close

काठमाडाैंका फलफूल बजारमा व्यापारीकाे मर्जीमा मूल्य निर्धारण, किलाेमा १३० रूपैयाँसम्म अन्तर

काठमाडाैंका फलफूल बजारमा व्यापारीकाे मर्जीमा मूल्य निर्धारण, किलाेमा १३० रूपैयाँसम्म अन्तर

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौंका फलफूल पसलमा अहिले भारतीय स्याउको मूल्य २०० देखि २५० रुपैयाँसम्म छ । यो स्याउ कुलेश्वर फलफूल बजारमा १२० रुपैयाँ प्रतिकिलोमा आइपुग्छ । कुलेश्वरमा यही स्याउको मूल्य १८० देखि १९० रुपैयाँसम्म पनि पर्थ्याे । 

 

त्यतिबेला लगेको स्याउ बिक्री गर्दा खुद्रा व्यापारीले जुन मूल्यमा बेचेका थिए, अहिले भाउ घटेका बेला पनि उही मूल्यमा बेचिरहेका छन् । खुद्रा व्यापार गर्नेको खरिद मूल्य थाहै नपाई उपभोक्ताले खुरुखुरु बढी मूल्य तिरिरहेका छन् । व्यापारीले जति भन्यो, फलफूलको मूल्य उत्ति नै हो । 

 

बजारको स्टल ७ मा तिवारी फ्रुट सेन्टर छ । यस सेन्टरमा स्टल १५ को कृष फ्रुट सेन्टरबाट १३ र १४ असाेजमा क्रमशः ८१ हजार ९०० र ८७ हजार ३६० रुपैयाँ मूल्यका फलफूल पठाइयो । यो विवरण उनीहरूले कागजको पानामा टिपे तर बिल बनाएनन् । 

 

बजारको नन्द फ्रुटले २०७४ सालमा आय कर पाँच हजार रुपैयाँ बुझायो । कसैले माग्दा उसले अहिले देखाउने कागज त्यही हो । बजारमा मुल्य सूची अद्यावधिक छैन । खरिद–बिक्री बिल जारी छैन । एक जनाका नाममा पसल दर्ता गरेर अरूले नै चलाइरहेका छन् ।  

 

त्यहाँ १६२ सटरमा व्यापार चलेको छ । तीमध्ये केही सटर कृषि सामग्री व्यापार लिमिटेडका हुन् भने अन्य निजी क्षेत्रले निर्माण गरेका हुन् । निजी क्षेत्रबाट निर्माण भएका सटरको मासिक भाडा पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म र कृषि सामग्री व्यापार लिमिटेडका सटरको भाडा न्यूनतम ४८ हजारदेखि अधिकतम ६० हजार रुपैयाँसम्म छ । 

 

नेपाल फलफूल थोक व्यवसायी संघका अनुसार त्यस क्षेत्रमा दैनिक करिब ५० लाखदेखि पाँच करोड रुपैयाँसम्मको व्यापार हुन्छ । 

 

महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार कुलेश्वरमा रहेको फलफूल बजारमा अनुगमन गरेपछि देखिएको यो अवस्थाबारे प्रतिक्रिया दिँदै कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले भने, ‘फलफूलको मूल्य निर्धारण गर्ने आधार कागज देखिएन ।

 

दर्ता नवीकरण, खरिद–बिक्री बिल कसैले देखाउन सकेनन् । बिल माग्दा कसैले अडिटरसँग छ भने, कसैले घरमा छ भने । अवस्था सुधारका लागि हामीले समितिमार्फत अनुरोध गरेका छौँ ।’ उनले गल्ती भएको र यसलाई सुधार गर्ने बताए । 

 

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले भने, ‘मूलदेखि सुधारको प्रयास गरौँ । हामी सुधारिन्छौँ ।’ मूल भनेको के हो ? त्योचाहिँ उनले खुलाएनन् । 

 

फलफूलको थोक र खुद्रा पसलमा कति मूल्य फरक छ ? छुट्याउने आधार भएन । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्, ‘व्यापारीले जति भन्यो, उति मूल्य तिर्नुबाहेक उपभोक्तासँग बिकल्प छैन । यहाँ ठूलो ठगी भइरहेको छ ।’