close

भक्तपुरका स्थानीय तहको बजेट: शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

भक्तपुरका स्थानीय तहको बजेट: शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरका ४ मध्ये ३ वटा स्थानीयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका छन् । बजेट सार्वजनिक बाँकी रहेको मध्यपुर थिमि नगरपालिकाले आगामी २४ असारमा सार्वजनिक गर्ने बताएको छ । तर, नगरपालिकाको पाँचौँ नगरसभाबाट आगामी वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

 

भक्तपुरका ४ वटै स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन तथा भौतिक विकासलाई प्राथमिकमा राखी बजेट सार्वजनिक गरेका हुन् । कोरोना भाइरसको चपेटामा परेका स्थानीय तहले नगरबासीलाई खोपसँगै अस्पतालको सेवा विस्तारलाई पनि जोड दिएका छन् ।


विद्यालय सिकाइको गुणस्तरीयता बढाउने, स्थानीयलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिने, सडक विस्तारमा तीव्रता दिने र गौरवका आयोजना सञ्चालनमा ल्याउने प्रतिबद्धता स्थानीय तहले व्यक्त गरेका छन् ।

 

पर्यटन प्रवर्द्धनका लागि स्थानीय संस्कृतिको विकास गर्ने, सम्पदा पुनर्निर्माणमा जोड दिने, पर्यटकीय क्षेत्रको विकास गर्ने र सडक विस्तार गर्ने योजना स्थानीय तहको छ । सोहीअनुरूप काम गर्ने विश्वास जनप्रतिनिधिले दिलाएका छन् ।

 

कोरोना भाइरसका कारण अघिल्लो वर्षको योजना कार्यान्वयन गर्न नसकेको अवस्थामा यो वर्ष वडा स्तरबाटै पूरा गर्ने लक्ष्य स्थानीय तहको छ । 

 

कुन पालिकाको कति बजेट 

चाँगुनारायण नगरपालिका

चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १ अर्ब ९० करोड ६४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख बिना बास्तोलाले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरिन् ।


बजेटमा पुँजीगत खर्चतर्फ १ अर्ब २४ करोड २ लाख ७४ हजार अर्थात् ६५ दशमलव ५ प्रतिशत र चालू खर्चतर्फ ६६ करोड ६२ लाख ९ हजार रुपैयाँ अर्थात् ३४ दशमलव शून्य ५ प्रतिशत रकम विनियोजन गरिएको छ ।


नगरपालिकाको आन्तरिक आयतर्फ २८ करोड ८४ लाख ५ हजार रुपैयाँ संकलन हुने प्रक्षेपण गरेको छ भने व्यवसाय रजिस्ट्रेसन, नवीकरण, सिफारिस, माटो पानी ठेक्का, घर नक्सा पास दस्तुरबाट सबैभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ ।

 

सूर्यविनायक नगरपालिका

सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/०७९ को आयव्यय सार्वजनिक गरेकी हुन् ।


यो रकम अघिल्लो आवको तुलनामा ९ करोड रुपैयाँले बढी हो । नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ४८ करोड रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा कोरोना महामारीबाट स्थानीयलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

 

कुल बजेटमध्ये चालूतर्फ ५१ करोड २२ लाख, पुँजीगततर्फ ७३ करोड ९८ लाख ४७ हजार र ससर्त कार्यक्रमतर्फ ३२ करोड ४१ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् । आगामी आर्थिक वर्ष नगरपालिकाले आन्तरिक राजस्व परिचालनबाट १८ करोड १८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।


त्यसैगरी घरजग्गा रजिस्ट्रेशनबाट २४ करोड आम्दानी हुने अनुमान गरिएको छ भने चालू आर्थिक वर्षको राजस्व बचतबाट २२ करोड ५६ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य छ । त्यस्तै, २३ करोड ४० लाख ८० हजार रुपैयाँ संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।

 

भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाको अनुमानित बजेट १ अर्ब ९३ करोड २० लाख बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आफ्नै स्रोत, सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकमका साथै ऋण सापटी गरी बजेटको आयव्यय सार्वजनिक गरेको हो ।


विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार (५७.०५ प्रतिशत) र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैयाँ (४२.९४ प्रतिशत) विनियोजन गरेको छ ।