close

कर्णालीका १० वटै जिल्लामा खुकुलो बन्दै निषेधाज्ञा

कर्णालीका १० वटै जिल्लामा खुकुलो बन्दै निषेधाज्ञा

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेशमा कोरोना संक्रमण निरन्तर ओरालो लागेपछि प्रदेशका जिल्लामा निषेधाज्ञा खुकुलो हुन थालेको छ । मंगलबार कर्णालीमा थप १०५ जनाले कोरोनालाई जितेका छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार एक सय ७ मा झरेको छ । 


मंगलबार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६० जनामा गरिएको पिसिआर विधिको परीक्षणमा २२ र २०२ जनामा एन्टिजेनबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशमा मृतकको संख्या ३२७ जना पुगेको छ । 


कर्णाली प्रदेशका १० वटै जिल्लामा कोरोना संक्रमित हुने क्रम भने घटेको छैन । कुनै जिल्लामा निषेधाज्ञा खुकुलो छ भने कुनैमा निषेधाज्ञाको समय थपिएको छ । डोल्पामा निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको छ । बिहान ६ बजेदेखि साझ ५ बजेसम्म सबै प्रकारका व्यवसाय खुल्ने डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।  उनका अनुसार डोल्पामा २१ असारसम्म निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञामा सबै प्रकारका सवारी साधन सिट क्षमताअनुसार चल्न दिइएको छ ।


त्यस्तै, हुम्लामा जारी निषेधाज्ञा १७ असारसम्म पुगेको छ । जिल्ला प्रशासन कार्यालयका हुम्लाका प्रमुख गणेश आचार्यका अनुसार खाद्यान्न तथा तरकारी पसल बिहान ६ देखि दिउँसो १ बजेसम्म र होटल तथा रेस्टुँरा बिहान ६ देखि बेलुकी ९ बजेसम्म सञ्चालन गर्न दिइएको छ । 


रुकुम पश्चिममा भने कोरोनाको जोखिम कम भई नसकेकाले बुधबारबाट निषेधाज्ञा थप गर्ने प्रशासनले बताएको छ । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार पसल, व्यवसाय बिहान ६ देखि १० बजेसम्म खुल्नेछन् भने हार्डवेयर र फेन्सी पसल बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ । सवारी साधन सञ्चालनका लागि तत्काल निर्णय नभएको गैरेले जानकारी दिए । 


जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाका अनुसार जाजरकोटमा गत १८ वैशाखदेखि जारी निषेधाज्ञा हालसम्म कायमै छ ।उ नका अनुसार हालको निषेधाज्ञालाई खुकुलो पार्दै बिहान ६ देखि १० बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न दिइएको छ ।


जिल्लाभित्र १५ असारदेखि सबै प्रकारका सवारी साधन प्रकारका सञ्चालन भइरहेका छन् । हाल जिल्लामा कोरोनाका ४७ जना सक्रिय संक्रमित छन् । त्यस्तै, मुगुमा १६७ जना कोरोना संक्रमित छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद सिवाकोटीका अनुसार मुगुमा १५ असारदेखि साताव्यापी निषेधाज्ञा जारी भएको छ । जिल्लाभित्र स्वास्थ्य मापदण्ड र सिट संख्याभन्दा कम यात्रु राखेर यातायात सञ्चालन भइरहेका छन् भने पसल व्यवसाय बिहान ६ देखि दिउँसो ४ बजेसम्म चलिरहेका छन् । 


दैलेखमा सबै प्रकारका व्यवसाय बिहान ६ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद प्याकुरेलका अनुसार निजी सवारी सबै प्रकारका स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न छुट दिइएको छ भने जिल्लाबाहिरका मजदुरलाई सम्बन्धित जिल्लामा सम्पर्क गरेर पठाइएको प्याकुरेलले बताए ।


जिल्लामा जारी निषेधाज्ञा १७ असारमा सकिँदै छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक यातायात सञ्चालन गर्ने÷नगर्नेबारे निर्णय गर्ने प्याकुरेलले जानकारी दिए । त्यस्तै, कालीकोटमा १५ देखि २३ असारसम्म निषेधाज्ञा लम्ब्याइएको छ । निषेधाज्ञामा सबै प्रकारका पसल व्यवसाय खुलेका छन् भने जिल्लाभित्र मात्र निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । 


सल्यानमा पसल, व्यवसाय बिहान ६ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न दिइएको प्रशासनले जनाएको छ । निजी सवारी जोर–बिजोरमा सञ्चालन गर्न दिइए पनि २० असारसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इंले जानकारी दिए ।


सुर्खेतमा भने बिहान ६ देखि २ बजेसम्म सबै प्रकारका पसल, व्यवसाय सञ्चालन भइरहेका छन् भने १७ असारसम्म जारी निषेधाज्ञालाई मंगलबार बस्ने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका बैठकले थप ७ दिन थप्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । 


जुम्लामा पुनः साताव्यापी निषेधाज्ञा थप गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा कमी नआएपछि सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले पुनः साता दिन निषेधाज्ञा थपेको हो ।


यसअघि लागू गरिएको निषेधाज्ञा १४ असार राती १२ बजेबाट सकिएसँगै पुनः २१ असार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा सबै प्रकारका सभा सम्मेलन, तालिम, सेमिनार, गोष्ठी तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न÷गराउन नपाउने, अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न, शैक्षिक संस्था खोल्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । 


त्यस्तै, निषेधाज्ञामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर औषधी पसल, तरकारी तथा खाद्य पसललगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्न बिहान ६ देखि दिउँसो २ बजेसम्म दिइएको छ ।