close

परम्परागत खेती प्रणाली बदल्दै चितवनका किसान 

परम्परागत खेती प्रणाली बदल्दै चितवनका किसान 

Trulli
ADVERTISEMENT

चितवन- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६ दिव्यनगरका किसानले मेसिनबाट धान रोप्न सुरु गरेका छन् । आधुनिक कृषि प्रणालीको विकास र कृषि यान्त्रिकीकरणमा जोड दिँदै मेसिनबाट धान रोप्न सुरु गरिएको हो ।


भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाले धान रोप्ने आधुनिक मेसिन (राइस ट्रान्सप्लान्टर) किसानलाई हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा वृहस्पति आधुनिक एग्रो फार्मलाई एउटा मेसिन हस्तान्तरण गरिएको छ ।


भरतपुर महानगर वडा नम्बर २६ को दिव्यनगरमा महानगर प्रमुख रेनु दाहालले मेसिन एग्रो फार्मलाई हस्तान्तरण गरिन् । महानगर प्रमुख दाहालले चितवन कृषि क्षेत्रमा अगाडि रहेको बताउँदै थप यान्त्रिकीकरणमार्फत महानगरलाई कृषि जोनको रूपमा विकास गर्ने बताइन् । 


कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले किसानले खेती किसानी गर्ने शैली बदल्ने समय आएको बताइन् । कम लागतमा धेरै उत्पादन गर्नुपर्ने बताउँदै कृषिमा यान्त्रिकीकरणमा जोड दिन आग्रह गरिन् । 


२२ लाख ५० हजार रुपैयाँमा खरिद गरिएको सो मेसीनले धान रोप्दा लागत आधा घट्नेछ । महानगरको १० लाख रुपैयाँ सहयोगमा दिव्यनगरको वृहस्पति आधुनिक कृषि फार्मले सो धान रोप्ने मेसिन किनेको हो । वडाका ८ जना किसान मिलेर १८ बिघा जग्गामा खेतीपाती गर्दै आएका छन् ।


बढी हिलो भएर ट्रयाक्टर, गोरुले जोत्दा बारीमै फस्ने भएकाले महानगरले धान रोप्ने मेसिन किन्न सहयोग गरेको महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले बताए । 


मानिसको प्रयोगबाट १ बिघामा रोपाइँ गर्दा १५ हजार रुपैयाँ बढी खर्च हुने र मेसिनमार्फत रोपाइँ गर्दा ७ देखि ८ हजार रुपैयाँ लागत पर्ने कृषिविज्ञ मित्रराज दवाडले जानकारी दिए ।


कृषि क्षेत्रका लागि महत्त्वपूर्ण योजना ल्याएको भरतपुर महानगरले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा किसानलाई दूधमा ३ रुपैयाँ प्रतिलिटर अनुदान दिने घोषणासमेत गरिसेको छ ।