close

प्रधानमन्त्रीले बिर्सिएको 'गौरव भिलेज' (भिडियो खबर)

प्रधानमन्त्रीले बिर्सिएको 'गौरव भिलेज' (भिडियो खबर)

ADVERTISEMENT

झापा- झापाको बिर्तामोड नगरपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १८ गते प्रदेश गौरव भिलेज उद्घाटन गरे । आफ्नो कार्यकालमा उद्घाटन गरिएको बिगुल फुके । तर, यि बस्तीका नागरिकले के पाए ? प्रधानमन्त्रीले फर्केर पनि यि जस्तै कयौँ उद्घाटन गरिएका बस्ती र त्यहाँका नागरिकको अवस्था बुझेनन् ।

 

निषेधाज्ञाका कारण बस्तीमा बस्नेहरु भोकभोकै परेपछि वडाको पहलमा सहयोगी हातहरूबाट स्थानीयलाई खाद्यान्न सहयोग गरिएको छ । एक होइन, दुई होइन ३५ परिवारलाई  खाद्यान्न सहयोग गरिएको छ याे बस्तीमा।  हुन त यो काम राज्यको हो ।

 

राज्य आफैँले रकम छुट्याएर आफ्ना नागरिकलाई राहत दिनुपर्ने हो । तर, विभिन्न संघ संस्था र वडाको पहलमा नै यसरी बिहान र बेलुकाको छाक टार्न चामल वितरण गरिएको हो । दैनिक ज्याला मजदुरी गरेर खाने परिवारका सदस्य कोरोनाले गर्दा घरमै बस्न बाध्य छन् । प्रधानमन्त्रीले त यो वस्तीको मात्र उद्घाटन गरे । उद्घाटन गरिएका वस्ती र त्यहाँका नागरिकको अवस्था बुझेनन् । बरु स्थानीयले उनीहरुलाई राहतको खाँचो रहेको बुझेर सहयोगको भावना भएकाले यसरी नै खाद्यान्न सहयोग गर्ने गरेका छन् । राहत पाएपछि स्थानीय समेत खुसी छन् । 


यो वस्ती बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ । र, खासमा यो सहयोग वडाले गरेको पनि होइन । उसँग त विकास निर्माण लगायतका क्षेत्रमा रकम खर्च गरिएको हुँदा नागरिकलाई राहत वितरण गर्नका लागि अन्य रकम नै छैन । तर, पनि व्यक्तिगत खर्चबाट, साथीभाइ र संघसंस्थाको सहयोगमा यसरी खाद्यान्न सहयोग गरिएको हो ।

 

वडाध्यक्ष नै भन्छन् प्रधानमन्त्रीले उद्घाटन गरेर छोडिएको वस्तीलाई हामीले पनि त्यतिकै छोड्नु त भएन नि ? युवाहरू पनि पैसा हुनेले नहुनेलाई सहयोग गर्ने बेला नै यही हो भन्दै श्रमिक र विपन्नलाई सहयोग गरिरहेका छन् । झापाको यो ३५ घर रहेको वस्ती पहिलो होइन । जुनसुकै प्रधानमन्त्री वा मन्त्री आएर केही समयका लागि ठूला भाषण गरेर गएपनि अन्तिममा नागरिकले पाउने दुःख नै हो । उद्घाटन हुनझेलसम्म आफ्ना नागरिक सम्झिने र पछि मतलब नगर्ने पुरानै राजनीतिक परिपाटी हो ।

 

प्रधानमन्त्रीले त आफैले जिम्मा लिएर पालनपोषण गर्ने र पढाउने वाचा गरेका मुगुका बालबालिकालाई त बिर्सिसके भने यो त वस्ती उद्घाटन गरिएको थियो । त्यसैले यहाँका विपन्नका लागि सोच्ने भनेकै जनप्रतिनिधिले हो । जनप्रतिनिधिले नै यसरी विपन्नलाई यो महामारीको समयमा सहयोग गर्नुपर्छ । अनि मात्रै यहाँका नागरिकले स्थानीय सरकार रहेको महसुस गर्न पाउँछन् ।