close

निरन्तको वर्षाले पाल्पामा ५० मिटर सडक बगायो

निरन्तको वर्षाले पाल्पामा ५० मिटर सडक बगायो

Trulli
ADVERTISEMENT

रूपन्देही- २ दिनदेखि परेको अविरल वर्षाका कारण रूपन्देहीका विभिन्न क्षेत्र प्रभावित भएका छन् । प्रत्येक वर्ष प्रभावित हुँदै आएको मर्चवारको भर्थापुर गाउँमा बाढी पसेको छ । तिनाउ र दानव नदीको संगम स्थल दुईमोहानदेखि ३ किलोमिटर दक्षिणमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ भरथापुरमा पानी पसेको हो ।


सशस्त्र प्रहरी बल दुईमोहानका सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर बस्नेतको कमान्डमा डुबान क्षेत्रमा गएको टोलीले डुबानमा परेकालाई उद्दार जारी राखेको छ । अहिले उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकाले सशस्त्र प्रहरी उद्दार टोली पूर्ण तयारी अवस्थामा रहेको सई बस्नेतले बताए ।

 

यसैगरी इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक रवीन्द्र महतको नेतृत्वमा गएको टोली पनि उक्त क्षेत्रमा खटिएको छ । उद्दार टोलीले २ दिने सुत्केरी महिलासहित ७जनालाई उद्दार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ ।

 

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ का बस्तीमा घरमा पानी पसेको वडाध्यक्ष रमेशप्रसाद निसादले जानकारी दिए । डुबानमा परेकामध्ये केही छिमेकीको घर र केही उक्त टोलमा रहेको सामुदायिक बिउ भण्डार तथा सुरक्षित आश्रय स्थलमा बसेको वडाध्यक्षले जानकारी दिए ।


यसैबीच मर्चवारको शिवपुर गाउँमा बाढी पस्न थालेपछि स्थानीयले मर्चवार जाने मूल बाटो भत्काइदिएका छन् । बनगाई-मर्चवार मूल बाटोको गरगट्टी र मकरीमा बाटो काटी पानीको निकास बनाइएको छ । यसले अहिले मर्चवार र सदरमुकाम भैरहवाको आवागमन रोकिएको छ ।


यस्तै, अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडक खण्डको तानसेन नगरपालिका वडा नम्बर ८ गौडेपुल नजिकै झन्डै ५० मिटर सडक बगाएको छ । डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्ग जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको थियो ।

 

सिद्धार्थ राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध छ । वर्षा नरोकिएकाले सडक डिभिजनले ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् । सानाठूला सवारी साधन तराई र तराईबाट पहाड आउन सकेका छैनन् । 


पाल्पाकै आर्यभन्ज्याङ-रामपुर सडकको हुमिन र चापगैरामा पनि पहिरोले सडक अवरुद्ध भएको छ । यस्तै, रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएका छन् ।