close

प्रदेश मातहत आएपछि फेरिएको एउटा अस्पताल

प्रदेश मातहत आएपछि फेरिएको एउटा अस्पताल

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेश सुर्खेतमा रहेको प्रदेश अस्पताल अब्बल बन्दै गएको छ । २०३० सालमा जिल्ला अस्पतालको रुपमा स्थापना भएको प्रदेश अस्पताल पहिलेको तुलनाभन्दा अहिले धेरै गुणा अब्बल बन्दै गएको हो । 


राजनीतिक घटनाक्रममा भएको परिवर्तनसँगै वीरेन्द्रनगर तत्कालीन क्षेत्रीय सदरमुकामपछि अस्पतालको पनि स्तरोन्नति हुँदै गयो । सुर्खेतका छिमेकी जिल्लाहरू दैलेख, सल्यान र जाजरकोटका बिरामीहरूको लागि पायक पर्ने अस्पताल भएपछि ७ फागुन, २०६२ मा क्षेत्रिय अस्पतालको रूपमा स्तरोन्नति भयो । 

 

त्यो समयमा ५० शैययाबाट सुरु गरिएको क्षेत्रीय अस्पतालले बिरामीहहरुलाइ सहज उपचार दिन भने सकेन । विशेषज्ञ चिकित्सकको अभावमा क्षेत्रीय अस्पतालबाट नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा बिरामीहरू रिफर गर्नुपर्ने बाध्यता कायमै रह्यो । 

 

आइसियु, एनआइसियु, भेन्टिलेटर जस्ता अत्याधुनिक उपकरणको अभाव हटेन । पूर्वाधार र जनशक्ति अभावबाट गुज्रिँदै अस्पतालले सेवा दिनुपर्ने अवस्था कायमै थियो । देश संघीय संरचनामा गएपछि १३ कात्तिक, २०७५ मा अस्पताल प्रदेश सरकार मातहतमा आयो । प्रदेश सरकार मातहतमा आएपछि भने अस्पतालले ठूलो फड्को मारेको छ ।

 

प्रदेश सरकारको जवाफदेही र चिकित्सकहरूको अथक प्रयासपछि अहिले अस्पतालको अवस्था फेरिएको छ । अहिले आइसियु, एनआइसियु, भेन्टिलेटर, जटिल प्रकृतिका शल्यक्रिया, डाइलाइसिस, पत्थरीको उपचार, अत्याधुनिक एक्सरे जस्ता सेवाहरू अस्पतालबाट सम्भव भएका छन् । 

 

‘प्रदेश सरकार मातहतमा आएपछि अस्पतालको स्वरूप नै फेरिएको छ’ अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का भन्छन, ‘अब कर्णालीका कोही पनि बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्य गर्दैछौँ ।’ 

 

अस्पतालमा प्रदेश सरकारले लगानी बढाएपछि भौतिक संरचना, अत्याधुनिक उपकरण र जनशक्ति थपिएको खड्काले बताए। ‘विशेषज्ञ सेवाकै लागि प्रदेश सरकारले वार्षिक साढे दुई करोड रकम दिँदै आएको छ’, उनले भने, ‘विशेष सेवाको बजेटबाट डाक्टरदेखि सुरक्षागार्डसम्मका जनशक्ति थपेका छौँ ।’

 

क्यान्सरको उपचार पनि कर्णालीमै

 अस्पतालका सूचना अधिकारी डाक्टर विकास केसीले आगामी दिनमा क्यान्सर जस्तो गम्भीर रोगको उपचार गर्नेगरी पूर्वाधार थप गर्ने तयारी भइरहेको बताए । ‘छिट्टै एमआरआई सेवा पनि थप गर्ने अस्पतालको योजना छ’, केसीले भने, ‘एमआरआई मेसिन आयो भने क्यान्सरको समेत उपचार गर्छौँ ।’


अस्पतालमा हाल नाक, कान, घाँटीको अप्रेसन, टाउकोमा रगत जमेको, मासु पलाएको, मेरुदण्ड, ठूलठूला घाउको अप्रेसन, टेलिमेडिसियन, फिस्टुला, दुरबिनबाट पित्त थैलीको अप्रेशन जस्ता अत्याधुनिक सेवाहरू दिँदै आएको छ ।

 

 हाल तीन सय शय्याको रूपमा सञ्चालित अस्पताललाई आगामी दिनमै पाँचसय शय्याको बनाउने लक्ष्य लिइएको छ । अस्पतालमै प्रदेश सरकारले शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने योजना बनाएको छ ।