close

खरको छानो छैन, सबैतिर बिजुली बलेको छ (भिडियो वार्ता)

खरको छानो छैन, सबैतिर बिजुली बलेको छ (भिडियो वार्ता)

ADVERTISEMENT

पालिकाखबर बुलेटिनको पालिका टकमा बोल्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले कोरोना कहरकै बीच उल्लेख्य काम गरेको बताए । उनलाई हामीले पालिकाको विकास निर्माण, बजेट, स्वास्थ्य, पूर्वाधारमा पालिकाको सोचलागायतका विषयमा जिज्ञासा राखेका छौं : 

 

कोभिड-१९ बाट रैनादेवी छहरा समेत अछुतो रहन सकेन । तर, समयमै कोभिड नियन्त्रण गर्न गाउँपालिका सफल नै भयो ।  कसरी सम्भव भयो, अध्यक्ष ज्यू ?

कोभिड १९ बाट यो गाउँपालिका पनि अछुतो रहेन । भौगोलिक विकटता भएको यो पालिकामा ४ सय ७१ जनालाई कोरोना देखियो । त्यसमध्ये १ सय ३७ जनाले होम आइसोलेसनमा बसेर कोरोना जिते । १५ जनाको मृत्यु भयो । हामीले ८ शय्याको अक्सिजनसहितको अस्पताल बनायौँ । विदेशबाट आएकालाई होम आइसोलेसनमा राख्यौँ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई गाउँगाउँमा पुर्‍याएर उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने काम गर्‍यौँ । 

 

गाउँपालिकाले आगामी आर्थिक वर्ष ७८/७९ को लागि नीति तथा कार्यक्रम समेत निर्माण गर्दै छ । तपाईंको कार्यकालको यो बजेट अन्तिम पनि हो । के कस्ता कार्यक्रम समेट्दै हुनुहुन्छ बजेटमा ?

आर्थिक वर्ष ७८/७९ का लागि नीति तथा कार्यक्रमको तयारीमा छौँ । कोभिडलाई मध्यनजर गर्दै बजेट बनाउँदा स्वास्थ्यमा जोड दिएका छौँ । महामारी नियन्त्रण गर्न आवश्यक कदम चाल्न कार्यक्रम बनाउनेछौँ । हाम्रा लागि कृषि नै विकासको माध्यम भएकाले हामीले कृषिमा जोड दिएका छौँ । त्यसपछि मात्रै पूर्वाधारमा जोड दिने छौँ । 

 

स्थानीय तहको निर्वाचनको घोषणा पत्रमा ‘उज्यालो रैनादेवी’ बनाउने उद्घोष गर्नुभएको थियो । छहराको दुर्गम क्षेत्र जुठा र बल्ढेङ्गजस्ता ठाउँमा विजुली पुर्‍याउनुभयो  त ? 

हो, गाउँपालिकामा ८ वडा छन् । पाँच वडामा मात्रै बिजुली थियो । तीन वडामा बिजुली बत्ती पुगेको थिएन । मैले निर्वाचित भएसँगै ‘उज्यालो रैनादेवी’ बनाउने उद्घोष गरेको थिएँ । सबैमा अहिले बिजुली बत्ती छ । अपवाद रहेका ठाउँमा प्राविधिक समस्या देखिएपनि यो वर्ष सबै वडामा बिजुली बत्ती बल्नेछ ।

 

गाउँपालिकाले खरको छानो हटाएर पालिकालाई फुसको छानो रहित गाउँपालिका बनाउने अभियानमा समेत निरन्तर जुटेको छ । कहिलेसम्म रैनादेवी फुसको छानोरहित गाउँपालिका घोषणा हुन्छ ? 

यहाँ २ हजार घरधुरीमा खरको छानो थियो । आगामी आर्थिक वर्षमा यसलाई हामीले अन्तिम स्वरुप दिने नीति बनाएका छौँ । फुसको छानोरहित गाउँपालिका छिट्टै घोषणा हुन्छ । 

 

गाउँपालिकाको अधिकांश भूभाग भौगोलिक हिसाबले दुर्गम क्षेत्रमै पर्छ, स्वास्थ्य चौकी सम्म हिँडेर आउन समेत घण्टाैँ लाग्ने अवस्था छ । आफ्नै गाउँटोलमा स्वास्थ्य सेवा दिन स्वास्थ्य ईकाई विस्तार कसरी गरिरहनुभएको छ त ? 

सुगम भएका सात वटामा स्वास्थ्य चौकी स्थापना भएका छन् । बाँकीमा यस वर्ष नै स्थापना हुन्छ ।  

 

गाउँपालिकाले आफ्नो गौरवको योजना अन्तर्गत सालझण्डी-सुन्दरे ढुङ्गगा सडक कालोपत्रे समेत गर्दै छ । यस्तै गरि भौतिक पुर्वाधार क्षेत्रमा रैनादेवीले अरु के विकास गरेको छ ? 

सालझण्डी सुन्दरे ढुङ्गगा सडक कालोपत्रे गर्न टेण्डर गरेर अघि बढेको छ । कटौले पानी खेलमैदानलाई रंगशालाका रूपमा विकास गरेका छौँ । तिलकथान पार्क निर्माण अघि बढीरहेको छ । गाउँपालिकाको प्रशासकीय भवन यसै वर्ष तयारी हुने अवस्थामा छ । गाउँपालिकाको बजेटले नै यो भवन बन्दैछ । वडा नम्बर ५ को वडा भवनमा जाने तीन किलोमिटर बाटो ढलान गर्दैछौँ। यस्तै, सालझण्डी सुन्दरे ढुङ्गगा छहरा सरदेवा हुँदै गुल्मीको सातमुरेसम्म जोड्ने गरी गौरवको सडक योजना बनाउँदैछौँ ।