close

 बजेट ल्याउने चटारोमा पूर्वखोला गाउँपालिका  (भिडियो खबर)

 बजेट ल्याउने चटारोमा पूर्वखोला गाउँपालिका  (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- वैधानिक प्रावधान अनुसार सबै स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । महामारीको समयमा नागरिकको जीवन रक्षा गर्न लाग्नुपर्ने समयमा बजेट निर्माणको चटारो छ । महामारी नियन्त्रण पनि गर्नुछ, योजना तर्जुमा पनि गर्नुछ । अझ, अन्तिम पटक बजेट ल्याउने हुँदा समुदाय स्तरमा रहेको गुनासो समाधान गर्नुपर्ने जिम्मेवारी पनि उत्तिकै छ ।

 

महत्वाकांक्षी बजेट भन्दा पनि जनमुखी र जनपेक्षा अनुसार ल्याउनुपर्ने दबाब स्थानीय सरकारलाई छ । तर, पाल्पाको पूर्वखोला गाउँपालिका भने स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर सबै क्षेत्रको माग सम्बोधन गर्दै समावेशी बजेट ल्याउने तयारीमा जुटेको छ  । गाउँपालिकाले असार १० भित्रै बजेट ल्याउन सरोकारवालासँग सुझाव संकलन, छलफल र बैठकलाई अगाडी बढाएको छ ।

 

अहिले गाउँ, वडामै पुगेर बस्ती स्तरबाटै योजना छनोटका लागि गाउँपालिका अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेट अन्तिम भएकाले नागरिकको गुनासो सम्बोधन, माग र आवश्यकता बुझ्न बस्ती स्तरमै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर सुझाव संकलनमा गाउँपालिका खटिएको छ । 


लगातार दुई वर्ष सम्म कोरोनाको रोकथाम र नियन्त्रणमा अब्बल सावित भएको पूर्वखोलाले यस वर्षको नीति तथा कार्यक्रममा सबै वडामै आइसोलेसन निर्माणको योजना बनाएको छ । कार्यकालको सुरुवाती  वर्ष देखि नै लक्ष्य निर्धारणका साथ पूर्वखोलाले समृद्धि र विकासको सुरुवात गरेको थियो । गाउँपािलका ‘शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन सहितको पूर्वाधार, पूर्वाखोला विकासको आधार’ भन्ने मुल नाराका साथ अहिले बजेट निर्माणमा जुटेको छ । 

 

पूर्वखोलाले बजेट निर्माणको तयारी स्वरूप बजेटको सिलिङ तोक्ने, विषयगत समितिको सिलिङ निर्धारण गर्ने, आन्तरिक स्रोतको मुल्याङ्कन लगायतको काम कार्यपालिका बैठकबाट सकाएको छ । निकट भविष्यमा आउन सक्ने कोरोनाको तेस्रो भेरियन्टलाई  मध्यनजर गरि पूर्वखोलाले आगामी आर्थिक वर्षमा कोभिड न्यूनिकरणलाई नै प्राथमिकता दिने भएको छ । 

 

कोरोना कहरमा परेका नागरिकको जीवनस्तर उकास्न पुर्वाखोलाले युवा स्वरोजगार र उद्यम विकास कार्यक्रमसँगै स्वास्थ्य सुविधा थप गरेर अघि बढ्ने तयारी गरेको छ । पूर्वखोला गाउँपालिका कोभिडकाबीच बस्तीस्तरबाटै योजना छनौट गरेर बजेट निर्माणमा जुट्नुले समुदायको आवश्यकता र मागमा गाउँपालिका गम्भीर छ भन्ने देखाएको छ ।