close

जिल्ला अस्पताल स्तरोन्नतिको मागसहित मुख्यमन्त्री राईलाई ज्ञापनपत्र

जिल्ला अस्पताल स्तरोन्नतिको मागसहित मुख्यमन्त्री राईलाई ज्ञापनपत्र

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला अस्पताल गाईघाटलाई स्तरोन्नतिको मागसहित जनशक्तिको व्यवस्था गर्न मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाइएको छ । कोरोना महामारीमा दरबन्दीअनुरूप स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएकाले उदयपुरका प्रदेश सदस्य विमल कार्की, अम्बिका थापा, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोक्का, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीवनारायण मण्डलसहितको टोलीले मुख्यमन्त्री राई, सामाजिक विकासमन्त्री उषाकला राई, भौतिक पूर्वाधार विकासमन्त्री अमिरबाबु गुरुङ, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । 

 

ध्यानाकर्षण पत्रमा अस्पतालको अत्यावश्यक भौतिक पूर्वाधार निर्माण, अस्पतालमा प्राविधिक सामग्रीको व्यवस्था गर्न र स्तरोन्नति गरी १०० बेड बनाउन आगामी बजेटमा योजना समावेश गर्न माग गरिएको छ । मुख्यमन्त्रीले माग सम्बोधनको प्रतिबद्धता जनाएको सहभागी टोलीले बताएको छ । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकसहित १४ चिकित्सको दरबन्दीमा अहिले १ जना मात्र दरबन्दीका चिकित्सक छन् । 

 

अस्पतालमा मेडिकल सुपरिटेन्टेन्ट अधिकृत तथा कार्यालय प्रमुख १, प्रमुख मेडिकल अधिकृत, कन्सल्टेन्ट जनरल फिजिसियन अधिकृत, कन्सल्टेन्ट अब्स एन्ड गाइनो अधिकृत, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन अधिकृत, पिडियाट्रिसियन अधिकृत, सर्जन अधिकृत, साइक्याट्रिस्ट अधिकृत, एनेस्थेसिया कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट अधिकृत, डेन्टल सर्जन अधिृकत, बालरोग विशेषज्ञ गरी १० जना विशेषज्ञ चिकित्सक र ४ जना मेडिकल अधिकृत गरी १४ जना चिकित्सको दरबन्दी छ । 

 

अहिले आठौँ तहका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीवनारायण मण्डल मात्र दरबन्दीका चिकित्सक हुन् । अन्य १३ जना चिकित्सकको दरबन्दी खाली छ । दरबन्दीका मण्डल र छात्रवृत्ति करारमा आएका ५ जना चिकित्सकको भरमा जिल्ला अस्पताल चलिरहेको छ ।


 
अस्पताल स्रोतका अनुसार तोकिएको दरबन्दीमध्ये एक दर्जन चिकित्सकको पदपूर्तिबाहेक अन्यको हुन सकेको छैन । एनेस्थेसियामा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट अधिकृतसमेत नभएको प्रमुख डा. मण्डलले बताए । डेन्टल शाखामा पनि दरबन्दीका चिकित्सक छैनन् । 

 

फिजियोथेरापीलगायत अन्य अति आवश्यक कर्मचारीसमेत छैनन् । दरबन्दीअनुसारका चिकित्सकको व्यवस्था गर्न संघीय स्वास्थ्य मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयमा पटक-पटक पत्राचार गर्दा पनि सुनुवाइ नभएको डा. मण्डलको गुनासो छ । स्थानीय तहबाट जाने दबाब मन्त्रालयले सुनुवाइ नगरेका कारण समस्या भएको हो । 


जिल्ला अस्पताल गाईघाटमा १४ दरबन्दी रहे पनि दक्ष चिकित्सकको दरबन्दी रिक्त रहेका कारण प्रभावकारी सेवा दिन नसकेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । अस्पतालमा १४ चिकित्सकसहित ५९ जनाको दरबन्दी छ । चिकित्सक मात्र नभई नर्सको पनि पदपूर्ति हुन सकेको छैन । दरबन्दीअनुसारको जनशक्ति नहुँदा कोरोना महामारीका बेला काम गर्न असहज छ ।

 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मण्डलका अनुसार १० जना एमडी डाक्टरको दरबन्दी रहे पनि दरबन्दीमा कोही छैनन् । ५ जना एमबीबीएस छात्रवृत्तिका चिकित्सको भरमा अस्पताल चलाउनुपरेको छ । 

 

दरबन्दीका स्टाफ नर्स नहुँदा करारमा नियुक्त गरेर काम चलाउनु परेको उनको भनाइ छ । दरबन्दीका स्वास्थ्यकर्मी नपठाउँदा स्टाफ नर्स, अहेब गरी १० जना करा।मा राखेको जिल्ला अस्पतालका नायब सुब्बा बृखबहादुर खत्रीले बताए । उनका अनुसार ५९ जना दरबन्दीमा ३० दरबन्दी खाली छ । स्टाफ नर्स, अहेब, अनमी, कार्यालय सहयोगी गरी २० जना करारमा राखेर काम चलाइएको डा. मण्डलले जानकारी दिए । ‘कोरोनाका बेला अस्पतालमा २ वटा भेन्टिलेटर र आइसियु रहे पनि सञ्चालन गर्ने दक्ष जनशक्ति नहुदा थन्क्याएर राख्नुपरेको छ’, डा. मण्डलले भने ।

 

रिफर सेन्टर बन्यो उदयपुर जिल्ला अस्पताल

दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको पदपूर्ति हुन नसक्दा उदयपुर जिल्ला अस्पताल गाईघाट रिफर सेन्टरमा परिणत भएको छ । जिल्ला अस्पतालमा प्राथमिक उपचारबाहेकका सेवा पाउन नसकेपछि बिरामी महँगो रकम खर्चेर धरान, विराटनगरलगायत सहर जान बाध्य हुनुपरेको अस्पतालका सूचना अधिकारी बिर्खबहादुर खत्रीले बताए । 

 

प्राथमिक सेवामै सीमित 

विशेषज्ञ चिकित्सक पदपूर्ति हुन नसक्दा अस्पतालले भनेजस्तो सेवा दिन सकेको छैन । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्गबहादुर परियारले बेला–बेला सेवा ठप्प हुने गरेको बताए । 


‘चिकित्सक सरुवा हुने बित्तिकै प्रदेश सरकारका सम्बन्धित मन्त्री र संघीय सरकारलाई तुरुन्त अर्को डाक्टर व्यवस्था गर्न अनुरोध गरे पनि अहिलेसम्म पदपूर्ति भएन,’ उनले भने, ‘त्यसै कारण बेलाबेला अस्पतालको सेवा ठप्प हुने गरेको छ ।’


दरबन्दीअनुसार डाक्टर नभएपछि अस्पताल विकास समितिबाटै केही डाक्टर राख्ने निर्णय गरेर विज्ञापनसमेत प्रकाशित गरिएको उनले बताए । अस्पतालमा दक्ष जनशक्ति नहुँदा उदयपुरको पहाडी क्षेत्र तथा खोटाङलगायत जिल्लाबाट आउने बिरामी उपचारका लागि मोटो रकम खर्चेर एम्बुलेन्समार्फत धरान तथा विराटनगर जान बाध्य छन् ।