close

चन्दननाथमा फोहोर व्यवस्थापन भद्रगोल: नगरपालिकासँग आयोगले माग्यो जवाफ 

चन्दननाथमा फोहोर व्यवस्थापन भद्रगोल: नगरपालिकासँग आयोगले माग्यो जवाफ 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लास्थित राष्ट्रिय मानव अधिकार आयोगले चन्दननाथ नगरपालिकासँग फोहोर व्यवस्थापन हुन नसकेको विषयमा जवाफ मागेको छ । आयोगको कार्यालयले नगरपालिकालाई पत्र पठाएर जवाफ मागेको हो । जुम्लाको मुकाम खलंगा अर्थात् चन्दनाथ नगरपालिकाको सहरी क्षेत्रमा जताततै फोहोर देखिन थालेपछि के-कति कारणले फोहोर व्यवस्थापन हुन नसकेको हो भन्दै लिखित जवाफ मागेको मानव अधिकार अधिकृत किरण बरामले बताए ।


उनले भने, ‘नेपालको संविधानको धारा ३० मा नागरिकले स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हकको हनन् हुन पुगेको छ । आयोगले नगरको सहरी क्षेत्रमा अनुगमन गर्दा फोहोरमैलाको उचित व्यवस्थापन हुन नसकेको पाइएको हुँदा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ (ग) को बुँदा ११ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र दफा ४ को कार्यान्वयन सम्बन्धमा कार्यप्रगति यथाशीघ्र जानकारी गराउन पत्राचार गरिएको हो ।’ 


मुकामको मुख्य बजार जिल्ला प्रशासन कार्यालयको लाइनमा अव्यवस्थित फोहोरमैलाको तस्बिर सार्वजनिक सञ्जालमा पोस्ट गर्दै स्थानीयले विरोध जनाएका थिए । चन्दननाथ नगरप्रमुख कान्तिका सेजुवालले स्थानीय तहको निर्वाचन २०७४ मा स्मार्ट सिटी, इलेक्ट्री सिटी र कनेक्टिभिटीको मुख्य चुनावी नारा बनाएकी थिइन् ।


लामो समयदेखि स्थायी डम्पिङ साइटको व्यवस्थापन नभएर बजारमा जताततै फोहोर थुप्रिन थालेपछि स्थानीयले स्मार्ट सिटी भन्दै फोहोरको थुप्रोको सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरिँदै आएको छ ।