close

जब बाबुको चितामै जले छोरा‍‍‍‍...

जब बाबुको चितामै जले छोरा‍‍‍‍...

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुरामा आफ्नो बुबाको शव जलाएर फर्किएका छोराको पनि सोही चितामा दाहसंस्कार भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ५ भावर गाउँका बुबा र छोराको एउटै चितामा दाहसंस्कार भएको हो ।

 

भावर गाउँका ७५ वर्षीय भक्तबहादुर रोकाको ८ असारमा निधन भयो । रोजगारीको सिलसिलामा भारतमा रहेका उनका छोराहरूलाई मृत्युको खबर पुग्यो ।


मृतकका २ छोरामध्ये कान्छो छोरा आउन नसक्ने भएपछि भारतको पिथौडागढमा परिवारसहित बस्दै आएका उनका जेठा छोरा शेरबहादुर सपरिवार बुबाको काजकिरिया गर्न गाउँ आए । 

 

भारतमा मजदुरी गरेर परिवार पालिरहेका रोकालाई गाउँसम्म आउन पैसा थिएन । जसोतसो गरी उनीहरू कञ्चनपुरको ब्रह्मदेव हुँदै नेपाल आए ।


उनी घर पुग्दा बुबाको चितामा आगो दन्किँदै थियो । बुबाको चितामा आगो बलिरहेको देखेर उनी टोलाएर हेरिरहे । शोकमा डुबेका उनी केही बेरसम्म कसैसँग बोलेनन् । 

 

भारतबाट आएको हुँदा कोरोना जोखिमका कारण गाउँलेले उनलाई छुने प्रयाससमेत गरेनन् । 

 

हेर्दाहेर्दै बुबाको शरीर खरानीमा परिणत भयो । हिन्दु परम्पराअनुसार उनले आफ्नो बुबाको अन्तिम संस्कार गरे । परम्पराअनुसार किरिया बस्दा गर्नुपर्ने सबै काम सकेपछि उनको शरीरमा सामान्य सेतो कपडा मात्र रह्यो ।


भक्तबहादुरको अन्तिम दाहसंस्कार सकिएपछि मलामी घर फर्किन थाले । केही मलामी गएका आफन्त बाटो लागिसकेका थिए भने केही जाँदै थिए । काजकिरियाका लागि तयार भएका शेरबहादुर आफन्तसँगै घरतिर लागे ।

 

‘काजकिरिया कति दिनसम्म गर्नुहुन्छ रु’ शेरबहादुरलाई उनका आफन्तले सोधे । ‘११ दिनसम्म गर्छु । म कमजोर छु । धेरै दिन बस्न सक्दिनँ’, शेरबहादुरले जवाफ फर्काए ।  अलि अगाडि बढ्दै गर्दा उनी अकस्मात ढले । हेर्दा रोगी र कमजोर देखिने शेरबहादुरलाई के भयो भनेर समाउन जाँदा उनले आफन्तकै अँगालोमा प्राण त्यागे ।

 

यस्तो घटना देखेपछि आफन्तमा रुवावासी चल्यो । बूढापाकाहरू अहिलेसम्म यस्तो घटना कहिल्यै नदेखेको बताउँछन् । परिवारका पीडामाथि पीडा थपिएको छ ।

 

बुबासँगै मेरो पनि मृत्यु हुन्छ !

आश्चर्य के भने शेरबहादुरले आफ्नी श्रीमतीसँग बुबासँगै आफ्नो पनि मत्यु हुने बताएका रहेछन् । रोका परिवारमा काजकिरिया गर्न आएका छोराको नै मृत्यु भएपछि कसरी परम्पराअनुसार काजकिरिया गर्ने भन्ने अन्योल छ । 

 

भारतको पिथौडागढमा मजदुरी काम गरेर २ छोरा पढाइरहेका उनी पहिलेदेखि नै प्रेसर र जन्डिसका बिरामी रहेको परिवार स्रोत बताउँछ । आर्थिक अवस्था कमजोर हुँदा उनले उपचार गर्न सकेका थिएनन् ।

 

उनका २ छोराले भारतको पिथौरागढमा कक्षा १० मा पढ्दै आएका छन् । ‘बुबाले मजदुरी गरेर कमाएको पैसाले हामी २ भाइ स्कुल पढ्दै थियौँ । बुबा पनि बित्नुभयो । अब कसरी पढ्ने रु’ कान्छा छोरा आशीषले भने ।


७५ वर्षीय बुबा र ४५ वर्षीय छोरा दुवैको एकै दिन अन्तिम सस्ंकार भएको छ । दुखद घटना सुनेपछि पीडितको घर पुगेका वडाध्यक्ष प्रकाशसिंह बोहराले आर्थिक सहयोगका लागि सक्दो पहल गर्ने बताए ।

 

‘अप्रिय घट्नाले मन दुखेको छ । पालिकाको गाउँसभामा यो दुखद घटनाको विषयलाई उठान गर्छु । पालिकाबाट हुने सहयोगका लागि पहल गर्छु,’ उनले भने ।

 

इलाका प्रहरी कार्यालय जोगबुडाले घटनाबारे जानकारी आएको तर दुःखमा रहेका बेला हृदयघात भएर निधन भएको हुन सक्ने भन्दै पोस्टमार्टम नगरिएको जनाएको छ ।