close

जुम्लाको टुङटुङ लेकमा पहिरो जाँदा ४ जना सम्पर्कविहीन, उद्दार कार्य प्रभावित 

जुम्लाको टुङटुङ लेकमा पहिरो जाँदा ४ जना सम्पर्कविहीन, उद्दार कार्य प्रभावित 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको पातारासी गाउँपालिकाको टुङटुङ लेकको पहिरोमा परी ४ जना सम्पर्कविहीन भएका छन् । पातारासीको लेखीढुंगा टुङटुङ लेकमा पहिरोमा परेका ४ जना सम्पर्कविहीन भएका हुन् ।

 

पहिरोमा परेका व्यक्तिको खोजीका लागि आफन्तजन उक्त स्थानतर्फ गइरहेको प्रहरीले जनाएको छ । पाटन क्षेत्रमा फोन नलाग्ने भएकाले सम्पर्क हुन सकेको छैन ।

 

घाइतेमध्ये सुकबहादुर नेपाली र तारा नेपालीको अवस्था गम्भीर रहेको स्थानीयलाई उद्धृत गर्दै जुम्लाका प्रहरी प्रमुख दानबहादुर थापाले बताए । अरू २ जना घाइतेको नाम खुलिसकेको छैन । 

 

उनीहरू केही समय पहिले जडीबुटी कोर्न पाटन गएका थिए । निरन्तर वर्षा भएपछि गाउँ फर्कन थालेका उनीहरू पहिरोमा परेका हुन् ।  बुधबार बिहान पहिरोमा परेको आफन्तजनले फोन सम्पर्क गरेर जानकारी गराएका थिए ।

 

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाईंले भने, ‘अहिलेसम्म सम्पर्कमा छैनन् । फोन सम्पर्क हुन नसक्दा उद्दार कार्य अघि बढाउन समस्या भइरहेको छ ।’ 

 

४ जना पहिरोमा परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट उद्दार गर्ने तयारी भए पनि मौसम अनुकूल नहुँदा समस्या भएको छ । उनले भने, ‘अहिलेसम्म न मौसम खुलेको छ, न त आफन्तको फोनै आउँछ । सदरमुकामभन्दा ३ दिन टाढा पर्ने भएकाले सम्पर्क हुन असहज भइरहेको छ ।’

 

घाइते कस्तो अवस्था र कहाँ छन् भन्नेबार समाचार तयार पार्दासम्म यकिन विवरण प्राप्त हुन सकेको छैन । उद्दारका लागि सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिए पनि पानी परिरहेकाले मौसम खुलेको छैन । मौसम खुल्नेबित्तिकै उद्दार सुरु हुने स्थानीय प्रशासनले जनाएको छ । 

 

घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गर्ने तयारी गरिए पनि खराब मौसमका कारण हेलिकोप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले बताए ।

 

घटनास्थलतर्फ प्रहरी परिचालन गरिए पनि त्यहाँ पुग्न पैदल २ दिन लाग्ने हुनाले हेलिकोप्टरबाटै उद्दार गर्नुको विकल्प नभएको उनको भनाइ छ । 

 

वर्षाले कर्णाली राजमार्ग अवरुद्ध 

 

अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको दहीखोला, गगने खोला, पिली, रारालिहीलगायत ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार अविरल वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको छ ।

 

‘पहिरो गएको ठाउँमा अहिले पन्छ्याउने काम भइरहेको छ’, उनले भने, ‘सडक डिभिजन कार्यालय जुम्लाका डोजर परिचालन गरी बाटो खुलाउने प्रयासमा छौँ । सडकमा पटक–पटक पहिरो जाँदा समस्या परेको छ ।’ 

 

कोरोना संक्रमणले जिल्ला–जिल्लामा निषेधाज्ञा भएकाले कर्णाली राजमार्गमा फाट्टफुट्ट मात्र सवारी साधन गुड्ने गरेका छन् । कालीकोटका डिएसपी चक्रबहादुर शाहका अनुसार कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रु प्रभावित भएका छन् ।