close

भक्तपुरलाई अक्सिजन प्लान्ट सञ्चालन गर्न स्थानीयले दिए साथ (भिडियो खबर)

भक्तपुरलाई अक्सिजन प्लान्ट सञ्चालन गर्न स्थानीयले दिए साथ (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- केही महिना अगाडी मुलुकभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो । संक्रमितले उपचारको लागि अस्पतालमा शय्या समेत पाउन सकेनन् । पाएकाले पनि अक्सिजन खोज्न भौतारिरहनु पर्‍यो । जसको असरले धेरै नेपालीले मृत्युवरण गर्न बाध्य भए ।  अहिले संक्रमितको संख्या तुलनात्मक रूपमा कम हुँदै गएको छ । विस्तारै अस्पतालको शय्या पनि खाली हुँदै गएका छन् ।

 

यो बीचमा मुलुकभरका स्थानीय तहले कोभिड अस्पतालसँगै अक्सिजन उत्पादनलाई पनि प्राथमिकता राख्दै आएको छ । जसमा स्थानीयले पनि सहयोग गरेका छन् । भक्तपुरको भक्तपुर नगरपालिकालाई अक्सिजन प्लान्ट स्थापना गर्न स्थानीयले नै आर्थिक सहयोग गरेका छन् । जसले गर्दा अब उपरान्त महामारीमा अक्सिजनको अभाव भक्तपुरले भोग्नु नपर्ने नगरपालिकाले जनाएको छ । 


भक्तपुरका चार स्थानीय तहमध्ये दुई नगरपालिकामा अहिले अक्सिजन उत्पादन सुरु भइसकेको छ । मध्यपुर थिमि नगरपालिकाले केही साता अगाडी मात्रै अक्सिजन उत्पादन सुरु गरेको थियो । यसैगरी भक्तपुर नगरपालिकाले पनि निर्माणधीन ख्वप अस्पतालको भवनमार्फत अक्सिजन उत्पादन सुरु गरेको छ । 


अक्सिजन उत्पादन गर्नको लागि भक्तपुरलाई स्थानीय नागरिकले समेत साथ दिएको छ । स्थानीयले पालिकामाथि गरेको विश्वास र भरोसाले प्लान्टको लागि आवश्यक आर्थिक सहयोग स्थानीयले गरेका छन् । प्लान्टका लागि संघीय सरकार र प्रदेश सरकारसँग सहयोगको लागि पालिकाले अपिल गरेपनि कुनै सुनुवाई भएन । अनि पालिकाले स्थानीय समक्ष सहयोगको लागि आग्रह गरे । र, जनताले पनि पालिकालाई साथ दिए ।


पालिकाले हालसम्म स्वास्थ्य सामग्री र करिव ६ करोड आर्थिक सहयोग जनताबाट संकलन गरेको छ । त्यसमध्ये एक करोड २५ लाख लगानीबाट अक्सिजन प्लान्ट जडान गरिएको छ । केही साता अगाडी मात्रै चीनको छेन्दुबाट सिधा सम्पर्क गरी पालिकाले प्लान्ट खरिद गरेको थियो । दैनिक एक सय देखि १ सय २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता भएपनि हाल आवश्यक अक्सिजन मात्रै उत्पादन भइरहेको छ । उत्पादित अक्सिजन पालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र, ब्रम्हायणीस्थित आइसोलेसन केन्द्रमा प्रयोग हुँदै आएको छ ।


पालिकालाई सरकारले भेदभाभ पूर्ण भावना गरेकोले जनताले साथ दिएको स्थानीय बताउँछन् । नजिकका साथी र आफन्त कोरोना पीडित भएको र केही अक्सिजनको अभावको कारण ज्यान गुमाउनु परेकोले थप कसैको पनि अभावका कारण मृत्यु नहोस् भनेर पालिकालाई सहयाेग गरेको स्थानीय बताउँछन् । 


उत्पादित अक्सिजन स्वास्थ्य संस्थामा मात्रै नभई स्थानीय नागरिकको घरमा पनि पठाउने व्यवस्था गरिएको छ । सुरुमा नगरभित्रका स्थानीयलाई निःशुल्क रुपमा वितरण गरिएको छ । त्यसको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्दछ । यद्यपि, छिमेकी पालिका तथा जिल्लाका नागरिकलाई पनि अक्सिजन वितरण गर्न सकिनेछ । त्यसका लागि नगरपालिकाको वैठकमार्फत कार्यविधि बनाई अन्य पालिकाको नागरिकलाई पनि अक्सिजन वितरण गरिने पालिकाले जनाएको छ । 

 

हुनपनि महामारी एक्लैको प्रयासले सम्भव थिएन र हुँदैन पनि । महामारीमा नागरिकले खेल्ने भूमिका अझ बढी महत्वपूर्ण हुन्छ । सरकारले अघि सारेका स्वास्थ्य सुरक्षा मापदण्ड नागरिकबाट नै पालना भएन महामारी नियन्त्रण गर्न असम्भव प्राय छ । यहाँ त नागरिकले नै आर्थिक सहयोग गरेर पालिकालाई सुविधासम्पन्न र पूर्वाधार सम्पन्न बनाएका छन् । यस्तै, सहयोग अन्य स्थानीयले पालिकालाई गरे भने् महामारी सामान्य रोगमा परिणत हुन सक्छ । किनभने विकसित देशमा पनि पूर्वाधार निर्माण र स्वास्थ्य उपकरण हुँदा महामारी छिटो नियन्त्रणमा आउन सकको थियो ।