close

ट्यांकरको पानी हालेर राेपाइँ

ट्यांकरको पानी हालेर राेपाइँ

Trulli
ADVERTISEMENT

भक्तपुर- सरकारले धान उत्पादनका लागि मल र सिँचाइको सहजै आपूर्ति गर्ने भाषण गरिरहँदा सोही जिल्लाका एक कृषकले ट्यांकरमा पानी ओसारेर रोपाइँ गरेका छन् । मध्यपुर थिमि नगरपालिकाको कमेरोटारका एक स्थानीयले खेतमा कुलो लाने बाटो नभएपछि ट्यांकरमा पानी बोकेर रोपाइँ गरेका हुन् ।

 

कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रका एक किसानले ट्यांकरबाटै पानी ल्याएर रोपाइँ गरेका हुन् । समयसँगै वरिपरि ठूला-ठूला भवन ठडिएसँगै कुलोसमेत नभएकाले पानी अभाव भएकाले ट्यांकरबाटै खेती गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

 

‘नजिकै पानीको स्रोत छैन । अकासे पानीको भरमा खेती गनुपर्ने बाध्यता छ’, उनले भने, ‘असारको मध्य नाघेको र अरू ठाउँमा रोपाइँ सकिएकाले ट्यांकरमा पानी बोकेर रोपाइँ गरेका हौँ ।’ 


१५ असारको धान दिवस अवसरमा सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नंखेल पलासेस्थित एक कृषि फार्मको जग्गामा धान रोपाइँ कार्यक्रम आयोजना गरियो । कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वउद्योगमन्त्री एवं सोही क्षेत्रबाट निर्वाचित सांसद महेश बस्नेत सहभागी थिए ।

 

पूर्वमन्त्री ज्ञवालीले मुलुकमा धान उत्पादन बढाउन सरकारले काम गरिरहेको बताए । रोपाइँको समय मल अभावका कारण कृषकले खेती गर्न नपाउने समस्या समाधानका लागि सरकारले मुलुकभित्रै मल कारखाना सञ्चालनको तयारी गरिरहेको जानकारी दिए । सांसद बस्नेतले रोपाइँ कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको बताए । कृषिको महत्त्वबारे बुझाउन सांकेतिक रूपमा रोपाइँ कार्यक्रम गरिएको उनको भनाइ छ ।

 

भक्तपुरको अधिकांश खेतीयोग्य जमिन चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्र छ । वस्ती विस्तारसँगै मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा खेतीयोग्य जमिन नासिन लागेको छ । चाँगुनारायाण र सूर्यविनायक नगरपालिकामा पनि वस्ती विस्तारसँगै विस्तार खेतीयोग्य जमिनमा कमी हुँदै आएको छ । विगतका वर्षको तुलनामा यो वर्ष चाँडै मनसुन सुरु भएकाले यहाँका अधिकांश स्थानमा रोपाइँ सकिएको छ ।