close

एकै पटक १० हजारको एन्टिजेन्ट परीक्षण गर्दै मध्यपुर थिमि

एकै पटक १० हजारको एन्टिजेन्ट परीक्षण गर्दै मध्यपुर थिमि

Trulli
ADVERTISEMENT

 

विपना मुसिख्वाल
भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले एकै पटक १० हजार जनाको एन्टिजेन्ट परीक्षण गर्ने भएको छ ।

नगरपालिकाको आयोजना र नेपाल– कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनमा उक्त परीक्षण हुन लागेको हो । 

पालिकाका अनुसार नगरभित्रका सबै वडामा एकै पटक एन्टिजेन्ट परीक्षण गरिन लागेको हो । त्यसका लागि ११ हजार किटको व्यवस्था भइसकेको छ । 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार ५ असारदेखि नगरभित्रका सबै वडामा परीक्षण गरिनेछ । त्यसका लागि पालिकाले परीक्षण केन्द्रसमेत निर्धारण गरिसकेको छ । 

‘परीक्षण गरेका सबैलाई सोही दिन रिपोर्ट दिइनेछ । हाल परीक्षण गरेकाले तत्काल पिसिआर परीक्षण गर्नुपर्ने छैन,’ श्रेष्ठले भने, ‘पोजेटिभ रिपोर्ट आएकालाई होम आइसोलेसन वा आइसोलेसनमा राख्ने व्यवस्था गरिनेछ ।’ 

मुलुकभर कोरोना संक्रमितको संख्या घटिरहेको अवस्थामा विश्लेषणात्मक तथ्यांक निकाल्न पालिकाले ठूलो परिमाणमा परीक्षण गर्न लागेको उनले बताए । 

समुदाय स्तरमा कोरोना फैलिए÷नफैलिएको पत्ता लगाउन र फैलिए त्यसलाई निराकरण गर्न एन्टिजेन्ट परीक्षण गर्न लागेको उनले जानकारी दिए । 

९ वटा वडामध्ये क्रमशः वडा नम्बर १ निर्मल बैंक्वेट, वडा नम्बर २ को महेन्द्र आधारभूत विद्यालय, वडा नम्बर ३ को वडा कार्यालय, ४ को बालकुमारी स्वास्थ्य केन्द्र, ५ को भँलाखेललाई केन्द्र तोकिएको छ ।

यस्तै, ६ को ठिमी स्वास्थ्य केन्द्र, ७ को नगदेश स्वास्थ्य केन्द्र, ८ को बोडे सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर ९ को स्वास्थ्य केन्द्रमा परीक्षण हुनेछ । 

पालिकाका अनुसार बिहान १० देखि दिउँसो साढे ४ बजेसम्म कार्यक्रम सञ्चालन गरिनेछ ।