close

बूढीगंगाको कटानले खेतीयोग्य जमिन बगरमा परिणत, दर्जनौँ बस्ती उच्च जोखिममा 

बूढीगंगाको कटानले खेतीयोग्य जमिन बगरमा परिणत, दर्जनौँ बस्ती उच्च जोखिममा 

Trulli
ADVERTISEMENT

बाजुरा- निरन्तरको वर्षाले बूढीगंगा नदीमा पानीको बहाव बढेसँगै बाजुरा र अछामका खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएका छन् । गत वर्ष २५ साउनमा बूढीगंगा नदीमा आएको बाढीले खेतीयोग्य जमिन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यो वर्ष पनि वर्षाको समय नदीले निरन्तर कटान गर्दा बाजुरा र अछामका दर्जनौँ बस्ती जोखिममा परेको स्थानीयले बताए ।

 

बूढीनन्दा नगरपालिका वडा नम्बर १ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमिन बूढीगंगाले कटान गरेको छ भने वडा नम्बर ३ ताप्रिसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत भएको वडाध्यक्ष हिरा थापाले जानकारी दिए ।

 
बडिमालिका नगरपालिका वडा नम्बर २ घागरमा गत वर्ष खेतीयोग्य जमिन कटान भएकामा यो वर्ष वर्षा सुरु भएसँगै नदीले कटान गर्न थालेको छ । ‘१९ मुरी धान फल्ने खेत बगरमा परिणत भयो । घर पनि पूर्ण रूपमा जोखिममा परेपछि लेकतिर बसाइँ सर्न लागेका छौँ’, स्थानीय हिरा पाध्यायले भने, ‘धान फल्ने खेत नै नदीले खाइदिएपछि खाद्य संकट बेहोर्नुपर्ने भयो ।’

 

बडिमालिका नगरपालिका वडा नम्बर २ को पानी नाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीय धन बढुवालले बताए । ‘प्रत्येक वर्ष नदीले कटान गर्दै आएको थिया । अहिले पनि खेतीयोग्य जमिन बगायो’, उनले भने ।


त्रिवेणी नगरपालिका वडा नम्बर ३ वडा र बूढीगंगा नगरपालिका वडा नम्बर ३ वडाको खेतीयोग्य जमिन नदीले कटान गदै आएको बूढगंगाका नगरप्रमुख दीपकविक्रम शाहले बताए ।


नदी छेउमै रहेका ताप्रिसेरा, राप्का, बार्जुगाडा, मौरलगायत बजार उच्च जोखिममा रहेको शाहको भनाइ छ । ‘तलबाट नदीले कटान गर्दै आएपछि बजारसमेत जोखिममा परेको छ । केही विस्थापित भइसेका छन्’, उनले भने । 

 

बूढीगंगा नदीले अछाममा पनि खेतीयोग्य जमिन कटान गर्दै आएको साँफेबगर नगरपालिका वडा नम्बर २ का कमल साउदले बताए । नदीले साँफेबगर नगरपालिकाको बुढाबगर, ठाँटी, साँफे र कालिमाटीमा खेतीयोग्य जमिन कटान गर्दै आएको छ । जग्गा कटान गर्दै आएपछि बस्तीसमेत जोखिममा पुगेको स्थानीयको गुनासो छ ।


बूढीगंगा नदीले अछामको धार्मिक स्थल बजैनाथ क्षेत्रको केही भूभाग पनि कटान गर्दै आएको छ । मन्दिर पनि नदीको चपेटमा परेको छ । नदीको कटाइमा साँफे-मार्तडी सडक खण्ड पनि परेको छ ।

 

अछामको साँफेदेखि बाजुराको मार्तडीसम्म ५७ किलोमिटरमध्ये अधिकांश सडक खण्ड नदी किनारमै अवस्थित छ । साँफे-मार्तडी सडक खण्डको ताप्रिसेरादेखि पानीनाउलासम्म २० ठाउँ बढी क्षेत्रमा पहिरो गएको छ ।


बाजुराको गौमूल गाउँपालिका, बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा परेका हुन् । बूढीगंगा नदीको बहावसँगै तटीय क्षेत्र कटान गर्दा दर्जनौँ बस्ती बगाए पनि ३ वटै सरकारबाट नियन्त्रणको पहल नभएको स्थानीयको गुनासो छ ।


तत्कालीन अवस्थामा पाल, दाल, चामल दिए पनि दीर्घकालीन योजना नबनाएकै कारण अबको समय पनि दर्जन बढी बस्ती जोखिममा रहेका छन् । गत वर्षको २५ साउनको बाढीले एउटा गाउँपालिका र ३ नगरपालिकाका गरी दर्जन बढी बस्ती जोखिममा परे पनि सरकारबाट कुनै सहुलियत पाउन नसकिएको स्थानीयको गुनासो छ ।

 

बूढीगंगा नदीले ३ वटा झोलुुंगे पुल र एउटा बेलीब्रिज बगाएको थियो । त्यतिबेला बाजुरादेखि अछामको साँफेसम्मका तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा परेपछि तत्कालीन गृहमन्त्री रामबहादुर थापासहित प्रदेशका मुख्यमन्त्री र मन्त्रीसमेत बाजुरा पुगरे अनुुगमन गरे पनि कटान रोक्न कुनै काम गरेनन् ।

 

वर्षाले टुटायो साँफे-मार्तडी र कोल्टी-मार्तडीको सम्बन्ध

निरन्तरको वर्षाका कारण बाजुराको सदरमुकामबाट बाहिर जाने सबै सडक अवरुद्ध भएका छन् । विगतजस्तै यो वर्ष पनि वर्षा सुरु भएसँगै सबै सडक अवरुद्ध भएका हुन् । जिल्लाको मुख्य राजमार्ग साँफे-मार्तडी सडक र मार्तडी-कोल्टी सडकसमेत अवरोध भएका छन् भने अन्य ग्रामीण सडक पहिरोको दलदलमा परेका छन् ।


यो वर्ष मनसुन छिट्टै सक्रिय भएकाले असार सुरु नहुँदै सबै सडक अवरुद्ध भएको जिल्ला प्रशासनले बताएको छ । मार्तडी-कोल्टी सडक शनिबारबाटै अवरुद्ध भएको छ भने सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण साँफे-मार्तडी सडक खण्ड पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


बूढीनन्दा नगरपालिकाको अम्कोटमा नियमित पहिरो बग्ने गरेकामा पानी परेपछि झनै बढी जोखिम देखिएको छ । सोमबारको अत्यधिक वर्षाका कारण मार्तडीभन्दा बाहिरका सडक अवरुद्ध भएका छन् । पहिरोका कारण सडक अवरुद्ध हुँदा आउजाउमा समेत समस्या भएको छ ।


वर्षाको समय मार्तडीमुनिका सडक पहिरोका कारण क्षतविक्षत भएपछि धनगढीलगायत ठाउँबाट दैनिक उपभोग्यका साम्रगी ढुवानीमा समेत अवरोध आएको छ । ठाउँ-ठाउँमा पहिरोका कारण सदरमुकाम मार्तडीसम्मको सम्बन्ध टुटेको छ । 


बाजुरामा खोलाले बगाउँदा एक महिला र एक बालक बेपत्ता

बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ३ मा एक महिलालाई खोलाले बगाएपछि बेपत्ता भएकी छन् । बेपत्ता हुुनेमा वडा नम्बर ३ का मनबहादुर ल्वारकी ३५ वर्षीया श्रीमती मोतीकला ल्वार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । 


धानको बेर्ना गोढ्न जाँदा चिप्लिएर बड्डीगाड खोलाले बगाएपछि ल्वार बेपत्ता भएकी हुन् । बेपत्ता महिलाको खोजी भइरहको प्रहरी निरीक्षक साउदले बताए । यस्तै, बूढीनन्दा नगरपालिका वडा नम्बर ८ मा एउटा घर भत्किएको छ । स्थानीय खेमराज कठायतको घरको छानो भत्किएको हो । घर भत्किए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धनदेव साउदले जानकारी दिए । 

 

त्रिवेणी नगरपालिका वडा नम्बर ५ कम्नी खोलाले बगाएर १२ वर्षीया बालक बेपत्ता भएका छन् । २ दिनसम्मको लगातार वर्षाका कारण गाउँ नजिकै उर्लिएको खोला हेर्न जाने क्रममा घुुर्या बुढाका १२ वर्षीया छोरा कमल बुढा बेपत्ता भएको त्रिवेणी नगरपालिकाका प्रवक्ता प्रेम थापाले बताए ।
 
लगातार परेको वर्षाका कारण घटना स्थलमा फोन सम्पर्क टुटेकाले घटनाबारे थप जानकारी आएको छैन । घटना स्थलमा प्रहरी टोली गइसकेको छ ।  टेलिफोन अवरुद्धका कारण प्रहरी टोलीसमेत सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । लगातारको वर्षाका कारण जिल्ला सदरमुुकाम जोड्ने मुुख्य राजमार्ग साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको छ ।

 

उक्त राजमार्गअन्तर्गत बार्जुगाडी, ताप्रिसेरा, बल्दे, द्वारी, तिपाडालगायत दर्जनौँ ठाउँमा सडकको माथिबाट र तलबाट पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साउदले जानकारी दिए । अघिल्लो वर्षदेखि नै पहिरोले अवरुद्ध भएको सडक हिउँदको समय केही महिना पहिरो पन्छाएर काम चलाउ सञ्चालन गरिए पनि वर्षा सुरु भएसँगै अवरुद्ध भएका हुन् । 


 लगातार पानी परिरहेकाले सडक तत्काल खोल्न नसक्ने स्थिति रहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । लगातारको वर्षाले बाउली, अनाई, दानसागुलगायत खोलामा पानीको बहाव बढेसँगै सडक ठाउँ-ठाउँमा भासिएको छ ।