close

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा बल्ल पुग्यो प्रहरी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा बल्ल पुग्यो प्रहरी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रहरी चौकी र बैंक पुग्न नसकेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रहरी चौकीको औपचारिक उद्घाटन गरिएको छ । प्रहरी चौकी स्थापना भएपछि अब त्यहाँ चाँडै बैंकिङ सेवा समेत सुरु हुने भएको छ ।

गाउँपालिका अध्यक्ष रामकुमार साँवा, प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ र ताप्लेजुङ प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले मिक्वाखोलामा प्रहरी चौकीको औपचारिक उद्घाटन गरेका छन् ।

गाउँपालिका अध्यक्ष साँवाले प्रहरी चौकी स्थापना हुँदा आम नागरिकले शान्ति सुरक्षा र अमन चयनका लागि कोसेढुङ्गा बन्ने बिश्वास लिएको बताए । शान्ति सुरक्षाका लागि आफुहरु प्रहरीसँग सहकार्य गर्न र प्रहरीलाई सहयोग गर्न तयार गरेको अध्यक्ष साँवाको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी चापागाँईले नागरिक र प्रहरीबीच सहकार्य हुन सकेमा मात्र प्रहरीले शान्ति सुरक्षाका लागि बनाएको योजना कार्यान्वयन गर्न सक्ने बताए । थोरै जनशक्ति रहेको प्रहरीको एक्लो प्रयासले मात्र समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम हुन नसक्ने भएकोले नागरिक–प्रहरी बीचमा सहकार्य अनिवार्य भएको चापागाँइको भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख श्रेष्ठले प्रहरी समाजको सम्पति भएको स्मरण गर्दै सम्पतिको संरक्षण र व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका बलियो हुने बताए ।

मिक्वाखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले सुरक्षा चुनौतीका कारण कर्मचारी समेत नबस्ने तथा आउन नमान्ने बिगतको समस्या अब हल भएको बताए । उनले प्रहरी चौकी व्यवस्थापन र प्रहरी कर्मचारीको सहयोगका लागि गाउँपालिका प्रशासन हरदम तयार रहेको प्रतिबद्धता जनाए ।