् । विशेषगरी फागुन, चैत, असोज र कात्तिकमा १ गोलाबाट अरू गोलामा मौरी फाट्ने गरेका छन् । त्यही समय किसानले एउटा गोलाबाट ४ गोलासम्म मौरी बनाउने गरेका छन् ।


अहिले पोखरा मौरीगाउँमा परिणत हुँदै छ । अधिकांशका घरमा मह आफूले पुग्ने गरी आवश्यक मौरी पालिरहेका छन् । ‘मौरी व्यवसाय सुरु गर्न त्यति समस्या छैन, परिश्रम भने चाहिन्छ,’ खड्काले भने, ‘लेकमा रहेको मौरी हराउलान् भन्ने डर छ । त्यसका लागि तारबार आवश्यक छ ।’