close

फौजी किराले खायाे मकै बाली, भोकमरी निम्तिने त्रास

फौजी किराले खायाे मकै बाली, भोकमरी निम्तिने त्रास

Trulli
ADVERTISEMENT

सुर्खेत- कोरोना महामारीले जनजीवन थला परेका बेला बारीमा लगाइएको मकै बाली फौजी किराले नष्ट गर्न थालेपछि दैलेखका किसानलाई भोकमरीमा परिने चिन्ताले सताएको छ । 


जेठमा लगाएर पहिलो पटक गोडेर दोस्रो पटक गोड्ने बेला भएको मकैबाली फौजी किराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तामा परेका हुन् ।

 

जिल्लाको ठाटीकाँधसहित ११ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् । कतिपय संक्रमित भएर होम क्वारेन्टाइन, आइसोलेसन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् ।


यही बेला किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको हो । दोस्रो पटक मकै गोडमेल गर्ने बेला फौजी किराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का किसान दीर्घ थापाले बताए । 


वडा नम्बरमा करिब ४ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकैबाली नष्ट गरेको अर्का किसान शेर थापा बताउँछन् । ‘खेती लगाएका किसान कोरोनाले बिस्तरामा थलिएका छन् । बारीमा मकै किराले खाएर थलिएको छ । यो वर्ष खाद्यान्नको पनि संकट हुने भयो’, थापाले भने । 


तर, कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलकप्रसाद पाण्डेले भने यस विषयमा जानकारी नआएको प्रतिक्रिया दिए । ‘गाइँगुइँ फौजी किरा लागेको भन्ने सुन्नमा आए पनि किसानबाट त्यस्तो गुनासो आएको छैन । यदि त्यस्तो समस्या छ भने पालिकाका कृषि शाखामा बुझ्न लगाउँछु’, उनले भने ।