close

छात्रवृत्तिमा डाक्टरी पढाउँदै जुम्लाका स्थानीय तह 

छात्रवृत्तिमा डाक्टरी पढाउँदै जुम्लाका स्थानीय तह 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाले स्वास्थ्य र सामाजिक विकासलाई प्राथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

 

हालै चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबिबिएस अध्ययन अध्यापनको अनुमति दिएसँगै जुम्लाका स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस अध्ययन गराउने नीति तथा कार्यक्रम समेटेका हुन् । 

 

नगरप्रमुख कान्तिका सेजुवालका अनुसार एमबिबिएस पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराउने निर्णय गाउँपालिकाले सार्वजनिक गरेको हो । उनले भनिन्, ‘विपन्न, मिहिनेती जेहनेदार १ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौँ ।’

 

नीति तथा कार्यक्रम पारित भएको र बजेट यसै साताभित्र ल्याउने तयारी भइरहेको सेजुवालले जानकारी दिइन् । तर, नगरपालिकाकै उपप्रमुख अप्सरादेवी न्यौपानेले भने नीति तथा कार्यक्रम र बजेट केही पनि प्रस्तुत नभएको दाबी गरिन् ।

 

यस्तै, पातारासी गाउँपालिकाले १ जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले सातौँ गाउँसभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 

 

यहाँका ८ मध्ये २ स्थानीय तह चन्दननाथ र पातारासीले छानिएका विद्यार्थीलाई छात्रबृत्तिमा एमबिबिएस पढाउने नीति तथा कार्यक्रम समेटेका छन् । पातारासीमा अहिलेसम्म एमबिबिएस अध्ययन गरेका कोही नभएकाले प्रोत्साहन गर्न यस्तो नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए ।