close

भक्तपुरको दसौँ नगरसभा : कोरोनाको तेस्रो लहर छेक्न बालबालिका लक्षित आइसियु र भेन्टिलेटर

भक्तपुरको दसौँ नगरसभा : कोरोनाको तेस्रो लहर छेक्न बालबालिका लक्षित आइसियु र भेन्टिलेटर

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाको दसौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले सम्भावित तेस्रो चरणको कोराना महामारीलाई लक्षित गरी भक्तपुर नगरपालिकामा  १८ वर्षमुनिका बालबालिकाका लागि आइसियु र भेन्टिलेटर सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

 

तेस्रो लहरको कोरोनाले बालबालिकालाई बढी पिरोल्ने स्वास्थ्यविज्ञको चेतावनी रहेकाले पालिकाले यस्तो व्यवस्था गर्न लागेको हो । नगरपालिकाले कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावनालाई ध्यानमा राखी छुट्टै इकाइ बन्दोबस्त गरी कोभिड युनिटलाई निरन्तर तयारी अवस्थामा राखिने जनाएको छ ।

 

नगरप्रमुख सुनील प्रजापतिले नगरपालिकाले जोखिममा पर्न सक्ने १८ वर्षमुनिका बालबालिकाका लागिसमेत आइसियु र भेन्टिलेटरको व्यवस्था गर्ने तयारी थालेको दिए । नीति तथा कार्यक्रममा नगरपालिकाले च्याम्हासिंहमा निर्माण गरिरहेको ख्वप अस्पताल भवन निर्माण सम्पन्न गरी आधुनिक स्वास्थ्य उपकरणसहित यसै वर्षदेखि सञ्चालनमा ल्याइने निर्णय नगरसभाले गरेको छ । 

 

पालिकाले नगरभित्रका सबै स्थानीयलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ने भएको छ । नगरप्रमुख प्रजापतिका अनुसार कोभिड रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै संघ र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरबासीका लागि खोपको व्यवस्था मिलाइनेछ ।

 

अस्पतालका लागि चाहिने स्वास्थ्य उपकरण  विपद् व्यवस्थापन कोषमा आएको सहयोगबाट  खरिद गरिने उनले बताए ।  ख्वप अस्पतालमा उत्पादित अक्सिजन नगरबासीका लागि घरघरमा वितरण गर्ने उनको भनाइ छ ।