close

वाढीले वगाएका घरलाई २० हजार, बाख्रा मरे ५ हजार !

वाढीले वगाएका घरलाई २० हजार, बाख्रा मरे ५ हजार !

Trulli
ADVERTISEMENT

रुपन्देही - तिलोत्तमा नगरपालिकाले गत ९ असोज  राती आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई राहत दिन मापदण्ड तय गरेको छ । स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।


मापदण्डअनुसार संकलित लगतको आधारमा केही दिनभित्रै राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । भारी वर्षासँगै आएको बाढी तथा डुबानले ११, ८, ७, १, १२ लगायतका वडा सबैभन्दा बढी प्रभावित भएका छन् ।


सुखौरा तथा रोहिणी नदी र सिँचाइ नहर आसपासका बस्ती बाढी तथा डुबानबाट प्रभावित भएका हुन् । विपद् व्यस्थापन समिति बैठकले कार्यपालिका सदस्य राधा शाही संयोजक,  नगरसभा सदस्यद्वय नेत्र खनाल, यमबहादुर थापा तथा इन्जिनियर गिरीराज डुम्रे र सब–इन्जिनियर कमल खड्का सदस्य रहेको क्षति लगत संकलन उपसमिति गठन गरेको थियो ।


उपसमितिले बुझाएको प्रतिवेदनको आधारमा विपद् व्यवस्थापन समितिले राहत वितरण मापदण्ड कार्यपालिका बैठकमा पेस गरेको समिति संयोजक एवं नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।


मापदण्डअनुसार लत्ताकपडा, भाँडावर्तन बगाएका पीडित परिवारलाई ७ हजार, घर–गोठ आंशिक क्षति पुगेकालाई १० हजार र घर पूर्णरुपमा क्षति भएकाले २० हजार राहत पाउनेछन् । 


यस्तै, गाईंभैसी मरेकोमा प्रतिगोटा ५  हजार, बंगुर, बाख्रा मरेकामा प्रतिगोटा ५ सय, धानबाली पूर्ण नष्ट भएकोमा प्रतिबिघा २० हजार रुपैयाँ राहत पाउनेछन् । यसैगरी कुखुरा–हाँस ५० गोटासम्म ३ हजार, साढे २ सय  गोटासम्म ५ हजार, ५ सय गोटासम्म ७ हजार रुपैयाँ राहत दिने मापदण्ड निर्धारण भएको छ ।


माछा पोखरीमा पुगेको क्षतिमा प्रतिपोखरी ५ हजार राहत दिनेगरी मापदण्ड निर्धारण भएको समिति संयोजक श्रीले बताए ।


विभिन्न उद्योगधन्दामा पुगेको क्षतिमा पनि राहत दिइनेछ । नदी कटान नियन्त्रण, व्यवस्थापन र अल्प तथा दीर्घकालीन रुपमा समस्या समाधानका लागि नगरपालिकाले प्रदेश तथा संघीय सरकारसँग माग गर्ने भएको छ ।


असोज ९ को बाढीबाट समस्यामा परेका नगरबासीको उद्धारका लागि मध्यरातमै नगरप्रमुख वासुदेव घिमिरेलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी घटनास्थलमा खटिएका थिए ।