close

भद्रपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

भद्रपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

Trulli
ADVERTISEMENT

झापा- झापाको भद्रपुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई उत्पादनमूलक क्षेत्रमा लगाएको छ । नगरपालिकाको वडा नम्बर २ मा पालिका स्वामित्वको जग्गामा बृहत कृषि परियोजना सञ्चालन गर्ने उद्देश्यले उक्त जमिनलाई व्यवस्थित गर्न श्रमिक परिचालन गरिएको हो । 

 

वर्षौंदेखि उपयोगविहीन रहेको २२ कठ्ठा जमिनमा खनजोत गरेर कृषि प्रयोजनका लागि उपयुक्त बनाइएको छ । हाल प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई कंक्रिट घेराबार र टनेल निर्माणमा खटाइएको कार्यक्रमका संयोजक टीकाराम पाण्डेले बताए ।  उक्त जमिन नगरपालिकाको वडा नम्बर १ र २ को सिमानामा पर्छ ।

 

सो जमिनमा व्यावसायिक तरकारी तथा फलफूल खेती गरिने भएको छ । परियोजनामार्फत अहिले परिचालन गरिएका श्रमिकलाई नै स्वरोजगार बनाउने योजना नगरपालिकाको छ ।


भविष्यमा कृषिको अध्ययन केन्द्रसमेत सञ्चालन गर्ने गरी विकास गर्न लागिएको कृषि पाठशालामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी १५ श्रमिकलाई सहभागी गराइनेछ । उनीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ बिउ पुँजीको रूपमा जम्मा गर्नेछन् ।

 

उनीहरूले उत्पादन गरेका तरकारी तथा फलफूलको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । उनले भने, ‘भविष्यमा कृषिको अध्ययन केन्द्रसमेत सञ्चालन गर्ने उद्देश्यले सुरु भएको यो कामबाट उत्पादित सामग्रीको व्यवस्थापनमा नगरले सहयोग गर्नेछ ।’ 

 

भद्रपुरमा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८४ जनाले सय दिने रोजगारी पाएका छन् । श्रमिकले दैनिक ५१७ रुपैयाँ ज्याला पाउँछन् ।

 

कार्यक्रम उपलब्धिमूलक देखिएपछि यसलाई व्यवस्थित र नगरभित्र थप रोजगारी सिर्जना गर्न आव २०७८/०७९ का लागि भद्रपुरले आफ्नो नीति तथा कार्यक्रममा समेटेर नगरसभामा पेस गर्न लागेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

नगरपालिकाले श्रमिकलाई वडा कार्यालयसँगको समन्वयमा नगरका ठोस योजनामा समेत परिचालन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा दर्जनौँ सडक निर्माण तथा स्तरोन्नतिमा पनि श्रमिक परिचालन गरेको छ ।