close

बिर्तामोडको फोहोर स्याहार्ने जिम्मा काठमाडौंको निराकार सरसफाइ सेवालाई

बिर्तामोडको फोहोर स्याहार्ने जिम्मा काठमाडौंको निराकार सरसफाइ सेवालाई

Trulli
ADVERTISEMENT

झापा- आफैंले कर्मचारी खटाएर फोहोर व्यवस्थापन गरिरहेको झापाको बिर्तामोड नगरपालिकाले उक्त कामको जिम्मा काठमाडौंको एक निजी कम्पनीलाई दिएको छ । यसअघि पालिका आफैले गर्दै आएको सफाइको काम प्रभावकारी नभएपछि काठमाडौंको निराकार सरसफाइ सेवा प्रालिलाई जिम्मेवारी दिएको नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

 

‘३ वर्षका लागि काठमाडौंको निराकार सरसफाइ सेवा प्रालिले फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको छ’, शिवाकोटीले भने । तत्कालका लागि फोहोरमैला डोमलाल रंगशाला छेउको गहिरो भागमा व्यवस्थापन गरिने उनले बताए । उनले भने, ‘लामो समयसम्म फोहोर व्यवस्थापनका लागि अर्जुनधारा नगरपालिकासँग सम्झौताको तयारीमा छौँ । तत्कालका लागि डोमलाल रंगशाला पछाडिको खाल्डो परेको भागमा पूरेर क्रिकेट ग्राउन्ड निर्माणको तयारी गरिरहेका छौँ ।’ 

 

बिर्तामोडलाई सुन्दर र स्वच्छ बनाउने लक्ष्य अब पूरा हुने शिवाकोटीले दाबी गरे । उनका अनुसार बिर्तामोडसँगको सम्झौताबमोजिम कम्पनीले काम नगरे तत्काल कारबाही हुनेछ । सहरी क्षेत्रबाट फोहोर संकलन गर्ने गरी निराकारले नगरपालिकासँग सम्झौता गरेको हो । नगरपालिका र कम्पनीबीच सम्झौतासमेत भइसकेको छ ।

 

कम्पनीले फोहोर व्यवस्थापनबापत बजार क्षेत्रमा सरसफाइ सेवाशुल्क उठाउनेछ । नगरपालिका र कम्पनीबीचको सम्झौताअनुरूप शुल्क निर्धारण गरिएको छ । यसका लागि कम्पनीले नगरलाई १० लाख रुपैयाँ धरौटीसमेत बुझाएको छ ।

 

कम्पनीका व्यवस्थापक रविन भट्टराईले सम्झौताअनुरूप सबैको सहयोगमा काम गर्ने बताए । नगरमा रहेको ट्रयाक्टर र मजदुरसमेत कम्पनीको जिम्मामा आएको उनले जानकारी दिए । सोबापत ट्रयाक्टरको भाडा, मजदुरको सुविधा कम्पनीले नै बेहोर्नेछ । सरसफाइमा नगरपालिकाले अतिरिक्त कुनै पनि रकम कम्पनीलाई नदिने सम्झौतामा उल्लेख छ ।


फोेहोरमैला व्यवस्थापन गरिदिएबापत १ परिवार बस्ने घर (अढाई तलेसम्म) ले १९०, साढे २ तलाभन्दा माथि प्रतितला ५०, कस्मेटिक, पत्रपत्रिका, लत्ताकपडा पसलरु १००, किराना, खाद्यान्न, फेन्सी १००, चियाकफी, केक तथा बेकरी २००, साइबर क्याफे, स्टेसनरी, पत्रपत्रिका, रेडियो, टिभी २००, तरकारी, फलफूल तथा जुस २००, सैलुन, ब्युटिपार्लर र औषधी व्यवसायीलाई २००, औषधी पसल ल्याबसहितलाई २९०, मासु पसल २९०, मासु पसल वधशाला भएकालाई १ हजार देखि १५ सयसम्म र वधशालासमेत भएको मासु पसल ठूलोले कम्पनीलाई २५ सय रुपैयाँ तिर्नुपर्नेछ ।


त्यस्तै, निजी विद्यालयको हकमा ४ सयदेखि १४ सयसम्म, बंैक, सहकारी, स्कुल, क्याम्पस, कार्यालय र विदेशी बस्ने घरलाई ५ सयदेखि १ हजार, सिनेमा हललाई २५ सय, उद्योग, कलकारखाना, कार्पेट, गार्मेन्टलाई १ हजारदेखि १० हजारसम्म, डिपार्टमेन्ट स्टोरलाई २९००, पार्टी प्यालेस, भोज आयोजना स्थल प्रतिट्रयाक्टर १४ सय र प्रतिनिशान ट्रक २९ सय, सुपर स्टोर प्रतिट्रयाक्टर २ हजार र डिस्पेन्सरीका लागि १ देखि २ हजार रुपैयाँसम्म सरसफाइ शुल्क बुझाउनुपर्नेछ ।