close

सुपर जोनमा धान दिवसकाे राैनक

सुपर जोनमा धान दिवसकाे राैनक

Trulli
ADVERTISEMENT

झापा- सरकारले धान सुपर जोन क्षेत्र घोषणा गरेको झापामा १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

 

धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि नारासहित जिल्ला कृषि ज्ञान केन्द्र झापाले यो वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित घेराबारीमा मनाएको हो ।

 

गणेश कृषि समूहको सहकार्यमा आयोजित रोपाइँ महोत्सवमा हिले दौड प्रतियोगिता सम्पन्न गर्दै सहभागीले सामूहिक रोपाइँ गरेका थिए । 

 

वैदेशिक रोजगारीका लागि युवा विदेश जाने गरेका कारण खेतीपातीमा जनशक्ति अभाव हुन थालेपछि धान उत्पादन वृद्धि गर्न कृषि ज्ञान केन्द्रले कृषकलाई कृषि औजार अनुदानमा दिँदै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । 

 

जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा ४ लाख ११ हजार २५० मेट्रिक टन धान उत्पादन भएको थियो । 

 

उनले भने, ‘१ असारदेखि नै जिल्लामा हालसम्म २० प्रतिशत रोपाइँ भइसकेको र एक साताभित्र ४० प्रतिशतमा पुग्ने अनुमान छ ।’ धान रोपाइँमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रदेश १ का सांसद वसन्त बानियालगायत सहभागी थिए ।

 

कार्यक्रममा हिले दौड प्रतियोगितासमेत भएको थियो । हिले दौड प्रतियोगितामा महिलातर्फ भूमिका गणेश प्रथम, संगीता गणेश द्वितीय, ललिता गणेश र रेणुका राजवंशी तृतीय भए भने पुरुषतर्फ लक्ष्मण गणेश प्रथम, अजय गणेश द्वितीय र प्रद्वग गणेश तृतीय भए ।


प्रथम र द्वितीय हुने महिला तथा पुरुषलाई स्प्रे ट्यांकी, प्रांगारिक मल र तेस्रो हुनेलाई प्लास्टिकको त्रिपाल पुरस्कारस्वरूप दिइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सिंहले बताए । भद्रपुर नगरपालिकामा सामूहिक धान रोपेर १८औँ धान दिवस मनाइएको छ ।

 

भद्रपुर नगरपालिकाको सहयोगमा किच्चकबध कृषि सहकारी संस्थाले मंगलबार वडा नम्बर १ मा आयोजना गरेको कार्यक्रममा धान दिवस मनाइयो । झन्डै १० कठ्ठामा रोपाइँ गरिएको छ ।

 

कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उप-प्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलगायतले धान रोपेका थिए ।

 

सो अवसरमा आयोजना गरिएको हिले दौडमा पुरुषतर्फ प्रथम राजेश निरौला, द्वितीय असारु राजवंशी र तृतीय अमर राजवंशी, महिलातर्फ प्रथम पूजा भण्डारी, द्वितीय इच्छा लिम्बू र तृतीय रिचु आचार्यलाई पुरस्कृत गरिएको थियो ।