close

कोरोनाले नै गर्नु गर्‍याे हामीले के गर्नू ! (भिडियो वार्ता)

कोरोनाले नै गर्नु गर्‍याे हामीले के गर्नू ! (भिडियो वार्ता)

ADVERTISEMENT

सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी कोरोना कहरका कारण वितेको डेढ वर्ष पालिकाको विकास निर्माण नराम्ररी प्रभावित भएको बताउँछन् । पालिकावासीको स्वास्थ्य रक्षामा लाग्दालाग्दै विकासमा चासो दिनै नपाएको बताउने अन्सारीसँग पालिकाको विकास निर्माण र स्वास्थ्य अवस्थाबारे पालिकाखबर बुलेटिनका लागि करिष्मा कार्कीले गरेको कुराकानी  :

 

हरेक वडामा एउटा गौरवको आयोजना संचालन गर्ने भन्नुभयो । तर, वडावासीले गौरवको अनुभूति गरेनन् । कोरोनालाई दोष दिनुहुन्छ कि कार्यान्वयन संयन्त्र फितलो भएको हो ?

हामी दोष कोरोनालाई दिन्छौँ । किनकि हामीले सकेसम्म गौरवको योजना सबै वडामा सञ्चालन गरेका छौँ । तर, अझै राम्ररी सञ्चालन गर्न सक्थ्यौँ । महामारीले त्यसमा असर पुर्‍यायो । धेरै काम अघि बढ्न सकेनन् । 

 

बजेट ल्याउने बेलामा वडो आकर्षक नारा बन्छन्, तपाईहरुकै हेर्ने हो भने इन्टरनेट दिने, वडामा मिलन केन्द्र दिनेदेखि विद्यालयमा टिकाउने सम्मका नारा छन् । तर ४ वर्ष भयो कुनैपनि योजना पूरा भएनन् ।  पूरा नै गर्न नसकिने यतिधेरै नारा किन अघि सार्नुहुन्छ तपाईंहरु  ?

हामीले मिलन केन्द्र जुन बनाउने भनेका थियौँ, कोरोनाका कारण नै अघि बढ्न पाएनौँ । विद्यार्थीलाई अन्य सुविधा दिने हाम्रो नीति कोरोनाले नै असर गर्न पुग्यो । 

 

यो कोभिड-१९ भन्दा अघि पनि समय थियो । अरु पालिकामा कोरोनाकाबीच काम भएका छन् । किन कोरोनालाई नै दोष दिनुपर्छ र ?

हाम्रो गाउँपालिकामा पनि धेरै काम भएको छ । भीडभाड गराउने किसिमको क्रियाकलाप पो भएनन् । शिक्षा क्षेत्रमा सिभिल इन्जिनियरको कक्षा भइरहेको छ । बर्थिङ सेन्टर स्थापना ग¥यौँ । भौतिक निर्माणको सवालमा सामुदायिक भवन र बाटोघाटो निर्माण भएका छन् । नभएको त होइन नि ।

 

कोरोनाको कहर छ, यस्तो वेला तपाईहरुको प्राथमिकता विकास निर्माण हो कि जनताको स्वास्थ्य रक्षा अध्यक्षज्यू ?

विकास निर्माणदेखि जनताको स्वास्थ्यसँग जोडिएका विषयले निकै महत्व राख्छ । पहिलो मानिस नै स्वास्थ्य बनाउनुपर्छ अनि मात्रै अन्य पूर्वाधारका काम अघि बढ्न सक्छन् । त्यसैले हामीले स्थानीयको  घरघरमा स्वास्थ्य अवस्था बुझ्न चिकित्सक पठायौँ । चिकित्सक र जनप्रतिनिधिले नै नागरिकको स्वास्थ्यमा धेरै ध्यान दिइरहनुभएको छ ।

 

कोशी टप्पु क्षेत्रमा एकातिर जंगली जनावरको आतंक छ भने अर्कोतर्फ यसको संरक्षणको चुनौतीपनि तपाईहरुसँग छ । सहलगानीका योजना बाहेक पालिका आफैले चै यसको संरक्षण, प्रचार र यसवाट लाभ लिन के गरिरहेको छ ?

शीटप्पु संघीय सरकार मातहत छ । त्यहाँ कर्मचारी संघीय सरकारको छ । उहाँहरुले जंगलको संरक्षण गरिरहनुभएको छ । तर, जनताको संरक्षणका निम्ति केही कार्यक्रम भएको पाएनौँ । हामीले जनताको संरक्षण, हानी-नोक्सानीलाई ध्यान दिएका छौँ । जंगली जनावरले घर भत्काए पाँच हजार रुपैयाँ, मानवीय क्षति भए काजकिरिया खर्च सहयोग गरेका छौँ । तर, अरु अधिकार हामीलाई छैन । 

 

अन्त्यमा, बजेट ल्याउँदै हुनुहन्छ, यसपटक तपाईहरुको प्राथमिकताका योजनाहरु के के छन् ? 

यस पटक हामीले धार्मिक, सांस्कृतिक, शिक्षा, पूर्वाधारका क्षेत्र समेटेर बजेट ल्याउँदैछौँ । तर, हाम्रो बजेट ४५ देखि ४७ करोडको बजेट ल्याउँदैछौँ । बर्थिङ सेन्टर विकास गर्दैछौँ । महामारी रोक्ने नीति, शिक्षामा नयाँ योेजना समेट्नेछौँ । प्रत्येक वडालाई छुने गरी एउटा महत्वपूर्ण गौरवका योजना सञ्चालन गर्छौँ । पञ्चवर्षीय, तीन वर्षे योजना अनुसार हामीले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ ।