close

जुम्ला अस्पताललाई चिनियाँ कम्युनिस्ट पार्टीले दियो १ करोड मूल्यको हाइड्रोजन अक्सिजन

जुम्ला अस्पताललाई चिनियाँ कम्युनिस्ट पार्टीले दियो १ करोड मूल्यको हाइड्रोजन अक्सिजन

Trulli
ADVERTISEMENT

जुम्ला- चिनियाँ कम्युनिस्ट पार्टीले १०० वर्ष  पुगेको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई कोरोना रोकथाम तथा नियन्त्रण गर्न  स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

 

नेपाल मजदुर किसान पार्टीका नेता निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मास्क, हाइड्रोजन अक्सिजन, जेनेरेटर उपकरणसहित आवश्यक स्वास्थ्य सामग्री जुम्ला ल्याएर अस्पताललाई बुझाएका हुन् । 

 

२ हजार ८ सय ८० थान एन ९५ मास्क र १ थान हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरण प्रतिष्ठानलाई दिइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।


२ हजार मास्क जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । 

 

‘हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सेन्ट्रेटरभन्दा बढी भरपर्दो र बहुउपयोगी हुन्छ । ती सामग्रीको बजार मूल्य १ करोड बढी पर्छ’, नेता सुवालले भने ।

 

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमाकिपालाई स्वास्थ्य सामग्री सहयोगस्वरूप प्राप्त भएको हो ।


जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए । 


उनका अनुसार भक्तपुरका ६ वटा अस्पताल र काभ्रे अस्पताललाई स्वास्थ्य सामग्री दिइसकिएको छ । जुम्लादेखि विराटनगरसम्मका अस्पतालमा स्वास्थ्य सामग्री पुगिसकेको छ ।   


स्वास्थ्य सामग्री बुझ्दै प्रतिष्ठानका अस्पताल निर्देशक डा. राजीव शाहले उपचारमा रहेका बिरामीका लागि सदुपयोग गरिने बताए । उनले भने, ‘कोरोना महामारीको समय गरिएको यो सहयोग निकै प्रशंसनीय छ । आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन साथ र सहयोग रहने अपेक्षा गरिएको छ ।’

 

संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले चिनियाँ कम्युनिस्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्रीले राहत मिल्ने बताए । उनले भने, ‘चीनले नेपाली जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै उपलब्ध गराएको सहयोगले कोरोना महामारीविरुद्ध लड्ने हौसला प्रदान गरेको छ । चीनले नेपालप्रति देखाएको सद्भाव र सहयोगका लागि आभारी छौँ ।’