close

कोरोना संक्रमित बढेपछि जुम्लाको देपालगाउँ सिल

कोरोना संक्रमित बढेपछि जुम्लाको देपालगाउँ सिल

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्ला मुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ देपालगाउँ सिल गरिएको छ । कोभिड–१९ संक्रमित बढेपछि गाउँ नै सिल गरिएको हो । 


कोभिड–१९ अवस्था पहिचान एवं रोकथाम तथा नियन्त्रण गर्ने क्रममा गुठीचौर गाउँपालिका वडा नम्बर ५ देपालगाउँमा अधिक मात्रामा संक्रमण देखिएको हुँदा कन्ट्याक ट्रेसिङ नहुन्जेलसम्म जिल्ला सुरक्षा समितिको १४ असारको निर्णयअनुसार सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । 


गाउँमा बिनाकाम घरबाहिर ननिस्कने, अनिवार्य मास्क प्रयोग गर्ने, साबुनपानी, स्यानिटाइजरले हात सफा गर्नुका साथै न्यूनतम २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने जारी आदेशमा उल्लेख छ ।

 
सिल भएका वडाबाट अर्काे वडामा आउजाउ नगर्न भनिएको छ । आदेश उल्लंघन गर्ने जोकोहीलाई कोभिड– १९ संक्रमण व्यवस्था आदेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने आदेशमा भनिएको छ । 


गुठीचौरभित्रका ३ जना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

 

यस्तै, १ जना व्यक्तिको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ (पोस्ट कोभिड) आएपछि मृत्यु भएको छ । यो तथ्यांक भने प्रशासनले आप्mनो प्रतिवेदनमा उल्लेख गरेको छैन । 


गाउँपालिकामा कोरोना संक्रमतिको संख्या १०६ जना पुगेको छ । अहिले सक्रिय संक्रमित ३३ जना संस्थागत आइसोलेनमा, २ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा र ४ जना होम आइसोलेसनमा रहेको सह–संयोजक मनोरमा शाहले बताइन् । ६७ जना भने संक्रमण मुक्त भएका छन् । 

 

जुम्लामा कोभिड–१९ संक्रमितको संख्या ७९६ पुगेको छ । ६३१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २६ जना उपचाररत रहेको जिल्ला प्रशाासन कार्यालयले बताएको छ । वैशाखयता जुम्लामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।