close

डाक्टर पढ्न कर्णाली जाने कि ? (भिडियाे खबर)

कर्णालीमा आऊ, डाक्टर बनेर जाऊ

डाक्टर पढ्न कर्णाली जाने कि ? (भिडियाे खबर)

कर्णालीमा आऊ, डाक्टर बनेर जाऊ

ADVERTISEMENT

जुम्ला- अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीवासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबीबीएस कार्यक्रम सुरुवात गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको छ । र, कर्णाली प्रदेशको ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने नाराले सार्थकता पाउने अपेक्षा गरिएको छ ।

 

२०६८ सालमा स्थापना भएको कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब चिकित्सक उत्पादन गर्ने सामथ्र्य राखेको छ । सुगमको भरोसा जित्न थालिसकेको यो प्रतिष्ठानले अब देशमा आवश्यक चिकित्सकको जनशक्ति उत्पादन गर्नेछ । विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिक समक्ष सेवा पुर्‍याउने मर्मलाई आत्मसाथ गर्दै आफ्नो गन्तव्य तय गर्न सफल हुनेछ । 


प्रतिष्ठानमा अहिले स्नातक तहका एमबीबीएससहित अब ३ वटा बिषय थपिएको छ । एमबीबीएस, विफार्मा र बीएनएस सरकारले अहिले अध्ययन गर्न स्विकृति दिएको हो । यस अघि स्नातक तहको बीएम, एस, विपीएच सुरु भइसकेको छ भने स्नाकोत्तर तहको एमडिएमएसको तीन विषयको पाँच सिट पनि सुरु भएको छ । एमबीबीएस भने निषेधाज्ञा पछि आयोगको तालिका अनुसार नै अगाडि बढ्ने छ । 


प्रतिष्ठानमा आइसोलेसन बेड १२०, एचडियू शय्या २४, आइसीयु शय्या १२ र भेन्टिलेटर १५ वटा छन् । सिटिस्क्यान जडान, भिडियो एक्सरे जडान, अक्सिजन प्लान्ट जडान, आरटी पीसीआर मेसिन जडान, अस्पतालको फोहर व्यवस्थापनलाई बैज्ञानिक तवरबाट व्यवस्थापन गर्ने कार्य भएको छ । द्वन्द पीडितलाई प्रदेश सरकारको सहयोगमा निशुल्क स्वास्थ्य सेवा आइसीयू, एनआईसीयू, बर्थिङ केन्द्र स्थापना, स्वास्थ्य सेवा विभागसँग समन्वय गरी अस्पताललाई चाहिने औजार उपकरणको व्यवस्था मिलाइएको छ । प्रतिष्ठानको सेवाप्रति कर्णालीवासी पनि पुलकित छन् । 

 

कर्णाली प्रदेशका जिल्लामा स्वास्थ्य क्याम्प तथा पाठेघर खस्ने क्याम्प सञ्चालन गरिएको छ । डेढ दशकअघि कर्णालीका नागरिकले स्वास्थ्य उपचार नपाउदा अल्पआयूमै मृत्युवरण गर्नुपर्ने अवस्था थियो । बिरामी मोटो रकम खर्चेर नेपालगञ्ज र काठमाडौँमा उपचार गर्न जानुपर्ने बाध्यतामा थिए । प्रतिष्ठान जुम्लामा स्थापना भएपछि स्वास्थ्य सेवा प्रवाहमा गर्दा निकै सहजता मिलेको चिकित्सक बताउँछन् ।


प्रतिष्ठान जनशक्तिको हिसाबले पनि अब्बल छ । ७० जना चिकित्सकसहित करिब २ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालको पूर्ण क्षमताअनुसार बिरामी भर्ना हुँदा पनि करिब ५० जना चिकित्सक–स्वास्थ्यकर्मीलाई अन्य जिल्लामा परिचालन गर्न सकिएको छ । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनगढी, पोखरा, काठमाडौंजस्ता सुगमबाट फोन आउने गरेको छ । 


विगतमा सिटामोलको चक्की नपाउने कर्णाली आज विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ । इच्छाशक्तिका अगाडि असम्भव ठानिएका हरेक कुरा असत्य साबित हुँदा रहेछन् भन्ने चरितार्थ दुर्गम कर्णाली प्रदेशको जुम्लामा भइरहेको छ । यो कर्णाली प्रदेश र जुम्लाले हासिल गरेको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो ।