close

प्रदेश नामकरण र स्थायी राजधानीको विरोधमा चर्कियो आन्दोलन, भोलि रूपन्देही बन्द

प्रदेश नामकरण र स्थायी राजधानीको विरोधमा चर्कियो आन्दोलन, भोलि रूपन्देही बन्द

Trulli
ADVERTISEMENT

रूपन्देही - प्रदेश ५ को नामकरण लुम्बिनी र स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रूपन्देहीमा नेपाली कांग्रेसले आन्दोलनको तयारी गरेको छ । कांग्रेस रूपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरूसँग छलफल अगाडि बढाएको छ ।

 

शुक्रबार बसेको २ घण्टा लामो बैठकपछि कांग्रेस रूपन्देहीका सचिव रामकृष्ण खाँणले विरोध स्वरूप राँके जुलुस, चक्का जाम तथा नेकपाका सांसदका घर अगाडि कालो झण्डा प्रदर्शनलगायतका कार्यक्रमहरू रहेको जानकारी गराए ।

 

प्रदेशसभामा शुक्रबार प्रदेश नामकरण र स्थायी राजधानीको प्रस्ताव पेस भएसँगै बुटवलका विभिन्न ठाउँमा टायर बालेर विरोध जनाएको कांग्रेसले आज साँझ राँके जुलुस प्रदर्शन गर्ने भएको छ । खाँणका अनुसार कांग्रेसले भोलि जिल्ला बन्द गर्ने साथै नेकपाका सांसदका घर अगाडि कालो झण्डा प्रदर्शन गर्ने भएको छ । खाँणले विद्यार्थी नेताहरूलाई उग्र क्रियाकलाप भने नगर्न आग्रह गरेका छन् ।

 

शुक्रबार नै पार्टी सभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गर्दै कांग्रेस रूपन्देही कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । 

 

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुने निश्चित भएको छ । सत्तारुढ दल नेकपाले आफ्ना प्रदेशसभा सदस्यहरूलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने भएपछि नाम र स्थायी राजधानीको प्रस्ताव स्वीकृत हुने देखिएको हो ।


शुक्रबार प्रदेश ५ को प्रदेशसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पेस गरेको प्रस्तावका बारेमा छलफल गर्न बसेको सत्तारुढ दलको ६ घण्टा लामो बैठकले ह्विप जारी गर्ने निर्णय गरेको छ । प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बताए ।


‘नवलपरासी, रूपन्देही, गुल्मी, पाल्पा तथा अर्घाखाँची र कपिलवस्तुका केही साथीहरूले फरक मत राख्नुभयो’, श्रेष्ठले भने, ‘उहाँहरूको मतलाई सम्मान गर्दै लामो छलफलपछि ह्विप जारी गर्ने निष्कर्षमा पुगेका छौँ ।’ 

 

सांसदहरूले पार्टीको निर्देशन अस्वीकार गरे पार्टीबाट निष्काशन गरिने बताउँदै उनले प्रदेशको नामकरण र स्थायी राजधानीको प्रस्ताव स्वीकृत हुने बताए ।

 

उता, प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङ लैजान प्रस्ताव गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । सरकारले प्रदेशको अस्थायी मुकाम बुटवल तोकेपछि प्रदेशसभा सञ्चालनका लागि आफ्नो सम्पूर्ण भवन प्रदान गरेको बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीले गम्भीर आपत्ति जनाएको छ । 

 

संघको शनिबार बुटवलमा बसेको बैठकले प्रदेश सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजधानीका लागि रूपन्देहीको विकल्प नभएको पनि उल्लेख गरेको छ ।

 

बैठकपछि संघले जारी गरेको विज्ञप्तिमा उक्त निर्णय तत्काल फिर्ता लिनका लागि सरकारसँग आग्रह गर्दै उक्त प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिइएको छ । प्रदेश सरकारले शुक्रबार मात्र प्रदेशसभामा सरकारको तर्फबाट प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेस गरेको थियो । 

 

प्रदेशको राजधानीका लागि भौतिक पूर्वाधार तथा स्रोत साधनको उपलब्धता, भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, यातायातको सुगमता, बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायतका कारणले प्रदेशको राजधानी रूपन्देही नै उपयुक्त रहेको समेत उल्लेख गरिएको छ ।