close

मर्स्याङ्दीमा उर्लिएको भेलले मनाङको तालगाउँका आधा बस्ती डुबानमा

मनाङमा बाढीले विद्युत्गृह, बेलीब्रिज र काठेपुलसमेत बगायो 

मर्स्याङ्दीमा उर्लिएको भेलले मनाङको तालगाउँका आधा बस्ती डुबानमा

मनाङमा बाढीले विद्युत्गृह, बेलीब्रिज र काठेपुलसमेत बगायो 

Trulli
ADVERTISEMENT

लमजुङ- सोमबारदेखिको अविरल वर्षाका कारण हिमालपारिको जिल्ला मनाङको तालगाउँ डुबानमा परेको छ । बाढीले मनाङमा विद्युत्गृह, बेलीब्रिज र काठेपुलसमेत बगाएको छ ।

 

सोमबार साँझदेखि परेको अविरल वर्षाले चामे गाउँपालिका वडा नम्बर १ तिमाङ खोलाको बेलीब्रिज बगाएको हो । तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघुजल विद्युत्गृह पनि बगाएको छ । त्यस्तै, सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको छ ।

 

नासों गाउँपालिका वडा नम्बर १ तालगाउँको आधा बस्ती डुबानमा परेको स्थानीयले बताए । तालगाउँका स्थानीयका अनुसार मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित तालगाउँको आधा बस्ती डुबानमा पारेको छ ।

 

करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभीरतर्फ आएको स्थानीय मीनरासी गुरुङले बताए । अविरल वर्षाका कारण विद्युत्गृहमा क्षति पुर्‍याउनुका साथै टेलिफोन सेवा पनि अवरुद्ध बनेको छ ।

 

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा यसअघि बगाउन लागेको एउटा घर र थप काठका ३ वटा घर बगाएको उनले जानकारी दिए । ‘ढुंगामुढाले पुल थुनिँदा बस्तीतिर बाढी पसेको छ । बाढी पस्दा घर बगाउन थालेको छ । बजार क्षेत्र नै जोखिममा परेको छ’, उनले भने ।


तिमाङ खोलाको बेलीब्रिज र ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् आयोजनाको संरचना पनि बाढीले बगाएको छ । पानी परिरहेको र बाढीपहिरो आइरहेकाले उद्दारमा समस्या भएको खड्काले बताए ।

 

यसअघि १६ जेठको बाढीले क्षति पुर्‍याएको ठाउँमा थप क्षति भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । बाढीपहिरो भइरहेको र पानी परिरहेकाले उद्दारमा समस्या भएको उनको भनाइ छ ।


गुल्मीको इस्मामा वर्षाले घर भत्किँदा एक जना घाइते

निरन्तरको वर्षाले घर भत्किँदा गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ५ मैदानमा १ जना घाइते भएका छन् । २ दिनदेखिको अविरल वर्षाले राजेश परियारको निर्माणाधीन घर भत्किएपछि उनकी श्रीमती जानुका परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

 

घरभित्र पुरिएकी परियारको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । त्यस्तै, इस्मा वडा नम्बर १ उजुङका छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुंगाले भत्किए पनि मानवीय क्षति भएको छैन । अत्यधिक वर्षा भइरहेकाले जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् ।