close

भक्तपुरमा जुजु धौ चिउरा खाएर मनाइयो असार १५

भक्तपुरमा जुजु धौ चिउरा खाएर मनाइयो असार १५

Trulli
ADVERTISEMENT

भक्तपुर- जुजु धौ अर्थात् दहीका राजा । जुजु धौले भक्तपुरको चिनारीलाई उँचो बनाएको छ । अझ भक्तपुरका केही स्थानीयले दही उत्पादनलाई नै आफ्नो मुख्य पेसा बनाई जीविकोपार्जनसमेत गर्दै आएका छन् ।


विवाह, व्रतबन्ध वा कुनै शुभ कार्यका दही अपरिहार्य छ । नेवार समुदायमा दहीबिना कुनै शुभकार्यसमेत हुँदैन । दही शुभकार्य भोजको परिकारमा अटाइएको हुन्छ । १५ असारलाई दही-चिउरा खाने दिनको रूपमा मनाइन्छ । रोपाइँको खुसियालीमा यो दिन कृषकले दही चिउरा खाने गर्छन् ।


सामान्यतः विगतका वर्ष असार महिनाभरि रोपाइँ गरिने भए पनि यो वर्ष अधिकांशको खेतमा रोपाइँ सकिएको छ । चाँडै मनसुन सुरु भएसँगै अधिकांशका खेत अहिले हरियै छन् । खेतमा धान रोप्ना खाजाको रूपमा दही÷चिउरा खुवाउने परम्परा रहे पनि रोपाइ सकेसँगै परिवार वा समुदाय सँगै बसेर रमाइलो गर्ने गर्छन् । 

 

किन खाइन्छ असार १५ मा दही/चिउरा ?

दही सांस्कृतिक मात्रै नभई वैज्ञानिक रूपमा स्वास्थ्यका लागि लाभदायी मानिन्छ । दहीमा भएको पौस्टिक तत्त्वले शरीरमा ऊर्जा प्रदान गर्छ । संस्कृतविद्का अनुसार परापूर्वकालमा समयमै धान रोपाइँ सकेको खुसीयालीमा दही-चिउरा खाने प्रचलन छ ।


संस्कृतविद् औम धौभडेलका अनुसार असारमा कामको चाप बढी हुन्छ । यो समय किसानलाई रोपाइँ भ्याई-नभ्याई हुने भएकाले सजिलोका लागि दही-चिउरा खाने पराम्परा बसाइएको हो । 

 

सबैको घरमा सजिलै पाउने र पकाउनु नपर्ने भएकाले दही÷चिउरा खाने परम्परा बसेको हुन सक्ने उनको बुझाइ छ । पहिलेको परम्परा भए पनि अहिले यसले संस्कृतिको रूप लिएको उनले बताए ।

 

संकटमा भक्तपुरको जुजु धौ

प्रख्यात दहीको रूपमा रहेको भक्तपुरको जुजु धौ आजभोलि संकटमा परेको छ । गाउँघरमा गाईभैँसी पाल्ने कृषकको संख्यामा कमी आएसँगै जुजु धौ संकटमा परेको हो । 

 

लिवालीस्थित सैंजु दही भण्डारका सञ्चालक रामदेवी सैंजुका अनुसार भूकम्पयता दूध उत्पादनमा कमी भएको छ । यसले दहीका लागि आवश्यक दूध उत्पादन हुन सकेको छैन । 

 

‘जुजु धौका लागि भाैँसीको दूध आवश्यक पर्छ । तर, गाउँमा भैँसी पाल्नेको संख्या घट्दो क्रममा छ,’ उनले भने, ‘भएका दूध पनि ल्याउँदा ल्याउँदै फाट्ने समस्या छ ।’ 

 

आवश्यक दूध कलमसी, नाला, ताथली, छालिङ, जीतपुरलगायत विभिन्न ठाउँबाट ल्याउने गरिन्छ । दहीका लागि दूध, चिनी, माटोका भाँडा, प्लास्टिकका भाँडा, स्वादिस्ट मसलालगायत सामग्री आवश्यक पर्ने उनले उल्लेख गरे ।

 

आवश्यक दूध गाउँमा संकलन गरी डेरी सञ्चालकमार्फत ल्याउने गरेको उनले बताए । 

 

कसरी बनाइन्छ जुजु धौ ?

संकलित दूध र त्यसको विशेषताअनुरूप फरक-फरक रूपमा राखिन्छ । सामान्यतः भैँसीको दूध वा धेरै चिल्लो पदार्थ भएको दूधलाई जुजु धौका लागि प्रयोग गरिन्छ । 


दूध उमालेर दही बनाइन्छ । जति-जति दूध उमालिन्छ, त्यो आधा भएपछि अर्थात् राम्ररी उम्लिएपछि दहीका लागि तयार हुन्छ ।

 

दूध उम्लिएर आधा भएपछि त्यसमा चिनी, सुकमेलसहित अरू मसलाको धुलो राखेर चलाइन्छ । उक्त दूधलाई सेलाउन छाडिन्छ । 


मनतातो भएपछि माटोको भाँडोमा राखिन्छ । उक्त दूधमा एक चम्चा जति दही-बिउ राख्नुपर्छ ।

 

दहीलाई न्यानो ठाउँमा छोपेर राख्नुपर्छ, ताकि राम्ररी जम्न सकोस् । खासगरी भुस बिच्छ्याइएको कोठामा दही जमाउने भाँडो राखिन्छ । सामान्यत १० घन्टाभित्र दही राम्ररी जम्छ ।