close

 चाैताराेमा रमाउँदै झापाका ज्येष्ठ नागरिक (भिडियो खबर)

 चाैताराेमा रमाउँदै झापाका ज्येष्ठ नागरिक (भिडियो खबर)

ADVERTISEMENT

झापा- ज्येष्ठ नागरिक भनेका जिउँदा-जाग्दा इतिहास हुन् । समाजको सम्मानित वर्ग हो । परिवारका मार्गदशक व्यक्तित्व हुन् । उनीहरूको जीवनको महत्तवपूर्ण समय घरपरिवार, समाज तथा राष्ट्रका लागि खर्चिइसकेको हुन्छ । उनीहरूसँग लामो अनुभव हुन्छ । देशका अमूल्य गहना ज्येष्ठ नागरिकका आवश्यकता र चाहनालाई सकेसम्म पूरा गर्नु समाजको दायित्व हो ।

 

पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रबाट ज्येष्ठ नागरिकको सुविधाका लागि विभिन्न योजना कार्यान्वयन गर्न थालिएको छ । त्यसको ज्वलन्त उदाहरण झापामा देख्न सकिन्छ । झापाका स्थानीय सरकारले ज्येष्ठ नागरिकको सुविधाका लागि चौतारा बनाउन लगानी गर्न थालेका छन् । 


ज्येष्ठ नागरिक समाजका धरोहर हुन् । उनीहरूले गरेका काम र बटुलेका अनुभवले नयाँ पुस्तालाई प्रेरणा र हौसला प्रदान गर्छ । समाजका सम्मानित ज्येष्ठ नागरिकको चाहना र आवश्यकतालाई पूरा गर्न स्थानीय तहसँगै विभिन्न संघ-संस्था पनि यतिखेर लागिपरेका छन् । झापाको अर्जुनधारा नगरपालिकाले पनि ज्येष्ठ नागरिक चौतारीमा लगानी बढाइरहेको छ । 


स्थानीय तहसँगै झापाको सहारा नेपाल साकोस पनि ज्येष्ठ नागरिकका लागि चौतारी निर्माणमा लागिपरेको छ । झापाको बिर्तामोड नगरपालिका-२ चारपानेस्थित ज्येष्ठ नागरिकलाई आराम गर्न, मनोरञ्जन गर्न सहजताका लागि ज्येष्ठ नागरिक चौतारी निर्माण अभियानलाई तीव्रता दिँदै आएको छ ।

 

साकोसले स्थानीय तहको साझेदारीमा ज्येष्ठ नागरिक चौतारी धमाधम निर्माण गर्दै छ । चौतारी निर्माणका लागि सहकारीका तर्फबाट १० लाख र स्थानीय पालिका तथा सहयोगी दाताबाट बाँकी रकम जुटाएर झन्डै २० लाख रुपैयाँमा सुविधा सम्पन्न चौतारी निर्माणलाई निरन्तरता दिएको हो । यसमध्ये केही चौतारी निर्माण सम्पन्न भई उपयोग गर्न थालिसकेका छन् भने केही निर्माणाधीन र केही प्रक्रियामा छन् ।


संस्थाले झापाका स्थानीय तह बुद्धशान्ति गाउँपालिका, बाह्रदशी गाउँपालिका, कन्काई नगरपालिका, मेचीनगर नगरपालिकालगायत १० स्थानमा चौतारी निर्माण गरेको छ । यो वर्ष झापाका बिभिन्न १५ वटा स्थानीय तहमा चौतारी निर्माण गरिने जनाएको छ । प्रायः छोराछोरी, घरका अन्य सदस्य काममा व्यस्त रहने वर्तमान समयमा ज्येष्ठ नागरिकका लागि चौतारी सारथि बन्ने गरेका छन् । 


चौतारीमा वरपरका ज्येष्ठ नागरिक भेला भई भजन-किर्तन र नाचगान गर्छन् । सङ्गीनी-बालन खेल्दै रमाइलो गर्छन् । स्थानीय तहले पनि सहारा नेपालको अभियानलाई उल्लेख्य रूपमा सहयोग गरेका छन् । चौतारी निर्माणका लागि शेयर सदस्यले दैनिक एक रुपैंया सहयोग गर्ने गरेका छन् । संस्थामा हाल एक लाखभन्दा बढी शेयर सदस्य छन् ।