close

प्रधानमन्त्रीको गृहजिल्लाका पालिकाले कस्तो ल्याए बजेट? यस्तो छ हिसाब

प्रधानमन्त्रीको गृहजिल्लाका पालिकाले कस्तो ल्याए बजेट? यस्तो छ हिसाब

Trulli
ADVERTISEMENT

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लाका स्थानीय तहले स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/०७९ को बजेट र नीति तथा कार्यक्रम तय गरेका छन् ।

 

भद्रपुर नगरपालिकाको कस्तो ? 

प्रदेश १ कै पहिलो बालमैत्री स्थानीय तह भद्रपुर नगरपालिकाले ८३ करोड १३ लाख दुई हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । नगरले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाको दीगोपन एवम् स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, पर्यटन, उद्योग, लापोन्मुख आदिवासी जनजातिको संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

 

नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले सो बजेट प्रस्तुत गरेकी हुन् । नगरप्रमुख जीवनकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगरसभामा प्रस्तुत बजेट अनुसार पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार, आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख ३० हजार र वातावरण तथा विपद व्यवस्थापन कार्यक्रमतर्फ १ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

बजेट अनुसार नगरपालिकाका गौरवका आयोजनाहरू र प्रदेशकै पहिलो साइन्ससिटी, कमलधाम पर्यटकीयस्थलजस्ता महत्वाकांक्षी योजनाहरूलाई विशेष प्राथमिकता दिइएको छ । नगरसभामा नगरप्रमुख श्रेष्ठले नगरपालिकामा जनप्रतिनिधिले नेतृत्व सम्हालेपछिका चार वर्षमा भएका उपलब्धि आफ्नो नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरेका थिए ।

 

बिर्तामोडको १ अर्ब

बिर्तामोड नगरपालिकाले १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैयाँको बजेट प्रस्ताव गरेको छ । उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त बजेट प्रस्ताव गरेकी हुन् । 


नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा नगरसभामा प्रस्तुत बजेटमा चालूखर्च तर्फ ४४ करोड ३५ लाख १४ हजार र पूँजीगत खर्चतर्फ ६६ करोड ४२ लाख ६५ हजार ५ सय हुने अनुमान गरिएको छ । 

 

सामाजिक सुरक्षा वापत २० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक स्रोतबाट १५ करोड, घरजग्गा रजिष्ट्रेशन बाँडफाँडबाट १० करोड, लागत सहभागितामा १ करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अन्तरगत प्राप्त हुने २२ करोड ४९ लाख अनुमान गरिएको छ ।

 

यसरी नै राजश्व बाँडफाँडबाट ११ करोड ९ लाख ४६ हजार, सशर्त अनुदान ४२ करोड ८४ लाख, विशेष अनुदान १ करोड ९९ लाख, समपुरक अनुदान २ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

 

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट वित्तीय समानीकरण अन्तरगत १ करोड ३३ लाख ७२ हजार प्राप्त हुने अनुमान गरेको छ । यसरी नै राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ११ हजार ५ सय रुपैयाँ, सशर्त अनुदान ५० हजार, समपुरक अनुदान १ करोड र सामाजिक सुरक्षा वापत २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

 

नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख पवित्रा महतरा प्रसाईंले खर्चतर्फ पूर्वाधार विकासको क्षेत्रमा ५६ करोड १४ लाख ५० हजार विनियोजन गरेको जानकारी दिइन् । यसैगरी, आर्थिक विकासमा २८ करोड २७ लाख, सामाजिक विकासमा ३८ करोड २ लाख १४ हजार ५ सय, वातावरण तथा विपद व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकासका लागि ३२ करोड ९८ लाख १५ शजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

दमकले वढाएन कर 
 
दमक नगरपालिकाले १ अर्ब ३८ करोड ४५ लाख ९९ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । चालु खर्च तर्फ रु ७० करोड ५९ लाख ९९ हजार र पुँजिगत खर्च तर्फ रु ६७ करोड ८६ लाख बजेट प्रस्ताव गरिएको छ ।

 

उपप्रमुख गीता अधिकारीद्धारा सार्वजनिक नीति तथा कार्यक्रम सहितको बजेटमा खर्च व्यहोर्ने श्रोत तर्फ नगरपालिकाको आन्तरिक श्रोतबाट २८ करोड २३ लाख ६० हजार र दमक अस्पतालको आन्तरिक श्रोतबाट ११ करोड रकम व्यहोरिने उल्लेख छ ।

 

संघीय सरकारको अनुदान ७० करोड १७ लाख र प्रदेश सरकारको अनुदान २ करोड २३ लाख ८५ हजार प्राप्त हुने पनि बजेटमा उल्लेख छ । राजश्व वाँडफाडबाट २३ करोड ८१ लाख ५३ हजार र जन सहभागिताबाट र ४ करोड रुपैयाँ व्यहोर्ने प्रस्ताव बजेटमा छ ।

 

आन्तरिक श्रोत तर्फ आगामी आर्थिक बर्षका लागि कुनै पनि कर, दस्तुर, सेवा शुल्कको दर बृद्धि गरिएको छैन । कोरोना भाईरसको महामारीका कारण सिर्जना भएको असहज परिस्थितिवाट विभिन्न पेसा र व्यवसायमा परेको असरलाई केही हदसम्म पुर्नभरण होस भन्ने हेतुले छुट वा मिनाहा दिने प्रस्ताव गरिएको पनि उनको भनाइ छ ।


झापा गाउँपालिकाको ४५ करोड 

झापा गाउँपालिकाले ४५ करोड ७४ लाख ५ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको सभापतित्वमा सम्पन्न सभामा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेबी बुढाथोकीले गाउँपालिकाको नवौं गाउँ सभा मार्फत गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरिन् ।

 

गाउँपालिकाले आय तर्फ संघीय राजश्व बाँडफाँड तर्फ रु ८ करोड २४ लाख ३५ हजार, संघीय सशर्त अनुदान रु १९ करोड २६ लाख, संघीय समानीकरण अनुदान रु १२ करोड ७१ लाख,संघी समपुरक अनुदान रु १ करोड १३ लाख, प्रदेश समानिकरण अनुदान रु ७३ लाख ४६ हजार, प्रदेश राजश्व बाँडफाँड रु ४२ लाख २४ हजार ५ सय र आन्तिक आय रु १ करोड ५० लाख गरेर जम्मा अनुमानित आय रु ४५ करोड ७४ लाख ५ हजार ५ सय प्रस्तुत गरेको छ ।

 

गाउँपालिकाले व्यय तर्फ चालू खर्च शीर्षकका सम्पूर्ण क्रियाकलापहरूका लागि एकमुष्ट ६ करोड ५३ लाख ४० हजार रुपैयाँ विनियोजन गर्दै पुँजीगत खर्च तर्फ आर्थिक विकास तर्फ २ करोड ३३ लाख, पूर्वाधार विकास तर्फ ११ करोड ९० लाख, वन वाताबरण विपद तथा सरसफाई तर्फ ६ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ  ८ लाख ३५ हजार ५ सय, सामाजिक विकास तर्फ २ करोड ७० लाख ३० हजार, संघीय सशर्त अनुदान १९ करोड २६ लाख, संघीय विशेष अनुदान१ करोड७४ लाख र संघीय समपूरक अनुदान  १ करोड १३ लाख गरेर जम्मा अनुमानीत व्यय  ४५ करोड ७४ लाख ५ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

 

मेचीनगरको बजेट १ अर्ब ५३ करोडको 

मेचीनगर नगरपालिकाले १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आठौं नगर सभामा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले उक्त रकम बराबरको वार्षिक बजेट प्रस्तुत गरेकि हुन् । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले प्रस्तुत गरेको  नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर उपप्रमुख उप्रेतीले वजेट सार्वजनिक गरेकी हुन् ।

 

बजेटमा आन्तरिक स्रोत तर्फ २७ करोड २७ लाख ७२ हजार ६४ रुपैयाँ, संघीय सरकार वित्तीय समानीकरण अनुदानतर्फ २६ करोड ५८ लाख, संघीय सरकार राजश्व बाँडफाँटतर्फ १४ करोड ५८ लाख ६० हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ६० लाख ३७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ १ करोड ६४ लाख १० हजार २ सय ९० रुपैयाँ गरी कुल ७० करोड २३ लाख ७ हजार २ सय ९० रुपैयाँ आय प्रस्ताव गरिएको छ ।

 

संघीय सरकार सःशर्त अनुदान चालुतर्फ ३७ करोड ५१ लाख, संघीय सरकार सःशर्त अनुदान पूँजीगततर्फ ८ करोड ६९ लाख, संघीय सरकार विशेष पूँजीगत अनुदानतर्फ १ करोड ६६ लाख, संघीय सरकार समपुरक अनुदानतर्फ २ करोड ८ लाख गरी कुल ४९ करोड ९४ लाखसमेत कुल १ अर्ब २० करोड १७ लाख ७ हजार २ सय ९० को आय प्रस्तुत गरिएको थियो ।

 

अर्जुनधारालाई ३२ करोड अनुदानको आस  

अर्जुनधारा नगरपालिकाले ४३ करोड २६ लाख तीन हजार दुई सय ३० रुपैयाँ बराबरको वार्षिक बजेट, नीति तथा कार्यक्रम नवौं नगर सभामा पेश गरेको छ । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश १ का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सभामा उपप्रमुख एवम् बजेट तर्जुमा समितिकी संयोजक कमला खतिवडा आचार्यले उक्त बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

 

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ २० करोड ४१ लाख तीन हजार दुई सय ३० रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ७० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । 

 

उक्त बजेटको स्रोत अन्र्तगत समानिकरण अनुदान (संघीय सरकार) १७ करोड ९५ लाख रुपैयाँ, राजश्व बाँडफाँड मूल्य अभिवृद्धि कर(संघीय सरकार) पाँच करोड १३ लाख ९२ हजार पाँच सय रुपैयाँ, राजश्व बाँडफाँड अन्त शुल्क (संघीय सरकार) पाँच करोड १३ लाख ९२ हजार पाँच सय रुपैयाँ अनुमान गरिएको छ । 

 

त्यसैगरी समानिकरण अनुदान (प्रदेश सरकार) १ करोड छ लाख ७५ हजार रुपैयाँ, राजश्व बाँडफाँड सवारी कर (प्रदेश सरकार) एक करोड ५६ लाख ४३ हजार दुई सय ३० रुपैयाँ, राजश्व बाँडफाँड रजिष्ट्रेशन शुल्क (प्रदेश सरकार) तीन करोड रुपैयाँ, राजश्व बाँडफाँड ढुङ्गा, गिटी, बालुवा (प्रदेश सरकार) तीन करोड रुपैयाँ, आन्तरिक स्रोत पाँच करोड ५० लाख रुपैयाँ र मौज्दात ९० लाख रुपैयाँ अनुमान गरिएको छ ।

 

विनियोजित बजेट संघीय सरकार र प्रदेश सरकारबाट अपेक्षित सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान बाहेक भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । तीनवटै अनुदान अन्र्तगत ३२ करोड २६ लाख लाख पचास हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

जसअनुसार सशर्त अनुदान(संघीय सरकार) २५ करोड १५ लाख रुपैयाँ, विशेष अनुदान(संघीय सरकार) तीन करोड ३३ लाख रुपैयाँ, समपुरक अनुदान(संघीय सरकार) एक करोड २८ लाख रुपैयाँ, सशर्त अनुदान(प्रदेश सरकार) एक करोड ५० लाख ५० हजार रुपैयाँ र समपुरक अनुदान(प्रदेश सरकार) एक करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । नगर सभा आगामी असार १५ गते सम्मका लागि स्थगित गरिएको प्रमुख रानाले जानकारी दिए ।

 

गौरीगंजको घाटा बजेट  

गौरीगंज गाउँपालिकाले ४६ करोड ३४ लाख ७४ हजार ३ सय ७० रुपैयाँको कुल वजेट सार्वजनिक गरेको छ । जसमा व्यव तर्फ ४७ करोड ९३ लाख ५० हजार रुपैयाँ छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न नवौं गाउँसभाको वजेट, नीति तथा कार्यक्रम घोषणा सभामा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले घाटा वजेट प्रस्तुत गरेका थिए । सभामा उपाध्यक्ष थापाले १ करोड ५८ लाख ७५ हजार ६ सय ३० रुपैयाँ घाटा वजेट प्रस्तुत गरेका हुन् ।

 

गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ को लागि आर्थिक विकास अन्तर्गत कृषि विकास कार्यक्रममा ७५ लाख, पशु विकासमा ३५ लाख, पर्यटन विकासमा ५० लाख, सहकारी तथा वित्तिय क्षेत्रमा ५ लाख रुपैयाँ विनियोज गरेको छ भने शिक्षामा १ करोड, युवा तथा खेलकुदमा २० लाख, स्वास्थ्यमा १ करोड १० लाख, सस्कृति प्रवर्द्धनमा २८ लाख रुपैयाँ छुट्टाइएको छ ।

 

त्यसैगरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत महिला विकासमा १० लाख, बालबालिका शर्षिकमा ५ लाख, जेष्ठ नागरिकमा ४ लाख रुपैयाँ, अपांगता ४ लाख, दलित शिर्षकमा ४ लाख, आदिवासी जनजाती शिर्षकमा ५ लाख, मधेशी मुस्लिम पिछडा वर्ग शीर्षकमा ४ लाख छुट्याएको छ ।

 

पुर्वाधार विकास अन्तर्गत सिंचाई संरचना निर्माणमा १५ लाख, सडक तथा पुल कल्भर्टमा २ करोड २५ लाख, भवन निर्माणमा १ करोड रुपैयाँ २५ लाख,  सहरी विकास (बजार निर्माण) ५० लाख, विपन्न आवासमा ५० लाख, विद्युत विस्तारमा १९ लाख, नविकरणीय उर्जामा ५ लाख रुपैयाँ छुट्टाइएका छ भने वन वातावरण तथा विपद व्यवस्थापनमा ५३ लाख, सुशासन तथा संस्थागत क्षमता विकास शीर्षकमा ५० लाख रुपैयाँ छ । पालिकाले अघिल्लो आर्थिक वर्षमा पनि २ करोड ७९ लाख ११ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको थियो । 

 

कमलको बजेट पारित  

कमल गाउँपालिकाको ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष बेनु सिकाकोटीले नवौं गाउँसभामा प्रस्तुत गर्नु भएको बजेट अन्तर्गत चालु तथा प्रशासनिकतर्फ ३६ करोड ५३ लाख ९५ हजार रुपैया र पुँजीगततर्फ ३५ करोड ५ लाख ९८ हजार रुपैयाको बजेट गाउँसभाले पारित गरेको हो ।

 

पारित गरिएको बजेट अन्तर्गत विकास तर्फ ७ करोड ८९ लाख १० दश हजार,सामाजिक विकास तर्फ ३२ करोड २० लाख १५ हजार पूर्वाधार विकासतर्फ २१ करोड ४७ लाख १८ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९१ लाख ५० हजार संस्थागत, सुशासन तथा अन्तर सम्बन्धित ९ करोड १२ लाख रुपैया गरी जम्मा ७१ करोड ५९ लाख ९३ हजार बजेट विनियोजन भएको हो । 

 

शिवशताक्षीको १७ असारमा मात्र  

झापाको शिवसताक्षी नगरपालिकाले भने १७ असामा मात्र बजेट ल्याउने बताएको छ । नगरसभा उद्घाटन भएपनि बजेट भने पेश भएन । नगर सभामा नगरपालिकाका ११ वटै वडाध्यक्षहरूले जनप्रतिनिधि भएर आएपछि गरिएको विकास निर्माण लगायतका कामहरूको मूल्याङ्कन गरिएको नगरका सूचना अधिकृत डिल्ली नेपालले जानकारी दिए । नगरकार्यपालिका सदस्य, ११ वटै वडाका वडा सदस्यहरूले पनि जनप्रतिनिधि भएर काम गर्दा भोगेको चुनौति र अप्ठ्याराहरूलाई सभामा राखेका थिए ।

 

नगरपालिकाले बजेटका लागि आन्तरिक तयारी अपुग भएकाले आगामी १७ असारमा मात्र  बजेट प्रस्तुत गर्ने गरी कार्यक्रम स्तगित गरिएको सूचना अधिकृत नेपालले बताए । 

 

हल्दिबारीको बजेट २२ करोड 

हल्दीबारी गाउँपालिकाले २२ करोड ६८ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष डम्बर वहादुर गिरीवाट गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रममा शसर्त अनुदान बाहेक उक्त रकमको अनुमानित बजेट गाउँ सभामा प्रस्तुत गरिएको हो । गाउँपालिकाले आफ्ना ४ जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । राम्रो काम गर्ने मध्ये ४ जनालाई नगद सहित प्रोत्साहन गर्ने गाउँपालिकाको १० औं गाउँसभाले निर्णय गरेको छ । 

 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालका अनुसार आर्थिक बर्ष २०७७/७८ मा गाउँपालिका भित्र उत्कृष्ट काम गर्ने मध्ये स्वास्थ शाखा प्रमुख पुष्कर निरौला , सहायक पाचौं योजना शाखाका सुरज पोखरेल, सहायक कम्प्युटर अपरेटर वडा नम्बर ३ का भुवन राजवन्सी र आइसोलेसनमा कार्यरत संगिता मेचेलाई नगद २५ हजार सहित पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

 

हल्दिवारी गाउँपालिकाले प्रत्येक बर्ष गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्न उत्कृष्ट कर्मचारी चयन गरि नगद सहित पुरस्कृत तथा संमान गर्दै आएको छ ।