close

आधुनिक बन्दै जनकपुर विमानस्थल, बन्यो नयाँ टर्मिनल

आधुनिक बन्दै जनकपुर विमानस्थल, बन्यो नयाँ टर्मिनल

Trulli
ADVERTISEMENT

धनुषा– नेपालकै पुरानोमध्येको एक जनकपुधाम उपमहानगरको जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार भएको छ । टर्मिनल भवन बनेपछि अबको अबको केही महिनामै जनकपुर विमानस्थलले आधुनिक स्वरुप ग्रहण गर्नेछ ।

नयाँ टर्मिनल भवनबाट यात्रुले खानेपानी, पार्किङलगायत सबै सेवा सहज रुपमा पाउन सक्नेछन् । विमानस्थलको स्वरुप फेरिएपछि जनकपुरमा आन्तरिक र बाह्य पर्यटक भित्रने अपेक्षा यस क्षेत्रका जानकारको छ ।

विमानस्थल ८ असोज, २०२४ देखि सञ्चालनमा आएको थियो । त्यतिबेला एउटा मात्रै जहाज उड्न मिल्ने गरी भारत सरकारले बनाइदिएको जनकपुर विमानस्थलको पुरानो टर्मिनल भवन साँघुरो र अव्यवस्थित छ ।

दुईतले सानो भवनकै माथिल्लो तल्लामा रहेको पुरानै टावरबाट जहाज उडान र अवतरण भइरहेको छ । नयाँ टर्मिनल भवन निर्माण सुरु गरिएको पनि वर्षौं बितिसकेको छ ।

जनकपुर विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार निर्माण थालिएको नयाँ टर्मिनल भवन अबको तीन महिनामा सुरु हुनेछ ।

जनकपुर विमानस्थल प्रमुख किरण गौतमका अनुसार टर्मिनल भवन निर्माणको काम अन्तिम चरणमा छन् । अब छिट्टै नयाँ भवनबाट सेवा सुरु गर्छौं,’ गौतमले भने, ‘समय धेरै लागे पनि प्रतीक्षाको दिन नजिकिँदैछ ।’

नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको टर्मिनल भवन भारतको इलाहावादस्थित इन्दिरा गान्धी विमानस्थलको नक्साबमोजिम निर्माण सुरु गरिएको थियो ।

तर, निर्माण सुरु भएपछि प्राविधिक त्रुटि तथा रकम अभावले अहिलेसम्म पूरा नभएको हो । विमानस्थल निर्माण वर्षौंदेखि सुरु भए पनि  सरोकारवाला निकायको ढिलासुस्तीका कारण ढिलाइ भएको जनकपुर नागरिक समाजका सदस्य मुरली मनोहरले बताए ।

विमानस्थल कर्मचारीका अनुसार आन्तरिक टर्मिनल भवनअन्तर्गत जनकपुर विमानस्थलमा बनाइएको यो भवन नेपालकै नमुना हो । अढाई तले यो भवन फलामकै जगमा उभ्याइएको छ ।

२०६९ कात्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए ।

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ०६९ असोज १५ मा सम्झौता भएको थियो । तर, प्राधिकरणको लापरवाहीले डिजाइनमै त्रुटि देखिएपछि समयका काम हुन नसकेको ठेकेदार कम्पनीले बताएको थियो ।

ठेकेदारले काममा ढिलासुस्ती गरेपछि डिजाइन र स्टिमेटमा सुधार गरी ६ करोड रुपैयाँ पुनः थप गरियो । समयमा काम नभएपछि पुनः अर्को निर्माण कम्पनी ढेकिङ ग्याल्बा उमा एन्ड कम्पनीको मूल ठेक्कामा स्थानीय अम्बे बिल्डर्सलाई सबकन्ट्याक्ट दिएर निर्माण अघि बढाइएको हो ।

जनकपुर प्रदेश २ को राजधानी भएपछि अहिले हवाई यात्रुको चाप ह्वात्तै बढेको छ । नयाँ टर्मिनल भवनसँगै अत्याधुनिक टावर पनि बनाइएको छ । बर्खायाममा डुबानमा पर्ने पुरानो टर्मिनल भवन भत्काएर एप्रोन एरिया छुट्याइएको हो ।

टर्मिनल भवन अभावका कारण ५२ वर्ष पुरानो भवनबाटै यात्रुले सेवा लिनुपर्ने बाध्यता छ । विमान कम्पनीको काउन्टर बीचमै हुँदा यात्रुले सानो भवनमा प्रतीक्षा गर्नुपर्छ । विमानस्थलमा धावन मार्ग र पार्किङ स्थल फराकिलो बनाएर स्तरोन्नति गरिएको छ ।

विमानस्थलमा अहिले फ्युलिङ, वारुण यन्त्र र एक्सरे मेसिनसमेत जडान भएको छ । रात्रि उडानको सफल परीक्षण गरिसकेको यो विमानस्थलमा नेपाल आयल निगमले इन्धन भण्डारण सुविधा पनि सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमणपूर्व जनकपुर र काठमाडौंका लागि बुद्ध र यती एयरका ६  विमानले दैनिक उडान भर्दै आए पनि अहिले दैनिक २ उडान मात्र हुने गरेको छ । अहिले जनकपुरबाट बुद्ध एयरको ७२ सिटे विमानको ३ उडान र यती एयरले उडान गर्दै आएको छ ।