close

कोरोनाका कारण २ महिनापछि सुरु भो नयाँ शैक्षिक सत्र

कोरोनाका कारण २ महिनापछि सुरु भो नयाँ शैक्षिक सत्र

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले मंगलबार १ असारदेखि नयाँ शैक्षिक सत्र सुरु गरेको छ । सरकारी घोषणासँगै सरकारी तथा निजी विद्यालयमा नयाँ शैक्षिक सत्रअन्तर्गत विद्यार्थी भर्ना अभियान सुरु गरेर १ साउनदेखि पढाइ सुरु गरिने कार्यतालिका छ ।


मूल्यांकन गर्न बाँकी रहेका एसईईसहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि १ साउनदेखि पठनपाठन सुरु गर्ने कार्यतालिका बनेको सामुदायिक विद्यालय व्यवस्थापन महासंघ अध्यक्ष कृष्ण थापाले बताए ।
कोरोना संक्रमणका कारण नयाँ शैक्षिक सत्र २ महिनापछि धकेलिएर १ असारदेखि सुरु भएको हो । 


नयाँ भर्नाका लागि १ असारदेखि भर्ना अभियान सुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । सोहीअनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान सञ्चालन गर्दै छन् ।

 

भर्ना अभियानको समयावधिभित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्नेछ । स्थानीय तहले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइसकेका छन् ।


कोरोना संक्रमणका कारण अन्य क्षेत्रजस्तै विद्यालय पनि प्रभावित भएपछि शिक्षा मन्त्रालयले नियमावलीलाई संशोधन गरेर शैक्षिक सत्र २ महिना ढिला गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।


अघिल्ला वर्षमा विद्यालयको शैक्षिक सत्र वैशाखदेखि सुरु हुन्थ्यो । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् १ हजार घन्टा पढाउनुपर्छ । सामान्यतया सार्वजनिक, साप्ताहिक बिदाबाहेक करिब २ सय दिन विद्यालय सञ्चालन हुने गरेको छ ।