close

जुम्लाका ८ मध्ये ६ स्थानीय तहले सार्वजनिक गरे नीति तथा कार्यक्रम ३ पालिकाले मात्र ल्याए बजेट

जुम्लाका ८ मध्ये ६ स्थानीय तहले सार्वजनिक गरे नीति तथा कार्यक्रम ३ पालिकाले मात्र ल्याए बजेट

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाका ८ मध्ये ६ स्थानीय तहले मात्रै तोकिएकै दिन १० असारमा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अधिकांश स्थानीय तहले विगतजस्तो नीति कार्यक्रमसँगै बजेट भने ल्याएनन् । 

 

चन्दननाथ नगरपालिका, तातोपानी, तिला, सिंजा, पातारासी र गुठीचौर गाउँपालिकाले मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तीमध्ये गुठीचौर, पातारासी र सिंजा गाउँपालिकाले बजेट प्रस्तुत गरे ।

 

गुठीचौर गाउँपालिकाले ३२ करोड ९ लाख ४२ हजार रुपैयाँ र सिंजा गाउँपालिकाले ३३ करोड बजेट सार्वजनिक गरेका छन् । पातारासी गाउँपालिकाले ४१ करोड १२ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यहाँका ३ स्थानीय तहले १ अर्ब ६ करोड बढीको बजेट प्रस्तुत गरेका हुन् ।


कनकासुन्दरी र हिमा गाउँपालिका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छैनन् ।  नीति तथा कार्यक्रम प्रस्तुत गरेका जुम्लाका ६ स्थानीय तहले भने कृषि, स्वास्थ्य, पर्यटन तथा रोजगारीलाई प्राथमिकता दिएका छन् ।


तातोपानी गाउँपालिकाले नवौँ गाउँसभामा पालिकाभरका नागरिकको स्वास्थ्य बिमामा २ हजार रुपैयाँ सहयोग गर्ने, कृषिमा अनुदान दिने, शिक्षक, स्वास्थ्यकर्मीलाई सम्मान गर्ने, कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउने, कोरोनाले रोजगारी गुमाएका युवालाई रोजगारी दिने विषय प्राथमिकतामा राखिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।


उनका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक भएपनि आगामी आर्थिक वर्षको बजेट भने २२ असारमा आउने भएको छ । त्यतिबेलासम्म कार्यपालिका सदस्यलाई नीति तथा कार्यक्रम अध्ययन गरी सुझाव दिन भनिएको छ । त्यस्तै, चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।


उनले भनिन्, ‘एमबिबिएस पढ्नेलाई विशेष छात्रवृत्ति दिने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, एक महिला, विपन्न नागरिकलाई उद्यमी बनाउने, सहुलियत कर्जा दिने विषय प्राथमिकतामा राखेका छौँ ।’ नीति तथा कार्यक्रम पारित भएको र बजेट यही साताभित्र ल्याउने निर्णय भएको सेजुवालले जानकारी दिइन् । तर, उपप्रमुख अप्सरादेवी न्यौपानेले भने नीति तथा कार्यक्रम र बजेट केही पनि प्रस्तुत नभएको दाबी गरिन् ।

 

सिंजा गाउँपालिकाले पनि कृषि, पर्यटन तथा रोजगारीलाई प्राथमिकता दिएर नीति, कार्यक्रम तथा बजेट ल्याएको अध्यक्ष देवलसिंह रावलले बताए । उनका अनुसार सिंजाले आगामी आव २०७८÷७९ का लागि करिब ३३ करोड रुपैयाँ बढीको बजेट विनियोजन गरेको छ ।


पातारासी गाउँपालिकाले पनि पर्यटन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ४१ करोड १२ लाख ६६ हजार रुपैयाँको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताए ।


त्यस्तै, तिला गाउँपालिकाले पनि कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष रतननाथ योगीले जानकारी दिए ।


विगतजस्तो जुम्लाका स्थानीय तहले नीति, कार्यक्रम र बजेट सँगै ल्याएका छैनन् । १० असारभित्र अनिवार्य स्थानीय तहको नीति, कार्यक्रम र बजेट आउनुपर्ने कानुनी प्रावधान भए पनि प्राविधिक समस्या भएको भन्दै स्थानीय तहले ढिलासुस्ती गरेका हुन् ।