close

सरकारले तोकेको पारिश्रमिक माग्दै भद्रपुरका बाल–शिक्षक आन्दोलित

सरकारले तोकेको पारिश्रमिक माग्दै भद्रपुरका बाल–शिक्षक आन्दोलित

Trulli
ADVERTISEMENT

झापा– सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ माग गर्दै भद्रपुर नगर क्षेत्रका बालशिक्षक र कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।

 

भद्रपुर नगरपालिकाको आठौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रममा बालविकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ नपु¥याएको भन्दै नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरको नेतृत्वमा बालशिक्षक आन्दोलित बनेका हुन् । 

 

शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका १६ वटा शिक्षक तथा कर्मचारी संगठनले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । शिक्षकले अपिलमार्फत नगरपालिका र नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई लिखित रूपमा जानकारी गराएको बालशिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन् । 

 

नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठ र नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रेम भुजेललाई लिखित रूपमा ध्यानाकर्षण गराइएको उनले बताइन् । नगरपालिकाले बालशिक्षक र कर्मचारीको तलब नबढाए थप आन्दोलन गरिने उनले चेतावनी दिइन् ।

 

सरकारले १ साउनदेखि तोकेको न्यूनतम मासिक १५ हजार रुपैयाँ तलब कार्यान्वयनमा ल्याउनुपर्ने भन्दै नेपाल शिक्षक महासंघ, बालशिक्षक र विद्यालय कर्मचारी परिषद् नगर समितिले गत २७ जेठमा नगरपालिकालाई लिखित ध्यानाकर्षण गराएका थिए ।

 

तर, नगरपालिकाले नगरसभाबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रममा बालशिक्षकको तलब ३ हजार र कर्मचारीको तलब २ हजार रुपैयाँ मात्र बढाउने उल्लेख छ ।

 

सरकारले बालशिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक ८ हजार पु¥याएको र सम्बन्धित पालिकाले ७ हजार थपेर न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ उपलब्ध गराउने बजेटमार्फत घोषणा गरेको छ । 

सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाले बजेटमार्फत कार्यान्वयनमा नल्याएपछि आन्दोलनमा उत्रिनुपरेको शिक्षक महासंघ नगर समिति अध्यक्ष गणेश गिरीले बताए । नगरभित्र ५७ जना बालशिक्षक, मावि स्तरका कर्मचारी १६ जना, आधारभूत स्तरका कर्मचारी १६ जना र प्रावि स्तरका कर्मचारी १५ जना छन् । 

 

नगरपालिकाले अहिले बालशिक्षकलाई मासिक ७ हजार ५ सय, मावि स्तरका कर्मचारीलाई ११ हजार ५ सय, आधारभूत स्तरका कर्मचारीलाई ७ हजार ५ सय र प्रावि स्तरका कर्मचारीलाई ४ हजार ५ सय रुपैयाँ मासिक तलब दिँदै आएको छ ।

 

यसैबीच भद्रपुर नगरपालिकाले संघीय सरकारले यो वर्षबाट तय गरेको न्यूनतम पारिश्रमिक शिक्षक/कर्मचारीलाई नदिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

 

कांग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल तथा भद्रपुर नगर सभापति मोहन महर्जनले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय सरकारले बजेट भाषणमार्फत देशभरिका बालशिक्षक, विद्यालय कर्मचारी र सहयोगीको मासिक तलब न्यूनतम १५ हजार पुर्याउने र यसका लागि ८ हजार संघीय सरकारले प्रदान गर्ने हुँदा ७ हजार रुपैयाँ स्थानीय तहले थप गर्नुपर्ने घोषणा गरे पनि भद्रपुरले नगरसभामार्फत आउने आर्थिक वर्षका लागि पारित गरेको बजेटमा भने १५ सय रुपैयाँ मात्र थप गर्ने घोषणा गरेकाले त्यसको विरोधमा नेपाल शिक्षक महासंघ भद्रपुरको नेतृत्वमा हुँदै आएको बालशिक्षक तथा कर्मचारीको आन्दोलनप्रति कांग्रेसको ध्यानाकर्षण भएको छ । कम पारिश्रमिकमा कार्यरत बालशिक्षक तथा कर्मचारीका माग पूरा गर्न आग्रह गरिन्छ ।’