close

बाढीपीडितको कष्टकर दैनिकी: ओछ्यानमै पुग्छ पानी 

बर्खे झरी लागेसँगै सुर्खेतका बाढीपीडितको हाल बेहाल

बाढीपीडितको कष्टकर दैनिकी: ओछ्यानमै पुग्छ पानी 

बर्खे झरी लागेसँगै सुर्खेतका बाढीपीडितको हाल बेहाल

Trulli
ADVERTISEMENT

सुर्खेत- वर्षायाम लागेसँगै देशभर बाढीपहिरोबाट सयौँ घर विस्थापित र दर्जनौँ मानिसको ज्यान गइसकेको छ । बर्खे झरी लागेसँगै सुर्खेतका बाढीपीडितको हाल बेहाल हुन्छ । २९ साउन २०७१ मा बाढीपहिरोका कारण घरबारविहीन भएका थिए । अहिलेसम्म उनीहरूले सरकार भएको अनुभूति गर्न पाएका छैनन् ।

 

बाढीबाट प्रभावितहरू हालसम्म पनि त्रिपालमुनि जिवन गुजार्न विवश छन् । न खानाका लागि खाद्यान्न छ, न त लगाउने एक सरो कपडा नै । राहतस्वरूप दिइएको पालमा बसेका उनीहरूको आँखामा आँसुबाहेक केही छैन । त्रिपाल पनि च्यातिएर प्वाल परिसकेको छ । पानी परेका बेला पानीमै भिज्छन्, पानी बन्द भएपछि ओभानो ठाउँ बस्ने अवस्था छैन । 

 

‘सरकारले पुनर्स्थापनाका लागि दिने भनेको ३ लाख रुपैयाँ लिएर कहाँ जाने ?’ वीरेन्द्रनगर वडा नम्बर ७ कि मैसरा गुरुङ वेदना कहन्छिन्, ‘आफ्नो नाममा कुनै पनि जमिन छैन । कतै गएर जग्गा किनौँ भन्दा यो ३ लाखले १ हात जमिन पनि आउँदैन । घर बनाउने कुरा त परै जाओस् । ८-८ जना परिवारलाई पाल्नुपर्छ ।’ पहिला-पहिला सरकारी तथा गैरसरकारी तवरबाट राहतस्वरूप सहयोग भए पनि अहिले भुल्दै गएको उनले बताइन् ।

 

बन्दाबन्दीले झनै सकस

बाढीपीडितलाई कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले पीडामाथि पीडा थोपरेको छ । दैनिक काम गरेर परिवारको भरथे गर्दै आए पनि निषेधाज्ञाका कारण सबै बन्द हुँदा दैनिक एक छाक मात्र खाना खाएर रात बिताउनुपरेको उनको गुनासो छ ।

 

‘बाढीले घर बगाउँदा १६ वर्षकी थिएँ । पढ्ने, लेख्ने उमेर थियो । स्कुल पनि गइरहेकी थिएँ । खुसीसँग दिन बिताइरहेका बेला परिवारमाथि वज्रपात आइलागेको कुस्मा गुरुङ सुनाउँछिन् । ‘परिवारको आर्थिक अवस्था कमजोर रहेका बेला बाढीका कारण घरवासविहीन हुनुपर्‍यो । स्कुलसमेत छाड्नुपर्‍यो’, उनले विगत कोट्याइन् ।

 

पीडामा परेकालाई नेताले बिर्सिएको उनको गुनासो छ । चुनावका बेला भोट माग्न आए पनि त्यसपछि आफूहरूको अवस्था बुझ्न कोही पनि नआएको उनको भनाइ छ । ‘श्रम गरेर परिवार पाल्थेँ । तर, कोरोनाको निषेधाज्ञाले गरिखान पनि दिएन । अब त मरौँजस्तो लाग्छ । परिवारको मुख हेरेर बाँच्नुपरेको छ’, उनले भनिन् ।


यस्तै, पीडामा छन् हरिसिंह ठकुरी । उनले पहिला ऐलानी जग्गामै घर बनाएर बस्दै आएका थिए । त्यही घर पनि बाढीले बगाएर लगिदियो । त्यसपछि बेघरबार भए ।  पेसाले गाडीचाक उनी निषेधाज्ञाअघि दिनभरि गाडी चलाएर साँझ-बिहानको छाक टार्थे ।

 

तर, कोरोना महामारीका कारण उनको पेसा धरापमा परेको छ । आम्दानीको अन्य स्रोत केही पनि नहुँदा दैनिक गुजारा टार्न मुस्किल भएको उनी सुनाउँछन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आश्रय लिएर बसेका बाढीपीडितले बिजुलीसमेत प्रयोग गर्न पाएका छैनन् । खानेपानीको समस्या पनि उस्तै छ । बाढी आएको ७ वर्ष पुगे पनि उनीहरूको व्यवस्थापन हुन सकेको छैन ।