close

कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालन (भिडियो खबर)

कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालन (भिडियो खबर)

ADVERTISEMENT

झापा- तराईमा अहिले गर्मी र वर्षा दुवै बढेको छ । योसँगै तराईवासीलाई सबैभन्दा ठूलो चिन्ताले सताउँछ, त्यो हो  सर्पको बिगबिगी । हरेक वर्ष तराईका जिल्लामा सर्पदंशका घटना बढ्ने गर्दछ । सर्पको टोकाईबाट कतिले त अकालमा ज्यान गुमाउने गर्दछन् । तराईका कतिपय भागमा अझै पनि सर्पदंशको उपचार हुने अस्पताल छैन ।

 

भएका अस्पताल पनि निकै पर हुँदा सर्पले टोक्ने वित्तिकै अस्पताल लैजान नै मुस्किल पर्ने गर्दछ । यही समस्यालाई मध्यनजर गर्दै झापाको कचनकवलमा स्थानीय सरकारको सहयोगमा सर्पदंश उपचार केन्द्र निर्माण भएको छ । यो सँगै अब उपरान्त कसैले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था नआउनेमा स्थानीय आशावादी हुँदै गएका छन् । 

 

देशकै होचो भूभाग झापाको कचनकवलमा वर्षाको समयमा सर्पको विगविगी हुने गर्दछ । वर्षेनी दर्जनौ स्थानीयलाई सर्पले टोक्ने गरेको छ । जसलाई मध्यनजर गर्दै स्थानीय तहले समयमा नै उपचार गर्न सक्ने गरी सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । स्थानीयले ३ वर्षदेखि गाउँपालिकामा केन्द्र स्थापनाको माग गर्दै आएका थिए । सोही माग बल्ल पूरा हुँदा उनीहरू खुसी छन् । 

 

गाउँपालिका र स्वास्थ्य शाखाको लामो प्रयास र पहल पश्चात् प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको हो । सर्पले टोके करिव ३५ किलोमिटर टाढा रहेको चारआली सर्पदंश उपचार केन्द्र जानुपर्ने बाध्यता थियो । अब उपचार अभावमा स्थानीयले सर्पको टोकाइबाट ज्यान गुमाउनु नपर्ने जनप्रतिनिधि बताउँछन् । अस्पताल उद्घाटन गर्नु भन्दा पनि निरन्तरता दिने गरी गाउँपालिकाले योजना बनाएर काम गरिरहेको छ ।


गाउँपालिकाले २५ लाख रुपैयाँ लागतमा केन्द्र सञ्चालनमा ल्याएको हो । सर्पले डसेर अकालमा मृत्यु हुने समस्याबाट छुटकारा पाउनुपर्ने गाउँवासीको साझा माग तीनै तहका सरकारको प्रयास र पहल पश्चात् सफल भएको छ । अस्पतालमा आइसीयु र भेन्टिलेटरको सुविधा पनि विस्तारै थपिने जनप्रतिनिधि बताउँछन् । 


यो वर्ष मात्र कचनकवलमा सर्पको टोकाइबाट ३ जनाको ज्यान गइसकेको छ । सर्पले टोकेमा जति सक्दो छिटो अस्पताल पु¥याउनुको विकल्प छैन । तर, भनेको बेला सवारीसाधन नपाउने र पाए पनि टाडा टाढा लैजानुपर्ने भएकाले स्थानीयले यसको पीडा भोगिरहेका थिए । तर, अब कचनकवल बाहेक बाह्रदशी, भद्रपुर, हल्दिवारीलगायत छिमेकी राष्ट्र भारतका नागरिकहरू समेतलाई सेवा प्राप्त गर्न सजिलो भएको छ । गाउँपालिकाले दुई वटा आकस्मिक र चार वटा नर्मल बेड राखेर सर्पदंश उपचार कक्ष तयार गरेको हो ।