close

पाठ्यपुस्तक वितरणको अनुगमन गर्न स्थानीय तहलाई पत्र

पाठ्यपुस्तक वितरणको अनुगमन गर्न स्थानीय तहलाई पत्र

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले पाठ्यपुस्तकको उपलब्धता, वितरण तथा गुणस्तरको अनुगमन गर्न देशभरका स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।


सरकारले पाठ्यपुस्तक वितरण भएका ठाउँमा समेत पुरानो नक्सा भएको पाठ्यपुस्तक वितरण भएको भए त्यसलाई प्रतिस्थापना गरी नयाँ नक्सा भएको पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्थाका लागिसमेत स्थानीय तह र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइको ध्यानाकर्षण गराएको हो ।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सविता दंगालका अनुसार २०७८ को शैक्षिक सत्रलाई दृष्टिगत गरी प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तकको उपलब्धता सुनिश्चित गर्न जिल्ला तथा स्थानीय स्तरमा पाठ्यपुस्तकको उपलब्धता, वितरण तथा गुणस्तरको अनुगमन गर्न परिपत्र गरिएको हो ।


पत्रमा सरकारले पाठ्यपुस्तकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको नेपालको नयाँ नक्साको प्रयोग गर्ने निर्णय गरिसकेको सन्दर्भमा कतिपय प्रकाशनबाट चालू शैक्षिक सत्रमा बिक्री वितरण गरिएका विद्यालयका पाठ्यपुस्तकमा नेपालकै पुरानो नक्सा नै छपाइ गरेको पाइएको छ ।


नयाँ नक्सा प्रयोग भएका पाठ्यपुस्तकबाट अध्ययन अध्यापन गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै प्रकाशकले पुरानो नक्सा भएका सम्बन्धित पेजमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको नेपालको नयाँ नक्साको प्रयोग गरी पुनः छपाइ गरी पुरानो पेजको ठाउँमा नयाँ पेज टाँस्ने व्यवस्था गर्न सम्बन्धित बिक्रेतामार्फत तत्काल सम्पूर्ण विद्यालयमा पठाउने निर्णय भएबमोजिम सबै विद्यालयलाई विद्यार्थीले प्रयोग गरेका पुरानो नक्सा भएका पाठ्यपुस्तकलाई नयाँ नक्सा भएका पेजले प्रतिस्थापना गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।